
काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।
उद्योगीहरुले पनि उद्योगधन्दा बन्द भएको कारण अर्थतन्त्रमा असरका परेकोले पुर्णरुपमा उद्योग खुलाउन सरकारसगँ माग गरिरहेका थिए । साेहि अनुसार सरकारले मापदण्ड पुरा गरेर मात्रै खोल्न निर्देशन दिएको हाे ।
यस्तो छ मापदण्ड
लकडाउन अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउनु पर्ने छ । आफ्नो प्रतिष्ठान भित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक, सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसंग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना/खाजाको व्यवस्था गर्ने व्यवस्था छ । यस सम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने पर्ने छ ।
आवास स्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवाहनको व्यवस्था मिलाउनु पर्ने छ । उद्योगहरुले कार्यस्थललाई अनिवार्य रुपमा स्यानिटाइजेशन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी उद्योग व्यवसायहरु सञ्चालन गर्ने व्यवस्था सम्बन्धित उद्योग प्रतिष्ठानले मिलाउन पर्ने छ ।
उद्योग/प्रतिष्ठानको व्यवसायिक कार्यालयहरु (कर्पोरेट अफिस) मा काम गर्ने उद्योगी तथा कर्मचारीको हकमा कूल कर्मचारी संख्याको एक तिहाई र सवारी साधन एक चौथाई संख्यामा नबढ्ने गरी न्यूनतम संख्याबाट कार्यालय/प्रतिष्ठान संचालन गर्नु पर्ने छ । स्थानीय प्रशासनले तोकेको समयमा मात्र आवागमन गर्नु पर्ने छ ।
कार्यालय र उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी समेत कायम गर्ने । उद्योगमा काम गर्ने कामदार कर्मचारीको दैनिक सामान्य स्वास्थ्य जाँच जस्तै ज्वरो मापन गर्ने व्यवस्था गर्नपर्ने छ । कुनै कामदार कर्मचारीलाई कोभिड-१९ को लक्षणको आशंका भएमा परीक्षणको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पठाउने छ ।
उद्योग सचिव चन्द्र कुमार घिमिरेले नयाँ निर्देशन आउने क्रममा रहेको बताए । अब सबै उद्योग स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नै सञ्चालन हुने छन् ।
‘उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी गरि सबै उद्योग सञ्चालन हुने छ,’ घिमिरेले भने ।
लकडाउन सुरु भए पछि अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द रहेको थिए । त्यसपछि बैशाख २६ गते बसेको मन्त्रपरिषद्को बैठकले ४४ प्रकारको उद्योग खोल्ने निर्णय गरेको थियो ।