तातोपानी नाका खुलाउन कूटनीतिक पहलको माग, व्यापारी भन्छन्- नाका बन्दले डिप्रेसनमा गयौं

काठमाडौं । लामो समयदेखि अवरुद्ध नेपाल-चीन प्रमुख व्यापारिक नाका तातोपानी तत्काल सञ्चालनमा ल्याउन सरोकारवाला तथा व्यापारीहरूले सरकार र राजनीतिक दलहरूसँग कूटनीतिक पहलका लागि आग्रह गरेका छन् । 

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरतप्रसाद पराजुलीले सोमबार काठमाडौंमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा बोल्दै व्यवसायीहरूले नाका बन्द हुँदा आफूहरू गम्भीर आर्थिक तथा मानसिक तनावमा परेको गुनासो पोखेका हुन् । 

अन्तरक्रियामा सहभागी भोटेकोसी गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न व्यापारिक संघसंस्थाका अगुवाहरूले हाल चीन भ्रमणमा रहेका रास्वपाका २० जना सांसदहरूमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी नाका खुलाउन विशेष अनुरोध गरेका छन् । 

कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष हिमलाल खराल, एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्य, नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष हरि गौतमलगायतले पटक–पटक नाका बन्द हुनुको यथार्थ कारण प्रष्ट पार्न सरकारसँग माग गरे । 

दसैंका लागि मगाइएका सामानसमेत अझै नाकामै रोकिएको र कतिपय सामान कोरला नाकातर्फ डाइभर्ट गर्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै उनीहरूले राज्यले राजस्व उठ्ने मुख्य नाकालाई बेवास्ता गरेको आरोप लगाए । 

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले नाका बन्द हुनुमा चीनको सुरक्षा चासो हो भने नेपालले आवश्यक सुरक्षाको प्रत्याभूति दिलाएर भए पनि राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको यो नाका खुलाउनुपर्नेमा जोड दिए ।

यसैबीच, सांसद पराजुलीले भूकम्प, महामारी र बाढीपहिरोका कारण पटक-पटक अवरुद्ध हुँदै आएको तातोपानी नाकालाई दीर्घकालीन पूर्वाधार विकाससहित सुरक्षित रूपमा सञ्चालन गर्न तीनै तहका सरकार, निजी क्षेत्र र चीन सरकारबीच आपसी विश्वासको सहकार्य आवश्यक रहेको बताए । 

गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट ४७ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात घटेर १ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । 

गत भदौ १० गते भोटेकोसी बाढीले रसुवागढी–केरुङ नाकामा क्षति पुर्याएको पाँच दिनपछि भदौ १५ गतेदेखि चिनियाँ पक्षले लिपिङ क्षेत्रमा पहिरोको जोखिम देखाउँदै तातोपानी नाकाबाट हुने व्यावसायिक कारोबार रोकेको थियो, जुन दसैंमा तीन दिन खुलेर पुनः बन्द भएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन । 

व्यापारी तथा व्यवसायी सबैका आ-आफ्नै पीडा थिए । प्रायः उनीहरू सबैले हाल चीन भ्रमणमा रहेका रास्वपाका २० जना सांसदलाई सम्झँदै कूटनीतिक पहल गर्न अनुरोध गरेका थिए ।

‘रास्वपाका २० जना सांसद चीन भ्रमणमा जानुभएको छ, उहाँहरूले तातोपानी नाका खुलाउन पहल गर्नुपर्यो,’  व्यवसायी विष्णुप्रसाद आचार्यले भने, ‘तातोपानी नाका छिटो सञ्चालनमा आउनुपर्यो ।’ 

कार्यक्रममा बोल्ने अधिकांश व्यापारी तथा व्यसायीको एउटै प्रश्न थियो- तातोपानी नाका पटक-पटक बन्द हुनुको खास कारण के हो ?

‘तातोपानी नाका किन बन्द भएको हो ? चीनले किन बन्द गरेको हो ? चीनले तातोपानी नाका खोल्न किन नचाहेको हो ?’ राष्ट्रिय व्यापार संघका अध्यक्ष हिमलाल खरालले भने, ‘पहिला यी कारण बुझ्न जरुरी छ ।’

चीनसँगको प्रमुख व्यापारिक नाका ‘तातोपानी नाका’ खुलाउन पटक-पटक छलफल गरे पनि खुलाउन नसकिएको उनले जनाए । एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले २०७२ सालको भूकम्पपछि तातोपानी नाका अघोषित रूपमा बन्द भएको जनाए । 

पछिल्ला वर्षहरूमा तातोपानी नाकामा समस्या आइरहेको जनाउँदै उनले जेठमा मगाएको सामान अहिलेसम्म प्राप्त नभएको बताए । ‘तीजको लागि मगाएको सामान बल्ल आएको छ । दसैंको सामान आएकै छैन । व्यापारी, व्यवसायी डिप्रेसनमा गएको अवस्था छ । तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्नुपर्यो,’ आचार्य भने ।

तातोपानी नाका बन्द हुनुको खास कारण पत्ता लगाउनुपर्ने उनले बताए । तातोपानी नाकालाई राज्यले संकोचित रूपमा हेरेको आरोप उनको थियो ।

‘के गरे नाका खुल्छ सरकारले भन्दिनुपर्यो । व्यापारी, व्यवसायी सधैँ तड्पिनुपर्ने हो ?’आचार्यले भने । नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले तातोपानी नाका खुलाउनेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए । उनले भने, ‘राज्यले आफ्नो राजस्व उठाउने ठाउँमा नै ध्यान दिँदैन भने कहाँ दिने ?’ 

तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका हो । गत आर्थिक वर्ष २०८२/८३ मा चीनबाट तातोपानी नाका हुँदै नेपालमा ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार रुपैयाँको वस्तु भित्रिएका थिए ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब १५ करोड ७२ लाख रुपैयाँको वस्तु तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा तातोपानी नाकाबाट ९ अर्ब ४४ करोड ५५ लाख ४८ हजार रुपैयाँका वस्तु नेपाल भित्रिएका थिए ।

रास्वपाका सांसद भरतप्रसाद पराजुलीले तातोपानी नाका खुलाउन नेपाल सरकार, चीन सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र आपसी विश्वास सहितको सहकार्य जरुरी रहेको बताए ।

‘तातोपानी नाका खुल्नुपर्छ, सुरक्षित रूपमा सञ्चालन हुनुपर्छ र यसलाई भविष्यमा बन्द गर्नुपर्ने अवस्था नआउने गरी दीर्घकालीन पूर्वाधार तथा व्यवस्थापनको विकास गरिनुपर्छ,’ रास्वपा सांसद पराजुलीले भने ।

तातोपानी नाका भूकम्प, महामारी, बाढी, पहिरो र भौगोलिक असुरक्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको उनले बताए । उनले थपे, ‘नाका बन्द हुँदा भन्सारको कारोबार मात्र बन्द हुँदैन । हजारौँ मानिसको रोजगारी, स्थानीय बजारको कारोबार, यातायात व्यवसाय र राष्ट्रिय आपूर्ति प्रणालीको व्यवस्थामा समेत गम्भीर असर परेको छ ।’

Share News