एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, आम्दानी ६.७९ प्रतिशतले वृद्धि
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका २ प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्ता सम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताए । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा छन् भने चीनका कम्पनीहरू दोस्रो स्थानमा रहेका छन् । उक्त संस्थानका रणनीति तथा डिजिटल अध्ययनका प्राध्यापक माइकल वेडका अनुसार, चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोग उद्योग, स्वास्थ्य उपचार र स्वचालित सवारी साधनजस्ता व्यावहारिक क्षेत्रमा विस्तार गर्न केन्द्रित भएको छ । यसले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । वेडले भने, ‘उन्नत कम्प्युटर चिप्स प्राप्त गर्न कठिनाइ भए पनि चीनले सन् २०१४ देखि २०२३ सम्म ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्तासम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा निकै बढी हो ।’ उनका अनुसार चीन अत्यन्त शक्तिशाली प्रणाली निर्माणभन्दा पनि त्यसलाई सुलभ र व्यावहारिक रूपमा जनजीवनमा प्रयोगमा ल्याउन बढी ध्यान दिइरहेको छ । प्रविधि र सञ्चार क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोगका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् । चीनका प्रविधि र बीमा क्षेत्रका कम्पनीहरू सबैभन्दा सक्षम देखिएका छन्, भने ऊर्जा र निर्माणजस्ता परम्परागत सरकारी उद्योगहरू अझै पछि रहेका छन् । प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता प्रयोगमा परिपक्व कम्पनीहरूले औसत वार्षिक आम्दानी ६.७९ प्रतिशतले वृद्धि गरेका देखाएको छ भने यस प्रविधिमा कमजोर कम्पनीहरूको आम्दानी ०.५१ प्रतिशतले घटेको छ । स्विट्जरल्यान्डमा मुख्य कार्यालय रहेको उक्त संस्थानले लोजान र सिङ्गापुरमा शिक्षण केन्द्र सञ्चालन गर्दै आएको छ र हालै चीनको शेन्जेन शहरमा पनि आफ्नो कार्यदल स्थापना गरेको छ ।
घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य
काठमाडौं । चिनियाँ विद्युत सवारी निर्माता बीवाईडीले आगामी वर्ष अर्थात् २०२६ मा विदेशमा अधिकतम १६ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । सिटी ग्रुपले मंगलबार प्रकाशित प्रतिवेदनमा बीवाईडीले २०२५ बाट दोहोरो अंकको उच्च वृद्धिदरका साथ अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने जनाएको छ । सिटीका अनुसार बीवाईडीको २०२६ को विदेशी बिक्री मार्गदर्शन १५ लाखदेखि १६ लाख युनिटसम्म रहेको छ, जुन २०२५ मा चीनबाहिर बिक्री हुने अनुमानित ९ लाखदेखि १० लाख सवारीभन्दा धेरै वृद्धि हो । यो वृद्धिको प्रमुख कारण नयाँ मोडलहरूको बजार प्रवेश हुने बताइएको छ । सिटीको प्रतिवेदनअनुसार बीवाईडीको ‘विदेशी बिक्री वितरण विभिन्न क्षेत्रहरूमा सन्तुलित’ रहेको छ । युरोप, उत्तर अमेरिका र एएसईएएन (दक्षिणपूर्वी एसियाली देशहरूको संगठन) देशहरूले २०२५ को कुल विदेशी बिक्रीको करिब एक तिहाइ–एक तिहाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ । बीवाईडीको व्यवस्थापनले चालु वर्षको चौथो त्रैमासिकमा पूँजीखर्च अघिल्लो त्रैमासिकको तुलनामा घट्ने र २०२६ मा अझै ठूलो गिरावट आउने अपेक्षा गरेको छ । प्रतिवेदनका अनुसार, ‘सवारी तथा ब्याट्री उत्पादन क्षमता माग पूरा गर्न पर्याप्त हुने भएकाले पूँजी खर्च घट्ने सम्भावना छ । बीवाईडीले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएको छैन । सिटीले भने बीवाईडीको २०२६ को कुल बिक्री लक्ष्य खुलाएको छैन । यसअघि बीवाईडीले घरेलु बजारमा बिक्री घटेपछि २०२५ को लक्ष्य १६ प्रतिशत घटाएर ४६ लाख युनिटमा झारेको थियो । गत महिना मात्रै बीवाईडीले चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट गरेको थियो । यस वर्ष हालसम्म कम्पनीले आफ्ना कुल सवारीमध्ये करिब २० प्रतिशत विदेशमा पठाइसकेको छ, जुन २०२४ को तुलनामा दोब्बर हो । बीवाईडीलाई अहिले चीनकै स्थानीय प्रतिस्पर्धी कम्पनीहरू जस्तै जीली र लिपमोटरसँगको प्रतिस्पर्धामा थप दबाब परेको छ, विशेष गरी सस्तो गाडी बजारमा। पछिल्ला पाँच वर्षमा बीवाईडीले चीनभित्र कम्तीमा आठवटा मेगा कारखाना निर्माण गरिसकेको छ । साथै कम्पनीले हङ्गेरी र ब्राजिललगायत देशहरूमा स्थानीय एसेम्ब्लीका लागि विदेशी कारखाना निर्माण गर्दै आएको छ र युरोपका लागि तेस्रो कारखाना स्थापनाको तयारीमा स्पेनलाई शीर्ष विकल्पका रूपमा राखेको समाचार रोयटर्सले पहिले नै जनाएको छ । पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्ण रूपमा उत्पन्न गरेको दुईवटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, 'सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई–निर्मित र मानव–निर्मित सङ्गीतबीचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्', डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीहरूले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’ महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्नहरू सोधिएको थियो । करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्महरूमा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भने, 'यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दैछन् भनेर थाहा पाउन चाहन्छन् ।' कम्पनीका अनुसार पछिल्ला महिनाहरूमा यसको प्लेटफर्ममा एआई–निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतहरूले ठूलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई–निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई–निर्मित सङ्गीतलाई स्पष्ट रूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्ण रूपमा एआई–निर्मित सामग्रीलाई व्यवस्थित रूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो । पछि मात्र त्यो गीत वास्तवमा एआई–निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकहरूलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ । रासस