सरकारले कसैलाई नचिन्ने र नगन्ने शैली निर्वाचनमा चल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले निर्वाचनको वातावरण निर्माण गर्ने कुरामा आयोग आफैँले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

उनले सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न खोजिरहेको भन्दै निर्वाचनका सम्बन्धमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुनेसमेत बताए । उनले गत वर्षको भदौ २३ र २४ गतेको अप्रत्याशित घटनापछिको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्त्वपूर्ण रहेको स्मरणसमेत गराए ।

सभापति थापाले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनले स्पष्ट व्यवस्था गरिसकेको भन्दै सोहीअनुसार मिति तय गर्न सकिने बताए । उनले प्रदेश र स्थानीय तहको निर्वाचन एकै समयमा गर्ने सम्बन्धमा आयोगमा छलफल भएको उल्लेख गर्दै विशिष्ट परिस्थितिमा एकै मितिमा निर्वाचन गर्न सकिने सम्बन्धमा दलहरूबीच अझै बहस र छलफलको आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हो । तर सरकारले अरू कैयौँ विषयमा “म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षीलाई चिन्दिनँ, कसैलाई पनि चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ” भन्दै गर्दा अरू कुरामा सरकारको कामकारबाही चल्छ तर निर्वाचनमा चल्दैन । हामी गत वर्षको भदौको २३ र २४ को अप्रत्याशित विप्लवपछि जुन अवस्थामा निर्वाचन भयो, त्यो समयमा निर्वाचन आयोगले मात्र निर्वाचन गराएर निर्वाचन भएको होइन भन्ने कुरा पनि स्मरण गरायौँ । त्यो बेला तत्कालीन सरकारले निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरूसँग कतिपटक संवाद गर्यो भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ ।’

उनले सरकारले अन्य राजनीतिक दलहरूसँग संवाद गर्नसमेत नचाहेको भन्दै असन्तुष्टि र आपत्तिसमेत जनाए । 

Share News