चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

काठमाडौं । आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे ।      करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्‍यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो ।      मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्‍याएका थिए ।      नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उनीहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताए । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् ।      ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो ।      छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो ।      यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बनिन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भए । उनीहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गरेका थिए ।      अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी चार लाख छ हजार ७७१ किलोमिटर पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन ।      यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ ।      नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ ।      अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरे । उनले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । रासस     

अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै

काठमाडौं । हालै घोषित दुई हप्ते युद्धविरामपछि मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डल इस्लामावाद पुग्ने भएपछि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई तिब्र बनाएको छ । हप्तौँदेखि बढ्दै गएको द्वन्द्वपछि दीर्घकालीन समाधान खोज्ने कूटनीतिक प्रयासको हिस्साका रूपमा यस वार्तामा दुवै देशका वरिष्ठ अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।  गृहमन्त्री मोहसिन नाक्वीले बिहीबार विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताउनुभएको छ । इस्लामावादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन जुम्ल्याहा सहर इस्लामावाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ भने विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् ।  इस्लामावाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ । उद्धार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखिएको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ भने उनीहरूको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिनेछन् ।  दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् । सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् ।    

क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण

काठमाडौं । उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदमले दक्षिण कोरियामाथि दबाब बढाउने मात्र नभइ, कोरियाली प्रायद्वीपमा तनाव अझ चर्काउने देखिएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार सोमबारदेखि सुरु भएको तीनदिने परीक्षण क्रममा विभिन्न नयाँ हतियार प्रणालीहरूको प्रदर्शन गरिएको थियो । यसमा विमानविरोधी प्रणाली, कथित विद्युत् चुम्बकीय हतियार तथा कार्बन फाइबर बमसमेत समावेश गरिएको उल्लेख छ । विशेषगरी आणविक क्षमता बोकेको ह्वासोङ–११ ब्यालेस्टिक मिसाइलमा जडान गरिएको क्लस्टर वारहेड प्रणालीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।      यो जानकारी दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले दुई दिनभित्रै दोस्रो चरणको प्रक्षेपणमा पूर्वी तटीय क्षेत्रबाट बहुविध क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको एक दिनपछि सार्वजनिक भएको हो । दक्षिण कोरियाको संयुक्त सेना प्रमुखको कार्यालयका अनुसार ती मिसाइलहरू २४० देखि ७०० किलोमिटरसम्म उडेका थिए र समुद्रमा खस्नुअघि विभिन्न दूरी तय गरेका थिए । कम्तीमा एउटा प्रक्षेपण प्योङयाङ नजिकबाट गरिएको पुष्टि गरिएको छ । जापानको रक्षा मन्त्रालयले भने यी प्रक्षेपणहरू आफ्नो विशेष आर्थिक क्षेत्रभित्र नपरेको जनाएको छ । त्यस्तै, अमेरिकी सेनाले पनि ती परीक्षणहरूले तत्कालका लागि अमेरिका वा उसका सहयोगी राष्ट्रहरूलाई प्रत्यक्ष खतरा नदेखिएको प्रतिक्रिया दिएको छ ।      उत्तर कोरियाली दाबीअनुसार, क्लस्टर वारहेड जडित छोटो दूरीका मिसाइलहरूले ६।५ देखि ७ हेक्टर क्षेत्रभित्रका लक्ष्यहरूलाई ‘उच्च घनत्वको आक्रमण’ मार्फत पूर्ण रूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्छन् । यस्तो डिजाइन रूसी इस्कान्डर मिसाइल प्रणालीसँग मिल्दोजुल्दो रहेको पनि जनाइएको छ, जसले मिसाइल प्रतिरक्षा प्रणाली छल्ने उद्देश्य राख्छ ।      दक्षिण कोरियाका संयुक्त सेना प्रमुखका प्रवक्ता जाङ डो–यङले भने यी प्रक्षेपणहरूको विस्तृत विश्लेषण भइरहेको जानकारी दिए । उनका अनुसार अमेरिका र जापानसँग समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ, तर उत्तर कोरियाले दाबी गरेअनुसारको प्राविधिक प्रगतिको स्तरबारे तत्काल निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको बताए ।      यी गतिविधिले उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप चिसिएको सङ्केत दिएका छन् । प्योङयाङले सियोलको वर्तमान सरकारप्रति कटु टिप्पणी गर्दै आफूहरूका लागि दक्षिण कोरिया ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ नै रहने दोहोर्‍याएको छ । उत्तर कोरियाका विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले वार्ता पुनः सुरु गर्ने प्रयासलाई व्यङ्ग्य गर्दै कडा अभिव्यक्ति दिए ।      उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि वासिङ्टन र सियोलसँगको कूटनीतिक संवाद प्रायः बन्द गरेका थिए । त्यसयता उनले आणविक क्षमता भएका मिसाइलहरूको विकासलाई तीव्र बनाउँदै अमेरिका र उसका सहयोगीहरूलाई लक्षित रणनीति अघि बढाइरहेका छन् ।      यसैक्रममा, उत्तर कोरियाले आफ्नो कूटनीतिक पहुँच विस्तार गर्ने प्रयास पनि जारी राखेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि बिहीबार प्योङयाङ पुग्ने कार्यक्रम रहेको छ, जसलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । रासस