काठमाडौं । सरकारले सुकुम्वासीको अनाधिकृत बस्ती हटाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।
‘स्थानीय तहको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बाग्मती र विष्णुमती लगायत नदी किनारमा रहेका अनाधिकृत बस्ती हटाइने छ,’ उनले भने ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघिय सरकारले सहयोग नगरेको आरोप लगाउँदै आएका थिए ।
यस्तै, काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने उनले बताए । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको बताएका हुन् ।
सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।