कांग्रेसको आरोप– दुई तिहाई संख्याको आडमा संसदलाई कमजोर बनाउने प्रयास भयो

काठमाडौं । नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताए । 

उनले संसद गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्ने भन्ने सत्तापक्षका संसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्रीले विश्वविद्यालय समान संसदको बंक हान्न थालेको बताए । 

प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उनको भनाइ छ । 

नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीकै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको गुनासो गरे ।

उनले सभामुखसँग प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पुन: ध्यानाकर्षणसमेत गराए ।

Share News