काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा होटलमा ह्वाइट हाउसका पत्रकारहरूसँग डिनर (कोरेस्पोन्डेन्ट्स डिनर) गरिरहेका थिए, त्यही बेला गोली चलेको आवाज सुनियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हतार–हतार बाहिर निकालियो ।
त्यहाँ उपस्थित एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रममा सातदेखि आठ राउन्ड गोली चलेको थियो ।
केहीबेरपछि डोनाल्ड ट्रम्पले भने, ‘शूटर पक्राउ परिसकेको छ, तर कार्यक्रम जारी रहनुपर्छ।’
यस घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘यो साँझ अब पहिले जस्तो रहेन, यो डिनर फेरि आयोजना गर्नुपर्छ ।’
घटनाको केही समयपछि डोनाल्ड ट्रम्पले आफै शूटर पक्राउ परेको बारे जानकारी दिए ।
उनले ट्रूथ सोसलमा लेखे, ‘वाशिङ्टन डीसीमा साँझ निकै घटनापूर्ण रह्यो । सिक्रेट सर्भिस र कानुन कार्यान्वयन टोलीले उत्कृष्ट काम गरे । उनीहरूले तुरुन्त र साहसिक कदम चाले ।’
‘आक्रमणकारी पक्राउ परिसकेको छ । मैले कार्यक्रम जारी राख्ने सुझाव दिएको छु । तर अन्तिम निर्णय कानुन कार्यान्वयन टोलीले गर्नेछ । उनीहरूले चाँडै निर्णय लिनेछन् । जे निर्णय भए पनि, यो साँझ अब पहिले जस्तो हुने छैन र हामीले यसलाई फेरि आयोजना गर्नुपर्नेछ,’ उनले थपे ।
घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग थप जानकारी गराएका थिए ।
उनले भने, ‘यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रतालाई समर्पित थियो र यसको उद्देश्य सबैलाई जोड्नु थियो । तर एक व्यक्ति धेरै हतियारसहित सुरक्षा चेकपोइन्टमा हमला गर्न आयो । उसलाई सिक्रेट सर्भिसका बहादुर सदस्यहरूले रोके ।’
ट्रम्पले एक सिक्रेट सर्भिस अधिकारीले बुलेट प्रूफ ज्याकेट लगाएकाले ज्यान जोगिएको बताए ।
ट्रम्पले कार्यक्रमअघि कुनै पनि सुरक्षा खतरा भएको जानकारी उनको टोलीलाई थाहा नभएको बताए ।
उनले भने, ‘मलाई यसको उद्देश्य के थियो थाहा छैन, तर संदिग्ध निकै खराब देखिन्छ ।’
डोनाल्ड ट्रम्प वाशिङ्टन हिल्टनमा कुराकानी गरिरहेका देखिन्थे, त्यही बेला टेबलतर्फ हलचल भएपछि उनको कुरा रोकियो ।
ठूलो विस्फोटजस्तो आवाज सुनियो । त्यसपछि सिक्रेट सर्भिसका धेरै सदस्यहरूले ‘तल बस्नुस्’ भनेर निर्देशन दिए ।
डिनरमा उपस्थित पत्रकार ड्यानियल बुशले बताए कि गोलीजस्तो आवाज आएपछि मानिसहरू टेबलमुनि लुके । पहिले ट्रम्पलाई बाहिर लगियो र केहीबेरपछि रक्षामन्त्री पीट हेजसेथसहित वरिष्ठ प्रशासनिक अधिकारीहरूलाई पनि सुरक्षा टोलीले बाहिर निकाले ।
केहीबेरपछि पाहुनाहरू टेबलमुनिबाट बाहिर निस्किएर अवस्था बुझ्न थाले।
ड्यानियल भन्छन्, ‘यो डिनरमा हालसम्मकै पहिलो सुरक्षा चूक हो, सायद पहिलो पटक । र यो पनि पहिलो पटक थियो जब ट्रम्पले राष्ट्रपतिका रूपमा यस कार्यक्रममा भाग लिएका थिए ।’
उनी यस गोलीकाण्डबारे अझै ठूला प्रश्नहरू बाँकी रहेको बताउँछन ।
उनले भने, ‘वाशिङ्टन हिल्टनमा हुने यस कार्यक्रममा हरेक वर्ष राष्ट्रपति, क्याबिनेट मन्त्रीहरू र प्रशासनका उच्च अधिकारीहरू सहभागी हुन्छन् । साथै सयौं पत्रकारहरू पनि उपस्थित हुन्छन् ।’
‘मुख्य हलमा प्रवेश गर्न पाहुनाहरूले विमानस्थलजस्तै सुरक्षा जाँच पार गर्नुपर्छ । होटल बाहिर पनि कडा सुरक्षा व्यवस्था हुन्छ,’ उनले थपे ।
ड्यानियल बुशका अनुसार, ‘यो वाशिङ्टनको सबैभन्दा सुरक्षित कार्यक्रम मानिन्छ । यसअघि कहिल्यै ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनरमा यस्तो घटना भएको थिएन । तर आज रात जे भयो, त्यसपछि यस कार्यक्रमको सुरक्षामा अझ बढी ध्यान दिइनेछ ।’
(बीबीसीबाट अनुदित तथा सम्पादित)