काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई सरकारले शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरको टोलीले बुधबार (आज) कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस्दै होल्डिङ सेन्टर खाली गर्न म्याद दिएको हो ।
प्रशासनको सूचनाअनुसार जग्गा भएको पुष्टि भएका सात परिवार भूमिहीन नरहने भएकाले उनीहरूलाई तत्काल स्थान खाली गर्न भनिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको प्रशासनले जनाएको छ ।
भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) र ५२ (ख) उल्लेख गर्दै ती परिवारलाई होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको हो ।
त्यस्तै, जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यसको निस्सासमेत प्राप्त भएको प्रशासनको सूचनामा उल्लेख छ ।
उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रियासम्बन्धी निस्सा लिन र सरकारले उपलब्ध गराएको घरभाडा सुविधा बुझ्न पनि आग्रह गरिएको छ ।
प्रशासनले जग्गा भएका र जग्गा खोजिएका सबै परिवारलाई तोकिएको म्यादभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ । उक्त केन्द्रमा हाल ५९ जना बसोबास गरिरहेका छन् ।
