विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नेपाली नागरिकलाई पनि नेपालको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

मतदानका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

शुक्रबार निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा कांग्रेस सभापति गगनकुमार थापाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।

थापाले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन कानुनी व्यवस्था आवश्यक रहेको औंल्याएका छन् ।

रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसरबाट वञ्चित गर्न नहुने उनको धारणा छ ।

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने विषय लामो समयदेखि उठ्दै आएको छ ।

Share News