एमालेको कमान्ड लिन शीर्ष नेताहरू सक्रिय

पार्टीभित्र भावी नेतृत्वको समीकरणबारे छलफल तीव्र

काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी को बन्ने भन्ने विषयमा आन्तरिक बहस र तयारी सुरु भएको छ । अध्यक्ष ओलीले आगामी केही महिनाभित्र सक्रिय नेतृत्वबाट क्रमशः बिदा लिने संकेत गरेसँगै पार्टीभित्र भावी नेतृत्वको समीकरणबारे छलफल तीव्र हुन थालेको एमाले निकट स्रोतहरूले बताएका छन्।

पछिल्लो समय ओलीपछिको नेतृत्व सम्हाल्ने आकांक्षासहित बहालवाला तथा पूर्वपदाधिकारीहरूले आन्तरिक लबिङ र कार्यकर्ता भेटघाट बढाएका छन् । स्रोतका अनुसार पार्टीका पाँचै उपाध्यक्षहरू आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदको दौडमा देखिएका छन् ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तलाई स्वाभाविक रूपमा भावी नेतृत्वका आकांक्षीका रूपमा हेरिएको छ । उनीहरूले संगठनभित्र आफ्नो प्रभाव विस्तार गर्ने तथा कार्यकर्तामाझ उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको स्रोतहरूको भनाइ छ ।

उपाध्यक्षहरूबाहेक महासचिव शंकर पोखरेलले पनि अध्यक्ष पदप्रति रुचि देखाउँदै कार्यकर्ता भेटघाट र आन्तरिक संवादलाई तीव्र बनाएको स्रोतले बताएको छ । पार्टी संगठनमा लामो अनुभव र ओली निकट नेताका रूपमा पोखरेललाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ ।

त्यस्तै, एमालेका दुई पूर्व पदाधिकारीको नाम पनि भावी नेतृत्वको चर्चामा आएको छ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पनि अध्यक्षका सम्भावित दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ ।

यद्यपि, पार्टीले नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक निर्णय गरिसकेको छैन ।

एमालेभित्र भने आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै शक्ति सन्तुलन, गुटगत समीकरण र भावी नेतृत्वबारे आन्तरिक कसरत सुरु भइसकेको नेताहरू बताउँछन्। 

एमाले उच्च स्रोतका अनुसार आगामी असार २० गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पार्टीको पुनर्गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ । उक्त बैठकले नेतृत्व हस्तान्तरण गर्नेगरी पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषदको बैठक आव्हान गर्ने भन्ने निर्णय गर्ने स्रोतले जानकारी दियो ।

Share News