भारतकी प्रसिद्ध गायिका आशा भोसलेको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका आशा भोसलेको आइतबार निधन भएको छ ।  उनको ९२ वर्षमा निधन भएको हो । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले भोसलेको निधन भएको पुष्टि गरे । कार्डियाक अरेस्ट भएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो । भोसले‍ भारतीय संगीत जगतकी ठूलो हस्ती हुन् ।  सन् १९४८ मा फिल्म ‘चुनरिया’ मार्फत आशाले पार्श्र्व गायनको दुनियाँमा पाइला राखेकी थिइन् । उनले गीता दत्त र शमशाद बेगमसँग मिलेर आफ्नो पहिलो गीत ‘सावन आया रे’ गाएकी थिइन् । यसको ठीक एक वर्षपछि सन् १९४९ मा फिल्म ‘रात की रानी’ मार्फत उनलाई पहिलो सोलो गीत गाउने अवसर मिल्यो । सन् १९५० को दशकमा उनी नौशाद, सी. रामचन्द्र, शंकर–जयकिशन र एसडी बर्मनजस्ता दिग्गज संगीतकारहरूको उनी पहिलो रोजाइ बनिन् । उनले हजारभन्दा बढी सिनेमामा काम गरेकी छन् भने १० हजारभन्दा धेरै गीत गाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नो असाधारण प्रतिभाका बाबजुद पनि आशा भोसलेले ‘नम्बर दुई’ को स्थानमै सन्तुष्ट हुनुप‍र्यो, किनकि हिन्दी फिल्म उद्योगमा ‘नम्बर एक’ स्थानमा उनकी आफ्नै महान् र दिग्गज दिदी लता मंगेशकर थिइन् । भारत सरकारले आशा भोसलेलाई  पद्म विभूषण र दादासाहेब फाल्के पुरस्कार जस्ता उच्च सम्मानहरू प्रदान गरेको छ ।

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

काठमाडौं । मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर फर्किएको आर्टेमिस द्वितीय अभियानका चार अन्तरिक्ष यात्रीहरू ऐतिहासिक रेकर्डसहित शनिबार हर्षोल्लासपूर्ण वातावरणमा घर फर्किएका छन् । गहिरो अन्तरिक्षमा अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा पूरा गरी उनीहरू नासाको ह्युस्टनस्थित केन्द्रमा अवतरण गर्दा स्वागतका लागि ठूलो जमघट भएको थियो ।      सान डिएगोको समुद्री क्षेत्रमा सफल अवतरणपछि उनीहरूलाई त्यहाँबाट उडाएर जोनसन स्पेस सेन्टर नजिकैको एलिङ्गटन फिल्डमा ल्याइएको थियो । अवतरणपछि सबैभन्दा पहिले परिवारसँग भावुक भेटघाट गरेका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेनले त्यसपछि स्वागत कार्यक्रममा सहभागी हुँदै आफ्नो अनुभव बाँडे ।      नासाका प्रशासक जारेड इसाकम्यानले उनीहरूलाई औपचारिक रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्दै टोलीप्रति सम्मान व्यक्त गरे । कार्यक्रममा नासाका उच्च अधिकारीहरू, उडान तथा प्रक्षेपण निर्देशकहरू, सैन्य अधिकारीहरू, सांसदहरू र वर्तमान तथा पूर्व अन्तरिक्ष यात्रीहरूको उपस्थिति थियो, जसले वातावरणलाई अझ विशेष बनाएको थियो ।      उनीहरूको घर फर्काइ एउटा ऐतिहासिक सन्दर्भसँग समेत जोडिएको थियो । आर्टेमिस टोली अपोलो १३ को प्रक्षेपण भएको ५६औँ वार्षिकोत्सवकै दिन ह्युस्टन फर्किएको हो, जुन मिशन ‘ह्युस्टन, हामीलाई समस्या परेको छ’ भन्ने ऐतिहासिक सन्देशका कारण चर्चित बनेको थियो । त्यो कठिन क्षणलाई सफलतामा परिणत गरेको स्मरणसँगै नयाँ पुस्ताका अन्तरिक्ष यात्रीहरूको उपलब्धि जोडिनु प्रतीकात्मक मानिएको छ ।      कमान्डर वाइसम्यानले आफ्नो अनुभव सुनाउँदै अन्तरिक्ष यात्रा भावनात्मक रूपमा चुनौतीपूर्ण रहेको बताए । उनले प्रक्षेपणअघि यो सपना जस्तो लागे पनि अन्तरिक्षमा पुगेपछि पृथ्वी र आफ्ना प्रियजनहरूसँग फर्कने चाहना झन् प्रबल हुने अनुभव सुनाए । पाइलट ग्लोभरले आफूले भोगेको अनुभव अझै पूर्ण रूपमा आत्मसात गर्न नसकेको प्रतिक्रिया दिए ।      अर्कोतर्फ, ह्यानसेनले यो यात्रालाई मानवता र सहकार्यको प्रतिविम्बका रूपमा व्याख्या गरे । उनका अनुसार टोलीले आपसी विश्वास र प्रेमबाट शक्ति लिँदै यात्रा सम्पन्न गरेको हो । कोचले भने पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा आएको अनुभूति वर्णन गर्दै ब्रह्माण्डको विशाल कालोपनबीच हाम्रो ग्रह जीवन बोकेको एउटा सानो आश्रयजस्तो देखिएको बताए ।      करिब १० दिन लामो यस अभियानमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम दुई लाख ५२ हजार ७५६ माइल (चार लाख छ हजार ७७१ किलोमिटर) दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । यो अपोलो १३ को पुरानो रेकर्डभन्दा बढी हो । चन्द्रमाको पछाडि पुगेर यू–टर्न गर्दै फर्कने क्रममा उनीहरूले मानव आँखाले पहिले नदेखेका दृश्यहरू कैद गरेका थिए । पूर्ण सूर्यग्रहणको दृश्यले यात्रालाई अझ अद्वितीय बनाएको थियो ।      यस क्रममा खिचिएको ‘अर्थसेट’ तस्बिर विशेष चर्चामा छ, जसमा निलो पृथ्वी खैरो चन्द्रमाको पछाडि देखिन्छ । यो तस्बिरले सन् १९६८ मा अपोलो ८ द्वारा खिचिएको प्रसिद्ध ‘अर्थराइज’ तस्बिरको सम्झना दिलाएको छ । यद्यपि, यस्तो ऐतिहासिक सफलताबीच केही चुनौती पनि देखिएका थिए । यात्राका क्रममा अन्तरिक्ष यानको शौचालयमा समस्या देखिएको थियो, जसलाई नासाले आगामी लामो चन्द्र अभियानअघि समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।      यो अभियान सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानवलाई चन्द्र कक्षासम्म पुर्‍याउने उपलब्धि बनेको छ । अपोलो युगमा २४ जना अन्तरिक्ष यात्री चन्द्रमासम्म पुगेका थिए, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए ।      आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले अब थप महत्त्वाकांक्षी योजनाहरू अघि बढाइरहेको छ । अर्को वर्ष आर्टेमिस तृतीय अन्तर्गत चन्द्र अवतरणको तयारी भइरहेको छ भने २०२८ मा आर्टेमिस चतुर्थ मार्फत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने लक्ष्य राखिएको छ ।      नासाका प्रशासक इसाकम्यानले लामो अन्तरालपछि मानव चन्द्र यात्राको पुनरागमन भएको उल्लेख गर्दै नयाँ युगको सुरुआत भएको बताए । उनका अनुसार ५३ वर्षपछि यस्तो उपलब्धिले अन्तरिक्ष अन्वेषणमा नयाँ ऊर्जा थपेको छ । रासस    

परमाणु हतियार त्याग्न इरानले गर्‍यो अस्वीकार, वार्ताबाट बाहिरिए भेन्स

काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्सविहीन टुंगिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले आइतबार बिहान इरानी प्रतिनिधिमण्डलले आणविक हतियार विकास नगर्ने सहमति गर्न अस्वीकार गरेपछि अमेरिकी अधिकारीहरू शान्ति वार्ताबाट बाहिरिएको जानकारी दिए। उनले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी अहिले २१ घण्टादेखि यसमा लागिरहेका छौं र हामीले इरानीहरूसँग धेरै सार्थक छलफल गरेका छौं । त्यो राम्रो खबर हो, तर खराब खबर के हो भने हामी कुनै सम्झौतामा पुग्न सकेनौं ।’ भेन्सका अनुसार इरानले आफ्नो आणविक हतियार खोजी त्याग्न नचाहेको विषय मुख्य अवरोध थियो । उनले भने, ‘हामीलाई उनीहरूले आणविक हतियार नखोज्ने र छिट्टै त्यस्तो हतियार हासिल गर्न सक्षम बनाउने उपकरण पनि नखोज्ने स्पष्ट प्रतिबद्धता चाहिएको छ ।’ उनले यो नै राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट हासिल गर्न चाहेको ‘मुख्य लक्ष्य’ भएको उल्लेख गरे । ‘उनीहरूले हाम्रो शर्त स्वीकार नगर्ने निर्णय गरेका छन्,’ उनले भने । उपराष्ट्रपतिले पछिल्ला २१ घण्टामा ट्रम्पसँग ‘आधा दर्जनदेखि एक दर्जन पटक’  कुराकानी गरेको, विदेशमन्त्री मार्को रुबियो, अर्थमन्त्री स्कट बेसन्ट र अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरसँग पनि सम्पर्कमा रहेको बताए । विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँगै उभिएर बोल्दै उनले भने, ‘हामी टोलीसँग निरन्तर सम्पर्कमा थियौं किनकि हामी सद्भावनाका साथ वार्ता गरिरहेका थियौं ।’ ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव लिएर जाँदैछौं, जुन हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब यसलाई इरानीहरूले स्वीकार गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी छ,’ उनले थपे ।  इरानी सरकारी मिडियाहरूले भने वार्ता विफल हुनुका कारणहरूमा ठूलो मतभेद रहेको बताएका छन्, जसमा देशबाट आणविक सामग्री हटाउने र होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय पनि समावेश छन् । इरानको तस्निम समाचार एजेन्सीले ‘अत्यधिक’ अमेरिकी मागहरूले सम्झौता हुन नदिएको जनाएको छ । यो ऐतिहासिक वार्ता कमजोर दुई साताको युद्धविराम घोषणा भएको केही दिनपछि अन्त्य भएको हो । भेन्सका भनाइले त्यो अवधि सकिएपछि के हुने वा युद्धविराम कायम रहने कि नरहने भन्ने विषयमा स्पष्ट पार्न सकेन  । इरानी संसदका सभामुख मोहम्मद बाघेर कालीबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अमेरिकी र पाकिस्तानी समकक्षीसँग युद्धविरामलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेको थियो । यसबीच इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहमाथि आक्रमण जारी राखेको छ, जहाँ स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनको संख्या २ हजार नाघेको छ । इरानी प्रतिनिधिमण्डल युद्धमा मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलगायतका व्यक्तिहरूको शोकमा कालो पोशाकमा आएको थियो । उनीहरूले अमेरिकी बमबारीमा मारिएका केही विद्यार्थीहरूको जुत्ता र झोला पनि बोकेका थिए, जुन विद्यालय सैनिक कम्पाउन्ड नजिकै रहेको थियो । पेन्टागनले उक्त आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ । वार्ताको पहिलो चरणबारे एक पाकिस्तानी स्रोतले रोयटर्सलाई भन्यो, ‘दुवै पक्षमा मनोदशामा उतारचढाव देखियो र बैठकका क्रममा वातावरण कहिले गरमागरम त कहिले शान्त भयो ।’ अमेरिका–इरान वार्ताका लागि २० लाखभन्दा बढी जनसंख्या भएको इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो, जहाँ हजारौं अर्धसैनिक र सेना सडकमा तैनाथ थिए । होर्मुज जलडमरूमध्य हुँदै अमेरिकी युद्धपोतहरू शान्ति वार्ता भइरहँदा दुई अमेरिकी युद्धपोतहरूले द्वन्द्व सुरु भएयता पहिलोपटक होर्मुज जलडमरूमध्य पार गरेका थिए । अमेरिकी केन्द्रीय कमाण्डले ती जहाजहरू इरानले राखेका समुन्द्री बारुद हटाउने अभियानमा संलग्न रहेको जनाएको छ । मंगलबारदेखि लागू भएको अमेरिका–इरान युद्धविराम दबाबमा परेको छ, किनकि इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल–ग्यास मार्ग मानिने उक्त जलडमरूमध्यमा अधिकांश जहाज आवागमन रोकिरहेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यूएसएस फ्र्याङ्क ई पीटरसन र यूएसएस माइकल मर्फी नामक निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाजहरूले खानी सफा गर्ने अभियान चलाएका छन् । एडमिरल ब्राड कुपरले भने, ‘आज हामीले नयाँ मार्ग स्थापना गर्ने प्रक्रिया सुरु गरेका छौं र छिट्टै समुन्द्री उद्योगसँग सुरक्षित मार्ग साझा गर्नेछौं ।’ यसैबीच ट्रम्पले पत्रकारहरूसँग भने, ‘हामी जलडमरूमध्य सफा गरिरहेका छौं । सम्झौता भयो वा भएन मलाई फरक पर्दैन ।’ तर इरानी मिडियाले भने अमेरिकाको एक सैन्य जहाजलाई फर्कन बाध्य बनाएको दाबी गरेका छन् । शनिबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले चेतावनी दिँदै भनेको छ कि कुनै पनि सैन्य जहाजले होर्मुज पार गर्ने प्रयास गरे ‘कडा प्रतिक्रिया’ दिइनेछ र केवल गैरसैन्य जहाजलाई निश्चित नियमअन्तर्गत मात्र अनुमति दिइनेछ । अर्कोतर्फ एक वरिष्ठ इरानी स्रोतले अमेरिकाले कतार र अन्य विदेशी बैंकहरूमा रहेको रोक्का सम्पत्ति फुकुवा गर्न सहमति जनाएको दाबी गरेको थियो, तर अमेरिकी अधिकारीहरूले तुरुन्तै त्यसलाई अस्वीकार गरेका छन् । तेल ट्यांकरहरूको आवागमन शनिबार तीनवटा विशाल तेल ट्यांकरहरू होर्मुज जलडमरूमध्य हुँदै गइरहेका थिए, जुन अमेरिका–इरान युद्धविरामपछि खाडी क्षेत्रबाट बाहिरिने पहिलो जहाजहरू हुनसक्ने देखिएको छ । फेब्रुअरी अन्त्यदेखि इरानले करिब २० प्रतिशत विश्व तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध गरेपछि ऊर्जा आपूर्तिमा असर परेको र तेल मूल्य बढेको छ । यी जहाजहरूले प्रति जहाज २० लाख ब्यारेलसम्म तेल बोक्न सक्छन् । इरानप्रति ट्रम्पको असन्तुष्टि ट्रम्पले इरानले अझै पनि जहाज आवागमन रोकिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले दुई साताको युद्धविराम घोषणा गर्दा इरानले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्नुपर्ने सर्त राखेका थिए । तर अहिलेसम्म आवागमन लगभग बन्दकै अवस्थामा रहेको छ । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि इरानले ट्यांकरहरूबाट शुल्क लिइरहेको छ भने, त्यो तुरुन्त बन्द गर्नुपर्छ !’ इजरायल–लेबनान वार्ता इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता मंगलबार वासिङ्टनमा सुरु हुने अपेक्षा गरिएको छ । तर लेबनानमा हजारौंले यसको विरोध गरेका छन् । इजरायलले हिजबुल्लाहलाई निःशस्त्र बनाउन लेबनान सरकार जिम्मेवार हुनुपर्ने बताएको छ, तर त्यो सम्भव हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । इरानसँगको युद्धविराममा हिजबुल्लाहसँगको लडाइँ समावेश नभएको इजरायलको अडानले सम्झौता नै असफल हुने खतरा बढाएको छ । युद्धविराम घोषणा भएकै दिन इजरायलले बेरुतमा हवाई आक्रमण गर्दा ३०० भन्दा बढी मानिस मारिएका थिए । कतारको निर्णय कतारको यातायात मन्त्रालयले आइतबारदेखि समुन्द्री आवागमन पूर्ण रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ, तर होर्मुज जलडमरूमध्य खुला भएको हो कि होइन भन्ने स्पष्ट छैन । पोप लियोको प्रतिक्रिया पोप लियो चौधौंले युद्धलाई बढावा दिने शक्तिको भ्रमलाई आलोचना गर्दै राजनीतिक नेताहरूलाई वार्ता गरेर शान्ति स्थापना गर्न आग्रह गरेका छन् । उनले भने, ‘आत्म–पूजा र पैसाको पूजा बन्द गरौं ! शक्ति प्रदर्शन बन्द गरौं ! युद्ध बन्द गरौं !’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित) युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत