देउवा पक्षको जिल्ला अधिवेशन अन्तिम चरणमा, ५५ जिल्लामा सम्पन्न

चार जिल्लामा अधिवेशन उद्घाटन भएर निर्वाचन प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले सञ्चालन गरेको समानान्तर १५औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हालसम्म ५५ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् भने चार जिल्लामा अधिवेशन उद्घाटन भएर निर्वाचन प्रक्रिया जारी छ । बाँकी जिल्लामा अधिवेशनको तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

पार्टीको निर्वाचन समितिका सदस्यसचिव दीपक कुइँकेलका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । अब लुम्बिनी, कर्णाली, बागमती र मधेस प्रदेशका केही जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।

कुइँकेलका अनुसार लुम्बिनीको रुपन्देही, कर्णालीको सुर्खेत, बागमतीका भक्तपुर र रामेछाप तथा मधेसका सिरहा, सर्लाही, रौतहट र महोत्तरीमा जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी छ । शुक्रबार पनि चार जिल्लामा अधिवेशन उद्घाटन भएर प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

निर्वाचन समितिले प्रदेश अधिवेशनअघि नै सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ । जिल्ला अधिवेशन सम्पन्न भएका स्थानमा नयाँ नेतृत्व चयन भइसकेको छ भने प्रक्रिया जारी रहेका जिल्लामा पनि नेतृत्व चयनको तयारी भइरहेको कुइँकेलले बताए ।

केही जिल्लाले अधिवेशनलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नराखी उत्सवका रूपमा सम्पन्न गर्ने तयारी गरेका छन् । विशेषगरी बागमती प्रदेशका भक्तपुर र रामेछापमा अधिवेशनलाई उत्सवमय बनाउने तयारी भइरहेको एक नेताले बताए ।

जिल्ला अधिवेशनको यो प्रक्रिया देउवा समूहले अघि बढाएको समानान्तर १५औँ महाधिवेशनको तयारीको महत्त्वपूर्ण चरण हो । यस समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसअघि सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको कुइँकेलले जानकारी दिए ।

निर्वाचन समितिको कार्यतालिकाअनुसार मंसिर ५ र ६ गते गण्डकी, ७ र ८ गते लुम्बिनी, १३ र १४ गते कर्णाली, १४ र १५ गते मधेस, १५ र १६ गते सुदूरपश्चिम, १७ र १८ गते कोशी तथा १८ र १९ गते बागमती प्रदेशको अधिवेशन गर्ने तयारी छ ।

प्रदेश अधिवेशनबाट प्रदेश नेतृत्व चयन भएपछि समूह केन्द्रीय महाधिवेशनको तयारीमा केन्द्रित हुने नेता मोहन बस्नेतले जानकारी दिए । निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न जिल्ला र प्रदेश तहका अधिवेशन समयमै टुंग्याउने निर्वाचन समितिका सदस्यसचिव कुइँकेलले बताए ।

रुपन्देहीमा मंसिर ६ गते अधिवेशन

यसैबीच, देउवा समूहले रुपन्देही जिल्ला अधिवेशन मंसिर ६ गते भैरहवामा गर्ने भएको छ । अधिवेशन व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै भैरहवास्थित सनस्टार होटलमा अधिवेशन आयोजना गरिने जानकारी दिएका छन् ।

अधिवेशनमा डा. शशांक कोइराला र विमलेन्द्र निधिलगायतका नेताहरू सहभागी हुने बताइएको छ । जिल्ला अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको पोखरेलले जनाए ।

देउवा समूहले असोज १५ गतेदेखि वडा तहबाट समानान्तर अधिवेशन प्रक्रिया सुरु गरेको थियो । वडा, पालिका र निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै जिल्ला तहसम्म संगठनात्मक संरचना निर्माण गरेको समूहले अब प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको हो ।

जिल्ला तहको अधिवेशन अन्तिम चरणमा पुगेसँगै देउवा समूहको समानान्तर महाधिवेशन प्रक्रिया प्रदेश तहमा प्रवेश गर्ने भएको छ । मंसिर २१ देखि २३ गतेसम्म निर्धारित केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समूहले बाँकी संगठनात्मक प्रक्रिया समयमै टुंग्याउने नेता बस्नेतले बताए । बस्नेत शुक्रबार जिल्ला अधिवेशन उद्घाटन गर्न गोरखा पुगेका छन् । 

Share News