काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ ।
प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले गरेको प्रस्तावलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको बैठकले सर्वसम्मतिमा अनुमोदन गरेको हो ।
बैठकले प्रतिष्ठानको साङ्गठनिक जिम्मेवारी बाँडफाँट र आगामी कार्यक्रमको कार्यतालिका तय गरेको छ ।
सभापति गगनकुमार थापाले सदस्यहरूलाई बधाई दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे स्पष्ट पारेका थिए ।
यसैगरी, बैठकले आगामी वैशाख र जेठ महिनामा सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को आयोजना गर्ने निर्णय गरेको छ ।
जसअनुसार सुदूरपश्चिमको धनगढीमा वैशाख २६ र २७ गते, कर्णालीको लेकबेसीमा २८ र २९ गते, गण्डकीको पाेखरामा वैशाख ३१ र जेठ १ गते, बागमतीकाे धुलिखेलमा जेठ ४ र ५ गते, मधेशको बर्दिबासमा जेठ ६ र ७ गते, कोशीकाे लाेकीमा जेठ ८ र ९ गते र लुम्बिनीकाे तिलाेत्तमामा जेठ १४ र १५ गते प्रशिक्षण कार्यक्रम हुनेछन् ।