बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

काठमाडौं । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ । राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हाल्नुभएका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उहाँलाई मुख्यमन्त्री पदको शपथ दिलाएका हुन् ।      नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उनले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । यसले राज्य राजनीतिमा लामो समयसम्म उनको प्रभाव देखाएको थियो ।      तर अब ५७ वर्षीय सम्राट चौधरीले उनको स्थान लिँदै बिहारको नेतृत्व सम्हालेका छन् । उनको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।      सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थियो भने पछि सन् २०१८ मा उनी भाजपा प्रवेश गरेका हुन् । सन् २०२३ मा उनलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उनले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।      सन् १९६८ मा जन्मिएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन् । उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित भएका थिए भने आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जितेका थिए ।      पहिले नितिश कुमारका कट्टर आलोचक रहेका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिएका थिए । सन् २०२२ मा उनले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए, जसले उनको आक्रामक राजनीतिक शैली झल्काउँथ्यो ।      आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए ।      सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी/कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ । रासस   

कर धम्कीमा चीनको कडा चेतावनी

काठमाडौं । अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ ।      अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको भेटअघि नै तेहरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् ।      यही दिन अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि सप्ताहन्तमा द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधबाट प्रहार गर्न सकिने मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो ।      तर चीनले यी सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू ‘पूर्णतया बनावटी’ भएको प्रतिक्रिया दिए । उनले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने स्पष्ट पारे ।      चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । विशेषगरी चीन इरानको प्रमुख तेल खरिदकर्ता हो । यद्यपि दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विश्लेषकहरूका अनुसार बेइजिङले इरानसँगको सम्बन्धलाई मुख्यतः आर्थिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने गरेको छ ।      यससँगै चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि बलियो आर्थिक सम्बन्ध कायम राखेको छ । पछिल्लो द्वन्द्वका क्रममा इरानले ती देशहरूलाई लक्षित गरी गरेको आक्रमणप्रति चीनले आलोचना समेत गरेको छ । रासस  

डोनाल्ड ट्रम्पको धम्कीप्रति इरानी सेनाले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । इरानको सेनाले अमेरिकाले उसका बन्दरगाहहरू रोक्ने प्रयास गरे जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । इरानले अमेरिकाका धम्कीहरू ‘अवैध’ भएको र यो ‘समुद्री डकैती’ जस्तै कार्य भएको बताएको छ । समाचार एजेन्सी आईआरआईबीमा जारी वक्तव्यमा इरानले युद्ध समाप्त भएपछि पनि होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण कायम राख्ने जनाएको छ । इरानले स्पष्ट पारेको छ कि शत्रुसँग सम्बन्धित जहाजहरूलाई इरानी समुद्री सीमाबाट गुज्रने अधिकार छैन । खाडी देशहरूलाई चेतावनी दिँदै इरानी सेनाले भनेको छ, ‘क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुनेछ या कसैका लागि पनि हुने छैन । यदि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूलाई निशाना बनायो भने फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित रहने छैनन् ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिँदै अब अमेरिका होर्मुज स्ट्रेटबाट गुज्रने जहाजहरूको नाकाबन्दी गर्ने बताएका थिए । शनिबार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको नेतृत्वमा एउटा कूटनीतिक टोलीले इरानसँग अमेरिकाको युद्ध अन्त्य गर्न सम्झौता गर्ने प्रयास गरेपनि असफल भयो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय आइतबार बिहान ट्रुथ सोशलमा गरिएका शृंखलाबद्ध पोस्टमार्फत सार्वजनिक भयो । उनले लेखेका छन् कि अमेरिका इरानमाथि ‘नेभी ब्लकेड’ गर्नेछ । उनले लेखेका छन्, ‘जो कोहीले होर्मुज स्ट्रेटमा गैरकानुनी टोल तिर्छ, उसलाई खुला समुद्रमा सुरक्षित मार्ग प्राप्त हुने छैन । उनले यो पनि बताएका छन् कि अमेरिका आफ्ना सहयोगी देशहरूको जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न होर्मुज स्ट्रेटबाट बारूदी सुरङ हटाउने कार्य जारी राख्नेछ ।  साथै उनले अमेरिकी सेना उचित समयमा इरानविरुद्ध आक्रमण पुनः सुरु गर्न तयार रहेको पनि बताए ।