एमाले हार्नका लागि जन्मिएकै होइन, फेरि जित्छौँः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नका लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरि सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । उनले मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारीसमेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छाड्ने जिकिर गरे ।

उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो बन्ने भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिए । विगतमा भएका कमजोरी सच्याउन र जनतामाझ विश्वास कायम गर्ने गरी काम गर्नसमेत उनले निर्देशन दिए ।

जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै उनले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानुन र ऐन निर्माण गरेर काम गर्न सक्ने भन्दै आवश्यकताअनुसार ऐन निर्माण गर्नसमेत आग्रह गरे ।

उनले भने, ‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने, केही पोखिएको छ भने हतार–हतार उठाउनुस् है साथीहरू । पोखिएको हुन सक्छ कतै, हतार–हतार उठाउनुस्, हतार–हतार मिलाउनुस् । कुनै पदबाहेक राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि होला । त्यहाँका पार्टी कार्यकर्ता, नागरिकले दोहोर्याउनुपर्छ भन्ने स्थिति आएको भए त्यसो हुन पनि सक्छ । जितिने स्थिति बनेको भए । त्यसो भएको हुनाले मुख्यतः जनप्रतिनिधिहरूले नै कामलाई सोझ्याउनुपर्छ । संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी तपाईंहरूले आफ्ना कानुन र ऐन बनाउन सक्नुहुन्छ । त्यसो भएको हुनाले त्यहीँबाट गर्ने हो ।’

उनले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई खुसी बनाउने गरी कार्यसम्पादन गर्नसमेत जनप्रतिनिधिहरूलाई आग्रह गरे । 

Share News