
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु बढेका छन् ।
लकडाउन घोषणा गरिएको ४१ दिनसम्म पनि नेपालमा संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा उल्लंघन गर्नेको संख्या बढेको हो ।
सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ । केही दिन अघिसम्म अत्यावश्यक कामका बाहेक घरबाहिर ननिस्कने सर्वसाधारण केही दिनयता निस्कन थालेका छन् ।
अहिले सडकमा पनि अघिल्ला दिनहरुभन्दा बढी चहलपहल बढेको छ । सडकमा गाडी र मोटर साइकलको संख्या पहिलेको भन्दा निकै बढेको छ । विहान १० बजेभित्रमा बन्द गर्नुपर्र्ने खाद्यान्न पसल दिउँसो पनि खुल्न थालेका छन् । प्रहरी प्रशासनको आखा छलेर बाहिर निस्कने, पसल खोल्ने तथा हिडडुल गर्नेहरुको संख्या निकै बढेको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको म्याद सकिन अझै ४ दिन बाँकी रहेपनि सडकमा गाडीको चाप बढ्न थालेको छ । सडकमा सुरुको समयको लकडाउनको भन्दा बढी नै गाडी देखिन थालेका छन् ।
लकडाउनले नागरिकका दैनिक गतिविधिदेखि मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको छ । सरकार पनि लकडाउनलाई खुकुलो पार्दै लैजाने तयारीमा छ । शनिवार राष्ट्रियसभाको विधायन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि लकडाउन खुकुलो पार्न रणनीति बनाइदै गरेको जानकारी दिएका थिए ।
यस्तै, सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक समिति गठन गरी लकडाउनलाई अवका दिनमा कसरी व्यवस्थित गर्ने भनेर प्रतिवेदन बुझाउन भनेको छ । मुख्यसचिव रेग्मी संयोजकत्वको समितिले विभिन्न क्षेत्र पहिचान गरी सो अतिसंवेदन र सम्बेदनशील बाहेकको क्षेत्रमा लकडाउन केही सहज बनाउदै जानुपर्ने विषयमा छलफल गरिरहेका समाचारहरु सार्वजनिक भएका थिए ।
स्वास्थ्यमन्त्री ढकालको सार्वजनिक अभिव्यक्ति तथा मुख्यसचिव रेग्मी संयोजकत्वको समितिले पनि अहिलेको प्रारुपको लकडाउनमा केही परिवर्तन गर्नुपर्ने गरी छलफल अघि बढाएको समाचार सार्वजनिक भएपछि सर्वसाधारणले पनि लकडाउन उल्लंघन गर्न थालेका हुन् । काठमाडौंको भित्री सहरमा चिया, खाजा, किराना, फलफूल, तरकारी, डेरी जस्ता पसल गर्नेहरु लकडाउन घोषणासँगै आआफ्नो घर गएका थिए । तर, पछिल्लो समय उपत्यका नजिकका धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर जस्ता जिल्लाका त्यस्ता व्यापारीहरु पानी, दुध, तरकारी तथा अन्य यस्तै अत्यावश्यक बस्तु काठमाडौं उपत्यकाभित्र ढुवानी गर्ने सवारी साधानमा आएर काठमाडौं उपत्यकाको भित्री सहरमा पसल खोल्न थालेका छन् ।
यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्ययोजना तयार पारेको समाचार सार्वजनिक भएको छ । उक्त कार्ययोजना अनुसार देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरेर लकडाउनलाई व्यवस्थित पार्ने तयारी गरेको थियो ।
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला गर्ने तयारी सरकारको छ । संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ ।
संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषि तथा अन्य अत्यावश्यक कार्यबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी, लामो समयसम्म लकडाउन जारी राखिने रेड क्षेत्रमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउने गरी कार्ययोजना बनाएको छ ।
कडा बनाउन प्रधानमन्त्रीको निर्देशन
सडकमा सर्वसाधारणको उपस्थिति बाक्लिन थालेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताएका एक मन्त्रीले जानकारी दिए ।
जारी लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको बताउँदै उनले अझै कडा गर्न निर्देशन दिएका हुन् । सीमा र आवतजावतमा कडाइ गरेर शून्यमा झार्न उनले निर्देशन दिइएको बताइएको छ ।