काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेकाा हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री साह मंसिर ६ गते आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।
सरकारी भ्रमण टोली ३४ सदस्यीय रहने सचिव राईले जानकारी दिए ।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।
भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जानेछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।
सचिव राईका अनुसार व्यवसायीबीचको छलफलले दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।