दिल्लीमा प्रधानमन्त्री शाहको व्यस्त कार्यतालिका

चार महत्त्वपूर्ण भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हो । 

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् । उनी सोही दिन दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यक्रम छ ।

दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । ताजमहल होटलमा हुने उक्त भेटवार्ताबाहेक आइतबारका लागि अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे प्रधानमन्त्री शाहको राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत हुनेछ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा हुने भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुनेछ ।

भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान हुनेछ । त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

सोमबार अपरान्ह ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने भेटपछि उनी अपरान्ह ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यतालिका छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत राईका अनुसार सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ । त्यसबाहेक निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि भ्रमणमा सहभागी हुने जनाइएको छ । व्यवसायीहरूले आफ्नै खर्चमा भारत भ्रमण गर्नेछन् ।

Share News