भारतमा पटाका उद्योगमा आगलागी हुँदा २० जनाको मृत्यु, ६ घाइते

काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ ।
 
स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले एएफपीलाई बताएअनुसार तामिलनाडु राज्यको विरुधुनगर जिल्लामा रहेको एक कारखानामा भएको घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
 
उनले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले समाचार तयार पार्दासम्म घटनास्थलमा अझै काम गरिरहेको बताए ।  

भारतमा प्रायः सुरक्षा नियमहरूको कमजोर पालना र कमजोर कार्यान्वयनको कारण औद्योगिक दुर्घटनाहरू हुनुलाई सामान्य रूपमा लिने गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पिडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 
 
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद’ भएको बताएका छन् ।  

मध्य भारतको एक विद्युत गृहमा यसै हप्ता भएको विस्फोटमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।

Share News