एआईलाई सुरक्षित बनाउन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को विकासलाई सुरक्षित, समावेशी र नैतिक बनाउन तथा यसबाट सम्पूर्ण मानवताले लाभ लिनसक्ने सुनिश्चित गर्न विश्वव्यापी समन्वयका लागि आह्वान गरेका छन् ।

जेनेभामा आयोजित एआई गभर्नेन्स(एआई शासन) सम्बन्धी पहिलो विश्वव्यापी संवादको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै महासचिव गुटेरेसले एआई प्रविधि अनियन्त्रित गतिमा अघि बढिरहेको र यसले विश्वलाई नै रूपान्तरण गरिरहेको बताए । 

उनले भने, ‘हामीले यो परिवर्तनलाई मिलेर सही आकार दिने कि यसलाई हामीमाथि हाबी हुन दिने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ । एआई शासनसम्बन्धी यो विश्वव्यापी संवादले उक्त प्रश्नको उत्तर खोज्नेछ, जहाँ पहिलो पटक सबै राष्ट्रले समान रूपमा आफ्नो धारणा राख्ने अवसर पाएका छन् ।’

महासचिव गुटेरेसले एआई सुशासनका लागि सुरक्षा, मानव अधिकार, क्षमता र पारदर्शिता गरी चारवटा मुख्य प्राथमिकताहरू रेखांकित गरे । यस संवादले विश्वव्यापी सहभागितालाई ठोस कार्यमा परिणत गर्ने र एआईलाई थप सुरक्षित, निष्पक्ष, पहुँचयोग्य र नैतिक बनाउन मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । आगामी वर्ष न्युयोर्कमा हुने अर्को संवादसम्ममा एआईलाई सुरक्षित र न्यायपूर्ण बनाउने कार्यमा उल्लेखनीय प्रगति हुने उनको अपेक्षा छ । 

यसैबीच, एआईसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले सोमवार नै एआईका अवसर, जोखिम र प्रभावहरूको मूल्याङ्कन गरिएको प्रारम्भिक प्रतिवेदन प्रश्तुत गरेको छ । उक्त प्रतिवेदनले एआईको क्षमतामा भइरहेको तिब्र विकासको तुलनामा वर्तमान सुरक्षात्मक उपायहरू पछि परेको भन्दै सचेत गराएको छ । 

दुई दिनसम्म चल्ने यस संवादमा विभिन्न मुलुकका सरकारी प्रतिनिधि, प्रविधि कम्पनी, प्राज्ञिक क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायको सहभागिता रहेको छ । कार्यक्रममा एआईका अवसर र जोखिम, डिजिटल विभाजन कम गर्ने उपाय, अन्तर्राष्ट्रिय सहयोग र एआई प्रणालीमा मानवीय निगरानीको आवश्यकता जस्ता विषयमा गहन छलफल हुनेछ ।  

Share News