काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले सेयर धितो कर्जा उल्लेख्य बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरूले २० प्रतिशत सेयर धितो कर्जा बढाएका हुन् । समीक्षा अवधिमा अधिकांश बैंकको सेयर कर्जा बढाएको देखिन्छ ।
गत वर्ष बैंकहरूले ७० अर्ब ३ करोड ४४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले १९.८८ प्रतिशत अर्थात् ११ अर्ब ६६ करोड रुपैयाँ बढाएका हुन् । अघिल्लो वर्ष बैंकहरूले ५८ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल एसबीआई बैंकले सबैधन्दा धेरै सेयर धितो कर्जा प्रवाह बढाएको छ । एसबीआई बैंकको ७३९.९५ प्रतिशत बढेर २० करोड १५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष बैंकले २ करोड ४० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो ।
एनआईसी एशिया बैंकले २८६ प्रतिशत बढाएर ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले ९० प्रतिशत बढाएर २ अर्ब २ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकले ७१ प्रतिशत बढाएर ६ अर्ब ७८ करोड ८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार सिद्धार्थ बैंकले ४२.१३ प्रतिशत बढाएर ५ अर्ब ७८ करोड रुपैयाँ, कृषि विकास बैंकले ३९.९५ प्रतिशत बढाएर १ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन्स बैंकले ३६.४६ प्रतिशत बढाएर ४ अर्ब ८० करोड रुपैयाँ,प्राइम बैंकले ३६ प्रतिशत बढाएर ४ अर्ब ५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।
यस्तै सानिमा बैंकले २५.५९ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, नबिल बैंकले २२.७४ प्रतिशत बढाएर ११ अर्ब ४२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १९.८० प्रतिशत बढाएर ७ अर्ब ५१ करोड रुपैयाँ, कुमारी बैंकले १०.३७ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १.७४ प्रतिशत बढाएर ४ अर्ब २६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
तर, गत वर्ष आधा दर्जन बैंकको सेयर धितो कर्जा घटेको देखिन्छ । यी बैंकले सेयर धितो कर्जामा प्रवाह हुने ऋण घटाउने रणनीति अपनाएको देखिन्छ ।
गत वर्ष लक्ष्मी सनराइज बैंकको ८.९५ प्रतिशत घटेर ३ अर्ब ३८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १५.३५ प्रतिशत घटेर ४६ करोड ७० लाख रुपैयाँ, प्रभु बैंकको २० प्रतिशत घटेर ३ अर्ब १८ करोड रुपैयाँ, हिमालयन बैंकको ३० प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकको ३१.५७ प्रतिशत घटेर ९८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ८५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।