काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिवर्तन र समावेशी प्रतिनिधित्वलाई जनयुद्ध र क्रान्तिको उपजको रूपमा व्याख्या गरेका छन् ।
मंगलबार संसदलाई सम्बोधन गर्दै उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतालाई ‘क्रान्तिको संकल्पको जित’ का रूपमा टिप्पणी गरे ।
सम्बोधनका क्रममा प्रचण्डले काठमाडौंको मेयर हुँदै देशको प्रधानमन्त्री बन्न सफल हुनुभएका बालेन्द्र शाह र झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विशेष बधाई दिए ।
‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो,’ प्रचण्डले भने ।
विगतमा सत्ता र प्रतिपक्ष दुवै भूमिकामा रास्वपासँग सहकार्य गरेको स्मरण गर्दै उनले नयाँ शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिए ।
प्रचण्डले संसदमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको उपस्थिति तथ्यांकसहित प्रस्तुत गर्दै यसलाई ठूलो उपलब्धिका रूपमा चित्रण गरे ।
उनले आजको समावेशिता ‘पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरू’ को बलिदानले सम्भव भएको दाबी गरे ।
सामन्तवादविरुद्ध उठाइएको हतियारले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू मन्त्री बन्ने अवस्था नआउने उनको भनाइ छ ।
संसदमा जो प्रवेश गरे पनि आफू नै प्रवेश गरेजस्तो महसुस हुने र यसमा गर्व गर्ने अधिकार आफूलाई भएको जिकिर प्रचण्डले गरे ।
नयाँ सांसदहरूलाई बधाई र शुभकामना दिँदै प्रचण्डले इतिहास र बलिदानप्रति सचेत रहन आग्रह गरे ।
उनले परिवर्तनको जगलाई अवमूल्यन नगर्न चेतावनी दिँदै भन्नुभयो, ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफै ढल्नेछ ।’
सम्बोधनको अन्त्यमा उनले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गर्दै परिवर्तनको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा समेत जोड दिए ।