‘निजी क्षेत्र बजेट कहाँबाट बर्सियो भनेर उत्साहित छन्, पुँजीगत लाभकर अन्तिम नै हो’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा लगाइने पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम रहने स्पष्ट पार्दै कर दरमा गरिएको सामान्य वृद्धि लगानीकर्ताकै सुझावअनुसार गरिएको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकरबारे उठेका चासोको जवाफ दिँदै अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने करदरमा सीमित समायोजन मात्र गरिएको बताए ।

‘पुँजीगत लाभकर अन्तिम नै हो,’ उनले भने, ‘५ प्रतिशतलाई ७.५ प्रतिशत र ७.५ प्रतिशतलाई १० प्रतिशत बनाएका छौं । तर यो अन्तिम करकै रूपमा कायम रहनेछ ।’ 

उनले कर संरचनामा गरिएको परिवर्तन लगानीकर्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राखेर गरिएको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा अर्थतन्त्र चलायमान बनाउन सूचना प्रविधि, डिजिटल पूर्वाधार र भौतिक पूर्वाधार क्षेत्रमा ठूलो लगानी तथा नीतिगत प्रोत्साहन दिने बताए ।

‘अर्थतन्त्रमा बिग ब्याङ र पूर्वाधारमा बिग पुसका रूपमा काम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्र अहिले यस्तो बजेट कहाँबाट बर्सियो भनेर उत्साहित भएको अवस्था छ ।’

सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा हेरेको उल्लेख गर्दै उनले बजेटमार्फत लगानी, उत्पादन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । 

उनका अनुसार बजेटले निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।

Share News