अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

काठमाडौं । अरबपति एलन मस्कको विद्युतीय सवारीसाधन कम्पनी टेस्लाले सन् २०१९ मा भएको अटो–पायलट प्रणालीसहितको मोडल एसको घातक दुर्घटनासम्बन्धी मुद्दामा ६० मिलियन डलरको सम्झौता प्रस्ताव अस्वीकार गरेको थियो । तर यसै महिनामा जुरी (निर्णायकको समूह) ले उक्त मुद्दामा २४३ मिलियन डलर क्षतिपूर्ति गराउने निर्णय सुनायो । मुद्दाका वादी पक्षका वकिलहरूले सोमबार मियामी, फ्लोरिडाको संघीय अदालतमा दायर गरेको निवेदनमा उक्त सम्झौता प्रस्ताव खुलासा गरेका हुन् । उनीहरूले टेस्लाबाट कानुनी शुल्क असुल्ने माग पनि गरे । उनीहरूले फ्लोरिडा कानुनअनुसार गत मे ३० देखि वादीले गरेको कानुनी खर्च उठाउने अधिकार रहेको पनि बताए । टेस्ला वा त्यसलाई प्रतिनिधित्व गर्ने वकिलले तत्काल कुनै प्रतिक्रिया जनाएनन् । वादी पक्षका वकिलहरूले पनि तत्काल टिप्पणी गरेनन् । यो मुद्दा सन् २०१९ अप्रिलमा भएको दुर्घटनामा केन्द्रित थियो । उक्त दुर्घटनामा अटो–पायलट ड्राइभर–सहायक सफ्टवेयरसहितको मोडल एसले सडकको छेउमा पार्क गरिएको शेभरोलेट टाहो कारलाई ठक्कर दिएको थियो । त्यसबेला कारको छेउमा उभिएका व्यक्तिहरू दुर्घटनामा परेका थिए । जुरीले मृत्यु भएकी नाएबेल बेनाभिडेस लिओनको परिवारलाई र गम्भीर घाइते भएका उनका प्रेमी डिलन एङ्गुलोलाई संयुक्त रूपमा १२९ मिलियन डलर क्षतिपूर्ति (कम्पेन्सेटरी ड्यामेज) र २०० मिलियन दण्डात्मक क्षतिपूर्ति दिने आदेश दियो । सो क्षतिपूर्तिमध्ये ३३ प्रतिशत (अर्थात् ४२.६ मिलियन) टेस्लाले व्यहोर्नुपर्नेछ भने सम्पूर्ण २०० मिलियन दण्डात्मक क्षतिपूर्ति पनि टेस्लाले नै तिर्नुपर्नेछ । जुरीले कार चालकलाई ६७ प्रतिशत क्षतिपूर्ति जिम्मेवार ठहर गरे पनि उनी प्रतिवादी थिएनन् । टेस्लाले भने कुनै गल्ती नगरेको दाबी गर्दै निर्णयले ‘सडक सुरक्षा पछाडि धकेल्ने र टेस्ला तथा सम्पूर्ण उद्योगले जीवनरक्षक प्रविधि विकास र कार्यान्वयन गर्न गरेको प्रयासलाई खतरामा पार्ने’ बताएको छ । टेस्लाले यसविरुद्ध अपिल गर्ने जनाएको छ। वादी पक्षका वकिलहरूका अनुसार यो मुद्दा अटो–पायलटका कारण तेस्रो पक्षको मृत्यु भएको पहिलो मुद्दा हो जसमा अदालतले निर्णय सुनायो । टेस्लामाथि यसअघि पनि स्व–चालित क्षमतासम्बन्धी मुद्दा दायर भएका थिए तर ती मुद्दा मिलापत्र वा खारेज भएर सुनुवाइसम्म पुगेका थिएनन् ।

एक वर्षमा २० प्रतिशतले बढ्यो अडानी समूहको ऋण

काठमाडौं । अडानी समूहको भारतीय बैंकहरूमा निर्भरता बढ्दै गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका दोस्रो ठूला धनी गौतम अडानीको नेतृत्वमा रहेको यस समूहले अहिले भारतीय बैंक र वित्तीय संस्थाहरूबाट पहिलेभन्दा धेरै ऋण लिएको छ ।  समूहको करिब आधा ऋण (२.६ लाख करोड भारु) घरेलु बैंक र वित्तीय संस्थाबाट लिएको छ । एक वर्षअघि यो आँकडा ४० प्रतिशत थियो । भारतीय रिजर्ब बैंक (आरबीआई)ले नीतिगत ब्याजदर घटाएपछि भारतमा ऋण लिन सजिलो भएको छ । साथै क्रेडिट रेटिङ राम्रो भएकाले पनि ऋण पाउन सहज भएको छ । पछिल्ला १२ महिनामा जुन २०२५ सम्म अडानी समूहको कुल ऋण २० प्रतिशतले बढेको छ । जुन २०२५ को अन्त्यसम्म अडानी समूहको भारतीय रुपैयाँमा लिएको ऋण ५० प्रतिशत पुगेको छ, जुन डलरमा लिएको ऋणसँग बराबरीमा आएको हो । सरकारी बैंकहरूको अडानी समूहमा एक्सपोजर बढेर १८ प्रतिशत पुगेको छ, जुन गत वर्ष १३ प्रतिशतमात्र थियो ।  त्यस्तै, एनबीएफसी र वित्तीय संस्थाहरूको एक्सपोजर पनि बढेर २५ प्रतिशत पुगेको छ, जुन एक वर्षअघि १९ प्रतिशत थियो । डलर बन्ड जुन पहिले ३१ प्रतिशत थियो, घटेर २३ प्रतिशतमा झरेको छ । विदेशी बैंकहरूबाट डलरमा लिएको ऋण पनि २८ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । निजी बैंकहरूले भने आफ्नो हिस्सा २ प्रतिशतमा यथावत् राखेका छन् । क्यास रिजर्भ केवल दुई वर्षमै अडानी समूहमा भारतीय बैंकहरूको एक्सपोजर १५ अर्ब डलर (झण्डै १.३ लाख करोड भारु) बढेको छ । यसले देखाउँछ कि यी बैंकहरूले अडानी समूहलाई ऋण दिन कति ठूलो भूमिका खेलेका छन् । अडानी समूहले लगानीकर्ताहरूलाई जानकारी दिएको छ कि उसले बन्दरगाह र ऊर्जा जस्ता क्षेत्रमा दीर्घकालीन सम्झौता गरेर आम्दानी स्थिर राखेको छ । साथै ऋणलाई उद्योगको औसतभन्दा कम राखिएको छ । समूहसँग ६० हजार करोड भारुको नगद (क्यास रिजर्भ) पनि छ, जुन उसको कुल ऋणको चौथाई हो । अडानी एयरपोर्टले बारक्लेस, डीबीएस, फस्र्ट अबु धबी बैंक र एमयूएफजीबाट १५० मिलियन डलरको सिन्डिकेटेड लोन लिएको छ । त्यस्तै, अडानी पोट्र्सले एमयूएफजी बाट १२५ मिलियन डलरको ऋण लिएको छ । एयरपोर्ट युनिटले घरेलु बैंकहरूबाट लिएको ऋणलाई पनि रिफाइनान्स गरिएको छ ।  यस अवधिमा समूहको नाफा ४० हजार ५६५ करोड भारु रह्यो र पूँजीगत खर्च बढेर १.२६ लाख करोड भारु पुग्यो । लिक्विडिटी र नेट डेट–टु–एबिटा अनुपात २.६ कायम रहँदा ऋण नियन्त्रणमा रह्यो । समूहको ९० प्रतिशतभन्दा बढी आम्दानी एए–रेटिङ वा सोभन्दा उत्कृष्ट सम्पत्तिबाट आएको छ । यस कारण समूहलाई कम ब्याजदरमा ऋण प्राप्त भइरहेको छ र घरेलु तथा विदेशी दुवै पूँजीमा सजिलो पहुँच बनिरहेको छ ।

ट्रम्पको नोबेल सपना र अमेरिकाको आर्थिक यथार्थ

काठमाडौं । अगस्ट महिनाको सुरुमा नर्वेका अर्थमन्त्रीलाई ओस्लोको सडकमा एउटा फोन आयो । उक्त फोन चकित पार्ने खालको थियो । नर्वेजियन पत्रिका डागेन्स नाएरिङ्सलिभका अनुसार त्यो फोन गर्ने व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । ट्रम्पले नर्वेका अर्थमन्त्री जेन्स स्टोलटेन्बर्गलाई सोधेको कुरा थियो– कसरी आफूलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकन गराउन सकिन्छ ? ट्रम्पले सार्वजनिक रूपमा बारम्बार आफूले उक्त पुरस्कार पाउनुपर्ने इच्छा व्यक्त गरेका छन्् । कतिपयको भनाइमा यही चाहनाले उनलाई युक्रेन–रूसबीच शान्ति सम्झौता गराउने प्रयास र इजरायल–गाजामा ध्यान केन्द्रित गर्न प्रेरित गरेको हो । तर जुनमा उनले ट्रुथ सोसलमा लेख्दै गुनासो गरेका थिए, ‘मैले जे गरे पनि मलाई नोबेल शान्ति पुरस्कार दिइँदैन– चाहे रूस–युक्रेन होस् वा इजरायल–इरान । परिणाम जे भए पनि फर्किँदैन । तर जनताले थाहा पाएका छन् र त्यही नै मेरो लागि महत्त्वपूर्ण छ ।’ यो हप्ता ट्रम्पको अर्थतन्त्रमा पारिएको प्रभाव विशेष रूपमा चर्चामा रहनेछ, किनभने उनी सामेल हुन चाहेको नोबेल पुरस्कार विजेताहरूको समूह जर्मनीको लिण्डाउमा हुने वार्षिक कार्यक्रममा भेला हुँदैछ । यो बैठक ह्वाइट हाउसका लागि असहज हुने खालको हुनसक्छ । प्रसिद्ध नोबेल विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले द गार्डियनलाई भनेका छन्, ‘संयुक्त राज्य अमेरिका लगानीका लागि डर लाग्दो ठाउँ बनेको छ ।’ उनले यस वर्ष भनेका थिए कि प्रशासनको ट्यारिफ नीतिले स्ट्यागफ्लेशन (आर्थिक सुस्ती/वृद्धि नहुने अवस्था) ल्याउने खतरा छ, जसले फेडरल रिजर्भलाई ‘स्पष्ट रूपमा चिन्तित’ बनाएको छ । लिण्डाउको कार्यक्रममा सहभागी हुने अर्का नोबेल विजेता रोजर मायरसन अमेरिकी राजनीतिबाट बढी चिन्तित छन् । उनले द हिलमा लेखेका छन्, ‘जब ठूलो संख्याका मतदाताले केवल एक मात्र पार्टीले आफूलाई ख्याल गर्छ भन्ने विश्वास गर्छन्, उनीहरूले प्रजातन्त्रमा कुनै सरोकार देख्दैनन्’ र आफ्नो नेतालाई असुविधाजनक संवैधानिक सीमा तोड्न समर्थन गर्छन् ।’ त्यस्तै, नोबेल विजेता साइमन जोनसनले पनि अमेरिकी पृथककतावादप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नोबेल प्राइज कनभर्सेसन्स पोडकास्टमा भनेका छन्, ‘यसले मानव पूँजी नष्ट गर्दैछ र भू–राजनीतिक प्रतिस्पर्धीलाई ठूलो फाइदा दिँदैछ । यो ट्रम्प प्रशासनले गरेको आत्मघाती मूर्खतापूर्ण कदम हो ।’ राष्ट्रपति ट्रम्पका लागि यो सजिलो स्रोता समूह हुने छैन । तर उनको शान्ति पुरस्कारको प्रयासमा एक अप्रत्याशित समर्थक भने भेटिएका छन् । पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा पूर्व प्रथम महिला हिलारी क्लिन्टनले हालै भनेकी छिन्– यदि उनले युक्रेन–रुस युद्धलाई ‘युक्रेनले आफ्नो भू–भाग आक्रमणकारीलाई सुम्पनुपर्ने अवस्थामा नपारीु अन्त्य गर्न सके’ म उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकन गर्थें ।’