नेपाल बैंक ९०औं वर्षमा प्रवेश, अर्थमन्त्री वाग्लेले गरे डिजिटल कर्जा सेवाको शुभारम्भ

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९ वर्ष पूरा गरी ९०औं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक समारोहका बीच आफ्नो ९०औं वार्षिकोत्सव मनाएको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकको उक्त समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता तथा बैंकको सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा सम्पन्न भएको हो । 

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले बैंकको डिजिटल कर्जा फोन लोन बाइ नाउ पे लेटर क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टलको शुभारम्भ गरे । उनले उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्न कृषि, जलविद्युत, पर्यटन, सूचना प्रविधि, निर्यातमुलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

साथै, संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत जनविश्वास कायम राख्दै डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्न उनले बैंकलाई निर्देशन दिए ।

बैंककी प्रवक्ता प्रतिभा डंगोलद्वारा जारी विज्ञप्तिअनुसार हाल बैंकले देशभरका २३० वटा शाखा, २५० वटा एटिएम तथा ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जालमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएको छ । 

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधिमार्फत छिटोछरितो, गुणस्तरीय तथा गुनासोरहित सेवामा जोड दिँदै आएको यस बैंकका करिब १६ लाख ग्राहकहरू डिजिटल सेवा सुविधाबाट लाभान्वित भइरहेका छन् । 

समारोहमा २५ वर्ष अटुट सेवा गर्ने ३ जना तथा २० वर्ष अटुट सेवा गर्ने १० जना कर्मचारीहरूलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिनुका साथै प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ वटा शाखाहरूलाई पुरस्कृत गरिएको थियो । 

त्यसैगरी, प्राकृतिक विपत्तिको प्रतिकूल अवस्थामा पनि बैंकिङ सेवा सुचारु राख्ने त्रिशुली र धुन्चे शाखालाई सम्मान गरिएको थियो भने स्याफ्रुबेँशी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा विषम परिस्थितिमा बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।  

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभाध्यक्ष बद्री खनालले बैंकमा कार्यरत कर्मचारीहरूलाई आगामी दिनमा उच्च मनोबल, जिम्मेवार तथा इमान्दारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घ बहादुर रावल सहभागी थिए । 

Share News