पाकिस्तानी ध्वजावाहक विमानद्वारा ५ वर्षपछि बेलायतका लागि पुनः उडान सुरु
इस्लामावाद । बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ। पाकिस्तानी ध्वजावाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब १०० जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लाई सन् २०२० को जुनमा बेलायत, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिका उडानमा रोक लगाइएको थियो । उक्त घातक दुर्घटनामा मानवीय त्रुटि भएको आरोप लगाइएको थियो। बेलायतले जुलाईमा हवाई सुरक्षा मापदण्डहरू सन्तोषजनक र अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप रहेको निष्कर्ष निकाल्दै पाकिस्तानी ध्वजा बाहकहरूमाथिको प्रतिबन्ध हटाएको थियो। इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए । ‘पाँच वर्षको लामो र कठिन ढिलाइपछि आज इस्लामावादबाट म्यानचेस्टरसम्मको उडान पुनः सुरु हुनु भनेको हामीले हाम्रो कडा परिश्रम र दृढताबाट हासिल गरेको उपलब्धि हो,’ आसिफले भने । बेलायतले प्रतिबन्ध लगाएपछिका वर्षहरूमा पाकिस्तानी अधिकारीहरूले पाइलटको प्रशिक्षण, इजाजतपत्र, विमान मर्मत र सुरक्षा प्रोटोकलमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न परिवर्तन गरेको उनले बताए । इस्लामावाद र म्यान्चेस्टरको बीचमा हप्तामा दुई उडान भर्नेबाहेक पिआईएले लन्डन र बर्मिंङ्घमको लागि पनि उडानहरू सञ्चालन गर्ने योजना बनाएको छ। युरोपेली सङ्घ उड्ड्ययन सुरक्षा निकायले सन् २०२४ नोभेम्बरमा पिआईएमाथि लगाइएको प्रतिबन्ध हटाउपछि जनवरीमा पेरिसका लागि उडानहरू पुनः सुरु गर्न एअरलाइन्सलाई अनुमति दिइएको थियो। करिब सात हजार व्यक्तिलाई रोजगारी दिइरहेको पाकिस्तानी ध्वजाबाहक पिआईएले लामो समयदेखि ऋण, कुव्यवस्थापन र नियामक मुद्दाहरूविरूद्ध सङ्घर्ष गर्दै आएको छ। सरकारले एयरलाइन्सलाई निजीकरण गर्ने वाचा गरेको छ, यद्यपि गत वर्ष एक खरीदकर्ता कम्पनीले प्रस्तावित मूल्यभन्दा धेरै कम प्रस्ताव गरेपछि सम्झौता हुन सकेको थिएन । सन् १९५५ मा स्थापना भएको पिआईए कुनै समय पाकिस्तानको राष्ट्रिय गौरव र द्रुत विकासको प्रतीक थियो तर दशकौँदेखिको वित्तीय घाटा र सुरक्षा कमजोरीका कारण यसको प्रतिष्ठा खस्कँदै गएको छ। रासस
पटका पड्काउँदा प्रदूषणले ढाकेको दिल्लीमा कृत्रिम वर्षा गरेर सफा गरिँदै
काठमाडौं । भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा शहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उप्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् । नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा शहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, ‘आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।’ उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । ३ करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ । रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो । बिहीबार बिहान मात्र नयाँ दिल्लीका केही क्षेत्रमा ए: २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ । कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ ।
अमेरिकी प्रतिबन्धपछि भारतमा तेलको मूल्यमा ५ प्रतिशत वृद्धि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनरहरू रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर लागतमा प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताको एक हिस्साका रूपमा रूसी तेल आयात घटाउने सहमति दिएको ट्रम्पले दाबी गरेका छन् । तर, नयाँ दिल्लीले यसबारे औपचारिक पुष्टि गरेको छैन । अगस्टमा ट्रम्पले भारतीय निर्यातमा ५० प्रतिशत कर वृद्धि गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर युक्रेनमा युद्धको कोष जुटाउन सहयोग गरेको आरोप लगाएका छन् । ओएनवाइएक्स क्यापिटलका जोर्ज मोन्टेपेकले भने, ‘प्रधानमन्त्री मोदी अमेरिकी इच्छामा कति झुकिरहनुभएको छ भन्ने मुख्य प्रश्न हो । प्रारम्भिक प्रतिक्रियामा राज्य तेल कम्पनीहरू धेरै सतर्क देखिन्छन् ।’ अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । रूसी तेल भारतको ऊर्जा प्रणालीमा संरचनात्मक रूपमा महत्त्वपूर्ण रहेको छ, जसले कुल आयातको लगभग ३४ प्रतिशत ओगटेको छ र रिफाइनरहरूलाई विशेष छुट प्रदान गर्दछ । केप्लरका अनुसार भारतले सेप्टेम्बरमा रूसबाट प्रतिदिन १६ लाख ब्यारेल भन्दा बढी तेल आयात गरेको थियो । सिङ्गापुरकी तेल बजार विश्लेषक वन्दना हरिले भने, ‘आवश्यक परेमा भारतीय रिफाइनरहरू सजिलै वैकल्पिक आपूर्तिकर्तामा सर्न सक्छन्, तर यसको अर्थ रिफाइनिङ मार्जिनमा दबाब र आयात बिल बढ्नु हो । कमजोर रुपीले यस बोझलाई अझ बढाउँछ ।’ संयुक्त राज्य अमेरिका भारतको शीर्ष व्यापारिक साझेदार हो, तर औपचारिक सम्झौता अझै बाँकी छ । भारतीय व्यापार मन्त्री पियुष गोयलले भने, ‘वासिङ्टनसँग वार्ता प्रगति अवस्थामा छ र निकट भविष्यमा निष्पक्ष र न्यायसङ्गत सम्झौता हुने आशा छ ।’ नोमुराका विश्लेषकहरूले भने रूसी तेलको पुनः क्यालिब्रेसनको निकट-अवधि लागत अमेरिकी शुल्क कटौतीको फाइदाभन्दा बढी हुन सक्ने बताएका छन् ।