एमालेको राष्ट्रिय कार्यशाला अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुने भएका छन् । 

जेठ २० र २१ गते काठमाडौंमा पार्टीको संगठन विभागले आयोजना गर्ने राष्ट्रिय कार्यशालालाई अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक कार्यशालाको अध्यक्ष ओलीले उद्घाटन गर्ने एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

डा. अधिकारीका अनुसार कार्यशालामा संगठन सुदृढीकरण, सदस्यता विस्तार, पार्टी संरचनाको प्रभावकारी परिचालन तथा भावी कार्ययोजनाबारे छलफल र अभिमुखीकरण गरिनेछ ।

कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव तथा विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहने डा. अधिकारीले जानकारी दिए ।

एमालेले कार्यशालामार्फत सदस्यता नवीकरण तथा विस्तार अभियानलाई थप प्रभावकारी बनाउने र पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।

Share News