गार्मेन्ट उद्योग छोडेर व्यवसायीहरु ट्रेडिङमा लागे, धमाधम कर्मचारी कटौती

<p>काठमाडौं । हाल सञ्चालनमा रहेका गार्मेन्ट (तयारी पोसाक)उद्योगहरु एकपछि अर्को बन्द हुने अवस्थामा पुगेका छन् । नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित सामाग्रीले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएपछि उद्योग धराशायी बन्दै गएका हुन् । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे पछिल्लो समय उद्योगहरु समस्यामा रहेको बताए । उनका अनुसार निर्माणको चरणमा भएका [&hellip;]</p>

काठमाडौं । हाल सञ्चालनमा रहेका गार्मेन्ट (तयारी पोसाक)उद्योगहरु एकपछि अर्को बन्द हुने अवस्थामा पुगेका छन् । नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित सामाग्रीले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएपछि उद्योग धराशायी बन्दै गएका हुन् ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे पछिल्लो समय उद्योगहरु समस्यामा रहेको बताए । उनका अनुसार निर्माणको चरणमा भएका उद्योग पनि रोकिएका छन् । गार्मेन्ट उद्योगबाट उत्पादित सामाग्रीको निर्यात बढेको देखिएका पनि सन्तोषजनक अवस्था नरहेको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेका अनुसार संघमा एक सयको हाराहारीमा गार्मेन्ट उद्योग दर्ता भएका छन् । त्यसको आधा मात्रै अहिले सञ्चालनमा छन् । ‘पहिले उद्योग सन्तोषजनक अवस्थामा सञ्चालनमा थिए, अहिले व्यवसाय राम्रो छैन, कर्मचारीहरु पनि धमाधम बेरोजगार भइरहेका छन्, पहिला मेरै उद्योगमा २ सय जना कामदार थिए, अहिले ६०/७० जना मात्र छन्,’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारका गार्मेन्ट उद्योग उत्पादित सामाग्रीको मूल्यमा भन्दा नेपालमा उत्पादित सामाग्रीको मूल्य बढी भएको कारण अर्डरमा पनि कमी आएको पाण्डेले जानकारी दिए । अर्डर कम भएपछि व्यवसाय समस्यामा परेका हुन् । नेपालबाटै सिकेर सन् १९९५ मा सुरु गरेको बंगलादेशको गार्मेन्ट उद्योग अहिले ३७ अर्ब डलरभन्दा बढीको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह पनि अहिले गार्मेन्ट उद्योगको अवस्था नाजुक भएको बताउँछन् । उनका अनुसार अहिले ४० प्रतिशत गार्मेन्ट उद्योग बन्द भइसकेका छन् ।

विदेशी उद्योगबाट उत्पादन भएका सामाग्रीको मूल्य सस्तो भएको र तिनीहरूको तुलनामा नेपाली उद्योगबाट उत्पादित सामाग्रीले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएपछि धेरै गार्मेन्ट उद्योग बन्द भएको उनको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले यस क्षेत्रलाई केही सम्बोधन अध्यक्ष पाण्डेको भनाइ छ । ‘हामीले बजेटबाट निर्यात भएका सामानको १० दिन भित्र उद्योगीको खातामा रकम आउनु पर्छ भनेर माग गरेको थियौं, बजेटमा नगद अनुदान ३/३ महिनामा भुक्तानी हुने भनिएको छ, पहिला हामीले २ वर्षसम्म रकम नपाइ रहेको अवस्थामा यो विषय सन्तोषजनक नै छ,’ अध्यक्ष पाण्डेले भने ।

उनका अनुसार यस वर्ष ८ अर्ब रुपैयाँ बराबरको गार्मेन्टका सामान निर्यात हुने अनुमान छ । उनले अहिले गार्मेन्ट उद्योगमा चीन, बंगलादेश, पाकिस्तान र भारत लगायतका देश अगाडि छन् । धेरै व्यवसायीहरु गार्मेन्टका उद्योग बन्द गरेर ट्रेडिङ बिजनेसमा लागेको अध्यक्ष सिंघको भनाइ छ ।

‘उद्योग बन्द भएर कतिपय उद्योगको मेसिनमा खिया लागि सकेको छ, भन्सार दर बढी भएको कारण नै गार्मेन्ट उद्योग नै फस्टाउन सकेका छैनन्, गार्मेन्ट उद्योगमा म्यानपावर सबै विदेशी छन्, ५ देखि ३० प्रतिशत मात्र नेपाली दाजुभाइ छन्, विदेशी नआएपछि निरन्तर उद्योग सञ्चालन हुन सकेनन्, यस्ता थुपै समस्याले उद्योगमा सिर्जना भएको हो,’ सिंहले भने ।

गत वर्ष महासंघमा ८६ वटा गार्मेन्ट उद्योगहरु दर्ता भएका थिए । ती सबै उद्योग एक वर्षमा सञ्चालनमा नै नआएको उनको भनाइ छ ।

Share News