पोसम, छेपारो र ट्यारान्टुलासहित भारतीय तस्कर पक्राउ
काठमाडौं । भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक यात्रुबाट लुप्तप्राय वन्यजन्तुहरूको पछिल्लो ‘महत्त्वपूर्ण’ जफत गरेको सरकारी वक्तव्यले जनाएको छ । जफत गरिएका वन्यजन्तुहरूमा छेपारो, सनबर्ड र रूखमा चढ्ने पोसमसहित झन्डै एक सय जीवजन्तु थिए । भन्सार अधिकारीहरूका अनुसार दुई ट्यारान्टुला माकुरा र कछुवा समेत बोकेका यात्रुले भारतको वित्तीय राजधानी मुम्बई आइपुग्दा ‘घबराहटका सङ्केतहरू प्रदर्शन गरेका थिए’ । जुन महिनाको सुरुमा थाइल्यान्डबाट पनि आएका दर्जनौँ विषालु भाइपरहरू तस्करी गर्नबाट एक यात्रुलाई रोकेपछि यो जफत गरिएको हो । जफत गरिएका वन्यजन्तुहरूमा इगुआनासका साथै किन्काजौ वा हनी बियर–मेक्सिकोको वर्षावनबाट आएको सानो रेकुन जस्तो जनावर–साथै अस्ट्रेलियामा फेला परेको ग्लाइडिङ पोसम, छवटा ‘सुगर ग्लाइडर’ समावेश छन् । भन्सार एकाइले जारी गरेको तस्बिरहरूमा छवटा सुगर ग्लाइडर टोकरीमा सँगै बसेका र छेपारोले भरिएको बक्स पनि देखाइएको छ । 'एउटा महत्त्वपूर्ण कारबाहीमा भन्सार अधिकारीहरूले... एक भारतीय नागरिकलाई रोके... जसले गर्दा धेरै जीवित र मृत वन्यजन्तु प्रजातिहरू जफत गरियो, तीमध्ये केही वन्यजन्तु संरक्षण कानून अन्तर्गत संरक्षित छन्', वित्त मन्त्रालयले सोमबार राति एक विज्ञप्तिमा भन्यो । जङ्गली जनावर र बोटबिरुवाको तस्करीसँग लड्ने वन्यजन्तु व्यापार मोनिटर ट्राफिकले मङ्गलबार विदेशी घरपालुवा जनावरको व्यापारद्वारा सञ्चालित तस्करीमा ‘धेरै चिन्ताजनक’ प्रवृत्तिको चेतावनी दिएको छ । पछिल्लो साढे तीन वर्षमा थाइल्यान्ड–भारत हवाई मार्गमा सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको छ । मुम्बई विमानस्थलका भन्सार अधिकारीहरू तस्करी गरिएको सुन, नगद वा गाँजा जफत गर्न बढी अभ्यस्त छन्, तर हालै वन्यजन्तु जफत गर्ने घटनाहरूमा क्रमिक वृद्धि देखिएको छ । भन्सार अधिकारीहरूले जुनको सुरुमा थाइल्यान्डबाट उडेको एक भारतीय नागरिकबाट दर्जनौँ सर्प र धेरै कछुवा जफत गरेका थिए । तिनीहरूमा धेरै स्पाइडर–टेल्ड हन्र्ड भाइपरहरू थिए । स्पाइडर–टेल्ड हन्ड भाइपर विषालु प्रजाति हो जसलाई वैज्ञानिकहरूले सन् २००६ मा मात्र वर्णन गरेका थिए र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) द्वारा ‘लुप्तप्रायको नजिक’ भनेर वर्गीकृत गरिएको छ । ट्राफिकले आफ्नो विश्लेषणले अधिकांश मामिलामा थाइल्यान्डबाट तस्करी गरिएका जनावरहरू समावेश भए पनि ८० प्रतिशतभन्दा बढी अवरोधहरू भारतमा भएको देखाएको छ । 'भारतमा आउने मार्गमा वन्यजन्तुको लगभग साप्ताहिक खोज र विविधता निकै चिन्ताजनक छ', ट्राफिकको दक्षिणपूर्वी एसियाका निर्देशक कनिथा कृष्णसामीले भने, 'पक्राउ परेकामध्ये धेरै जीवित थिए, जसले विदेशी घरपालुवा जनावरहरूका लागि हाहाकारले व्यापारलाई चलाइरहेको देखाउँछ ।' फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँच सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए । भन्सार अधिकारीहरूका अनुसार आइयुसिएनले लुप्तप्राय भनेर सूचीबद्ध गरेको ती साना जीवरू यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको क्रेटमा ‘कुशलतापूर्वक लुकाइएको’ थियो । नोभेम्बरमा अधिकारीहरूले १२ वटा कछुवाको जीवित कार्गो बोकेका एक यात्रुलाई भेट्टाएका थिए । रासस
ट्रम्पको बयानले टेस्लाको सेयरमा ५ प्रतिशत उछाल, मस्कको सम्पत्तिमा १३.९ अर्ब डलरको वृद्धि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा भइरहे पनि ट्रम्पले टेस्ला वा स्टारलिंकबाट पन्छिने पक्षमा आफू नरहेको बताएका छन् । सोमबार उनले दिएकोउक्त अभिव्यक्तिपछि मस्कको कम्पनी टेस्लाको सेयरमा एकाएक ५ प्रतिशतको उछाल आएको छ । सेयर मूल्यमा आएको यो वृद्धिले टेस्लाका सीईओ मस्कको नेटवर्थमा ठूलो प्रभाव पारेको छ । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार मस्कको नेटवर्थमा १३.९ अर्ब अमेरिकी डलरको वृद्धि भएको छ, जससँगै उनको नेटवर्थ अहिले ३५६ अर्ब डलर पुगेको छ । यद्यपि सन् २०२५ को सुरुदेखि अहिलेसम्म मस्कको नेटवर्थमा ७६.२ अर्ब डलरको गिरावट आएको थियो । विश्वकै सबैभन्दा मूल्यवान अटो कम्पनी ९९३.९२ अर्ब डलरको बजार मूल्यका साथ टेस्ला अहिले विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनीको रूपमा चिनिएको छ। बजार मूल्यका आधारमा टेस्ला हाल विश्वकै सबैभन्दा ठूला १० कम्पनीको सूचीमा ११औं स्थानमा छ। सो सूचीको शीर्ष स्थानमा माइक्रोसफ्ट (३.५१३ ट्रिलियन डलर), एनभीडीया (३.४७८ ट्रिलियन), एप्पल (३.०४५ ट्रिलियन), एमेजन (२.३०३ ट्रिलियन) र अल्फाबेट (२.११४ ट्रिलियन) रहेका छन्। त्यसैगरी, मेटा प्लेटफर्म, साउदी अरामको, ब्रोडकम, टीएसएमसी र बर्कशायर हाथवे पनि शीर्ष १० मूल्यवान कम्पनीमा परेका छन्। विश्वका शीर्ष १० धनी व्यक्ति ब्लूमबर्गको सूचीनुसार एलन मस्क ३५६ अर्ब डलरसहित हाल विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । दोस्रो स्थानमा मेटा प्लेटफर्मका सीईओ मार्क जकरबर्ग छन्, जसको नेटवर्थ २४५ अर्ब डलर रहेको छ । त्यस्तै, एमेजनका संस्थापक जेफ बेजोस (२३८ अर्ब डलर), ओराकलका सहसंस्थापक ल्यारी एलिसन (१९९ अर्ब), माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१७६ अर्ब), पूर्व सीईओ स्टिभ बाल्मर (१६३ अर्ब), गुगलका सहसंस्थापक ल्यारी पेज (१५९ अर्ब) र सर्गेई ब्रिन (१४९ अर्ब) पनि शीर्ष १० मा परेका छन् । फ्रान्सेली लक्जरी समूह एलभीएमएचका प्रमुख बर्नार्ड आरनल्ट (१५२ अर्ब डलर) नवौं स्थानमा छन् भने लगानीकर्ता वारेन बफेट (१५४ अर्ब) आठौं स्थानमा छन् । एसियाली अर्बपतिहरूमध्ये भारतका मुकेश अम्बानी १०५ अर्ब डलरसहित १७औं स्थानमा छन् भने गौतम अडानी ८४.८ अर्ब डलरसहित २०औं स्थानमा छन् ।
जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि, पिउने पानीको अभाव
काठमाडौं । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उनका पतिले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै उब्जाएको बताए । भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ । पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी दिने क्षेत्रमा ठूलो असर पारेको छ । तीन एकड (एक हेक्टर) सोयाबिन, कोदो र कपासको जग्गा चर्को गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारहरूको ऋण लाग्यो । यो उनीहरूको खेतको वार्षिक आम्दानीको सयौँ गुणा थियो । उनले गत वर्ष विष खाए । 'जब उहाँ अस्पतालमा हुनुहुन्थ्यो, मैले सबै देवताहरूसँग उहाँलाई बचाउन प्रार्थना गरेँ', ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भने । एक हप्तापछि अमोलको मृत्यु भयो । उनले मीराबाई र तीन सन्तान छोडे । उनीसँग मीराबाईको अन्तिम कुराकानी ऋणका बारेमा नै थियो । कुनै समय उर्वर खेतीयोग्य जमिनका लागि परिचित महाराष्ट्रको एक करोड ८० लाख जनसङ्ख्या भएको मराठवाडाभरि तिनीहरूको व्यक्तिगत त्रासदी दैनिक रूपमा दोहोरिरहेको छ । नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्ट अनुसन्धान समूहका अनुसार गत वर्ष भारतभर चरम मौसमी घटनाहरूले ३२ लाख हेक्टर (७९ लाख एकड) बालीको भूमिलाई असर गर्यो । यो भनेको बेल्जियमभन्दा ठूलो क्षेत्र हो । त्यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो । 'गर्मी चरम हुन्छ र हामीले आवश्यक गरे पनि उत्पादन पर्याप्त हुँदैन', अमोलका भाइ र सहकर्मी किसान बालाजी खिन्डकरले भने, 'खेतमा सिँचाइ गर्न पर्याप्त पानी छैन । ठिकसँग वर्षा हुँदैन ।' जोखिम वृद्धि भारतका कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२ र २०२४ को बीचमा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे । यो दैनिक औसत तीन जनाको हाराहारी हो । सरकारी तथ्याङ्कले किसानहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको कुरा निर्दिष्ट गर्दैन, तर विश्लेषकहरूले धेरै सम्भावित कारकहरूलाई औँल्याएका छन् । 'भारतमा किसान आत्महत्याहरू कृषिमा आम्दानी, लगानी र उत्पादकताको सङ्कटको परिणाम हो', टाटा इन्स्टिच्युट अफ सोशल साइन्सेसका विकास अध्ययनका प्राध्यापक आर रामकुमारले भने । धेरै भारतीय साना खेतहरूमा खेती धेरै हदसम्म शताब्दीयौँदेखि हुँदै आएको छ र सही समयमा सही मौसममा अत्यधिक निर्भर छ । 'जलवायु परिवर्तन र यसको कमजोरी तथा परिवर्तनशीलताले गर्दा खेतीमा जोखिम बढाएको छ', रामकुमारले भने, 'यसले बाली फसल नष्ट, अनिश्चितता... निम्त्याइरहेको छ... जसले साना र सीमान्त किसानहरूको खेतीको अर्थशास्त्रलाई अझ कमजोर बनाएको छ ।' चरम मौसमी घटनाहरूसँग सामना गर्न राम्रो बीमा योजनाहरू र कृषि अनुसन्धानमा लगानीका साथ सरकारले किसानहरूलाई सहयोग गर्नसक्ने उनले बताए । 'कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन', उनले भने । अनिश्चित मौसमको सामना गर्दै किसानहरू प्रायः मल वा सिँचाइ प्रणालीहरूमा लगानी गरेर घट्दो उत्पादनलाई रोक्न खोज्छन् । तर बैंकहरू यस्ता अनिश्चित ऋणीहरूलाई कर्जा दिन अनिच्छुक हुन सक्छन् । केहीले तुरुन्त नगद दिने तर अत्यधिक ब्याजदर लिने साहुकारहरूकहाँ फर्कन्छन् र बाली फसल नष्ट भए विपत्तिको जोखिम मोल्छन् । 'केवल खेतीले मात्र गुजारा चलाउन गार्‍हो छ', मीराबाईले आफ्नो घर बाहिर उभिएर प्याच–कपडाको पर्खाल भएको टिनको छत भएको झुपडीमा भने । उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी पुगेको थियो । कृषि गृहस्थीको औसत मासिक आम्दानी लगभग एक सय २० डलर मात्र रहेको भारतमा यो ठूलो रकम हो । मीराबाईले अन्य खेतहरूमा मजदुरको काम गर्नुहुन्छ तर ऋण तिर्न सकेनन् । 'ऋणको किस्ताहरू थुप्रिँदै गए', उनले भने, 'खेतबाट केही आउँदैन ।' उनले आफ्ना बच्चाहरूले ठूला भएपछि खेती बाहिर काम खोजून् भन्ने चाहेका छन् । कृषि उद्योग दशकौँदेखि निरन्तर सङ्कटमा परेको छ । महाराष्ट्रमा आत्महत्याको दर सबैभन्दा बढी भए पनि यो समस्या देशव्यापी छ । राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्याङ्कअनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले हरेक दिन आत्महत्या गरेका थिए । मराठवाडाको अर्को खेतमा ३२ वर्षीय किसान शेख इमरानले गत वर्ष आफ्नो भाइले आत्महत्या गरेपछि परिवारको सानो जोतको सञ्चालन सम्हालेका थिए । सोयाबिन रोप्न ऋण लिएपछि उनीमाथि पहिले नै एक हजार एक सय डलरभन्दा बढी ऋण छ । फसल असफल भयो । यसैबीच किसानहरूले पानी भेट्ने आशामा इनार विस्फोट गराउँदा विस्फोटकको आवाज वरिपरि गुञ्जिरहेको छ । 'पिउने पानी छैन', पारिवारिक मुखिया खतिजाबीले भने, 'खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने ?' रासस