आईबीएमको सेयरमा पहिरो, बजार मूल्यमा ७० अर्ब डलर गिरावट

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी आईबीएमले दोस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय नतिजा अपेक्षाभन्दा कमजोर रहने संकेत दिएपछि कम्पनीको सेयर कारोबारका क्रममा २६ प्रतिशतसम्म घटेको छ । यससँगै कम्पनीको बजार मूल्य करिब ७० अर्ब अमेरिकी डलरले घटेको छ ।

यदि कारोबार अन्त्यसम्म यही गिरावट कायम रहे यो सन् १९८७ पछिकै आईबीएमको सबैभन्दा ठूलो एकदिने सेयर गिरावट हुने अनुमान गरिएको छ ।

आईबीएमले दोस्रो त्रैमासिकमा १७.२ अर्ब अमेरिकी डलर आम्दानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ, जुन वाल स्ट्रिट विश्लेषकहरूको १७.८६ अर्ब डलर अनुमानभन्दा कम हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द कृष्णाका अनुसार ग्राहकहरूले सफ्टवेयर तथा परम्परागत आईटी सेवामा हुने खर्च घटाएर एआई पूर्वाधारका लागि आवश्यक सर्भर, स्टोरेज र मेमोरी खरिदमा पूँजी केन्द्रित गर्न थालेका कारण कम्पनीको आम्दानी अपेक्षाअनुसार हुन सकेन ।

लगानीकर्तालाई पठाएको पत्रमा उनले बजारको तीव्र परिवर्तनसँग कम्पनीले अपेक्षित गतिमा आफूलाई अनुकूल बनाउन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार केही ठूला सम्झौताहरू अपेक्षित समयमा सम्पन्न हुन नसक्दा राजस्व प्रभावित भएको हो ।

आईबीएमको कमजोर प्रक्षेपणको असर अन्य सफ्टवेयर कम्पनीहरूमा पनि देखिएको छ । माइक्रोसफ्टको सेयर करिब २ प्रतिशत, वर्कडेको ६.३ प्रतिशत, सेल्सफोर्सको ३.२ प्रतिशत, अटोडेस्कको २.४ प्रतिशत तथा अमेरिकामा सूचीकृत एसएपीको सेयर ३.४ प्रतिशतले घटेको छ ।

सफ्टवेयर क्षेत्रको प्रदर्शन मापन गर्ने आईसेयर्समा पनि कारोबारका क्रममा २.७ प्रतिशतसम्म घटेको थियो, यद्यपि पछि केही सुधार देखिएको थियो ।

आईटी सेवा कम्पनीहरू पनि दबाबबाट अछुतो रहेनन् । एक्सेन्चरको सेयर २.९ प्रतिशत, कग्निजेन्ट टेक्नोलोजी सोलुसन्सको २.२ प्रतिशत र इन्फोसिसको २.८ प्रतिशतले घटेको छ ।

बजार विश्लेषकहरूले आईबीएमको नतिजालाई सफ्टवेयर उद्योगका लागि चेतावनीका रूपमा लिएका छन् । भाइटल नलेजका संस्थापक एडम क्रिसाफुलीका अनुसार कम्पनीहरूले पूँजीगत खर्च एआई पूर्वाधारतर्फ मोड्दै जाँदा परम्परागत सफ्टवेयर र आईटी सेवा कम्पनीहरू थप दबाबमा पर्न सक्ने जोखिम बढेको छ ।

यस वर्ष एआईसँग सम्बन्धित हार्डवेयर र सेमिकन्डक्टर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भने परम्परागत सफ्टवेयर कम्पनीहरू दबाबमा परिरहेका छन् । आईबीएमको पछिल्लो नतिजाले पनि यही प्रवृत्तिलाई थप स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ ।

Share News