काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमार्फत् विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । उनले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै विभिन्न लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले बजेट मार्फत् जग्गाको कित्ताकाट खोलिने बताएका छन् । उनले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेका छन् । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा महतले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन ।
यस्तै, उनले विभिन्न किसिमका भत्ता खारेज हुने बताएका छन् । उनले २० वटा सार्वजनिक संस्थान पनि खारेज गरिने बताएका छन् ।
यस्तै, सरकारले २५ हजारलाई लालपूर्जा वितरण गर्ने भएको छ । महतले ११० स्थानीय तहका २५ हजारलाई लालपूर्जा वितरण गर्ने बताएका हुन् ।
उनले सरकारले गाँजा खेतीको अध्ययन गर्ने पनि बताएका छन् भने नयाँ कम्पनी दर्ता गर्दा कुनै नयाँ शुल्क नलाग्ने बताएका छन् । उनले अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने बताएका हुन् ।
सहकारी संस्थाहरुको प्रभावकारी नियमनका लागि तेस्रो तहको नियामकको स्थापना गरिने बताए ।