चीनबाट खनिज आपूर्ति विस्तारै खुल्दै, अझै टरेन संकट
काठमाडौं । जसरी चीनबाट दुर्लभ खनिज चुम्बकहरू पुनः प्रवाहित हुन थालेका छन्, त्यससँगै अटोमोटिभ आपूर्ति शृंखलामा ठूलो स्तरका बन्दको खतरा घट्दै गएको छ । तर अटोमोकर र आपूर्तिकर्ताहरूको भनाइमा उत्पादन योजनाहरू अझै अनिश्चितता र अभावको जोखिममा छन् । युरोपेली आपूर्तिकर्ताहरूले यस महिनाको सुरुमा अनुमान गरिएजस्ता व्यापक अवरोध टार्न पर्याप्त अनुमतिपत्रहरू प्राप्त गरेका छन्, तर सयौं अनुमतिहरू अझै बाँकी रहेको आपूर्तिकर्ता संघ सीएलईपीएका बजार मामिला प्रमुख निल्स पोलले बताए । उनका अनुसार अनुमतिपत्र वितरणको दर ‘तीव्र गतिमा’ बढेको छ- २५ प्रतिशतबाट ६० प्रतिशतसम्म । तर अमेरिकामा अन्तिम प्रयोगकर्ताहरू रहेका वा भारतजस्ता तेस्रो मुलुक हुँदै पठाइने उत्पादनहरूको हकमा प्रक्रिया अझै ढिलो भइरहेको वा प्राथमिकता दिइएको छैन । ‘समग्रमा महसुस गर्न सकिन्छ कि सायद जुलाईमा पनि उत्पादन जारी रहनेछ र असर व्यवस्थापन योग्य हुनेछ,’ पोलले भने, ‘कताकता उत्पादन लाइन प्रभावित हुन सक्छ, तर हाललाई त्यो अवस्था टारिएको छ ।’ शुक्रबार फर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले कोलोराडोमा बोल्दै गत तीन हप्तामा चुम्बक अभावका कारण कम्पनीले आफ्ना केही कारखाना बन्द गर्नुपरेको बताएका थिए तर विस्तृत विवरण भने दिएनन् । फक्सवागनले दुर्लभ खनिज सामग्रीहरूको आपूर्ति स्थिर रहेको उल्लेख गरेको छ भने प्रतिद्वन्द्वी स्टेलान्टिसले तत्कालीन उत्पादन चुनौती समाधान भइसकेको जनाएको छ । चीनले अप्रिलमा अमेरिकाले लगाएको ट्यारिफको प्रत्युत्तरमा सातवटा दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तीन महिना बितिसक्दा पनि चीनले आफ्नो अपारदर्शी र जटिल निर्यात अनुमतिको प्रणाली कसरी नियमन गर्छ भन्ने विषयमा अझै ठूलो अनिश्चितता छ । प्रतिबन्धपछि चीनबाट दुर्लभ चुम्बकहरूको निर्यात करिब ७५ प्रतिशतले घटेको छ, जसका कारण एसिया, युरोप र अमेरिका केही कार उत्पादन लाइनहरू रोकिएका छन् । ह्वाइट हाउसले बिहीबार चीनसँग दुर्लभ खनिज स्वीकृति प्रक्रिया छिटो पार्ने सम्झौता भएको जनाएको थियो, तर विस्तृत जानकारी दिएको थिएन । त्यसपछि केही घण्टामै बेइजिङले पनि यसै महिनाको सुरुमा लन्डनमा भएको सम्झौता पुष्टि गरेको र निर्यात अनुमतिहरू कानुनअनुसार प्रक्रिया हुने बताएको थियो । दुवै पक्षले हालको निर्यात अनुमति प्रणालीमा के-कसरी परिवर्तन गरिने भन्ने विवरण दिएका छैनन् । अमेरिकी ट्रेजरी सचिव स्कट बेस्सेन्टले फक्स बिजनेस नेटवर्कसँग शुक्रबारको अन्तरवार्तामा भनेका छन् कि बिहीबार घोषणा गरिएको सम्झौताअनुसार अघिल्लो पटक नियमितरूपमा आपूर्ति प्राप्त गरिरहेका सबै कम्पनीहरूलाई चीनबाट दुर्लभ खनिज आपूर्ति छिटो गरिनेछ । ‘म अहिले ढुक्क छु । चुम्बकहरू प्रवाह हुनेछन्,’ उनले भने, ‘यो स्थिति सहज बनाउने संकेत हो ।’ दुई साताअघि अटो उद्योग ‘पूर्ण आत्तिएको’ अवस्थामा थियो, तर चीनले अनुमतिपत्रहरू दिन गति बढाएको र अब आकस्मिक बन्दको खतरा घटेको एकजना प्रमुख अमेरिकी अटो आपूर्तिकर्ता र एकजना युरोपेली कार कम्पनीका स्रोतले जानकारी दिए । दुवैले संवेदनशीलताका कारण नाम नखुलाउन भनेका थिए । युरोपेली एक अधिकारीका अनुसार चीनले युरोपेली कम्पनीहरूको उत्पादन रोकावट टार्नका लागि न्यूनतम मात्र महत्त्वपूर्ण अनुमति स्वीकृत गर्दै आएको छ । डेक्स्टर म्याग्नेटिक टेक्नोलोजिजका सीईओ जो स्टपफेलले कम्पनीले अप्रिलदेखि हालसम्म १८० मध्ये मात्र ५ वटा अनुमति पाएको जानकारी दिए, जुन पनि गैर–रक्षा क्षेत्रका लागि मात्र थिए । ‘यो लामो ढिलाइ हो,’ उनले भने, ‘पहिले आपूर्तिकर्ताका लागि कागजात मिलाउन ४५ दिन लाग्छ अनि त्यसपछि झण्डै ४५ दिनपछि मात्र अनुमति आउँछ ।’ सान्दर्भिक सामग्री : ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान
ट्रम्पको दावी- टिकटक किन्न अमेरिकी अर्बपति समूह तयार छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक खरिद गर्न तयार भएका धेरै धनी व्यक्तिहरूको एक समूह रहेको र उनीहरूको परिचय करिब दुई सातापछि खुलाउने बताएका छन् । आइतबार प्रशारित फक्सन्यूजको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । ट्रम्पले उक्त डिल अघि बढ्न बेइजिङको स्वीकृति आवश्यक पर्न सक्ने पनि बताए । तर उनी स्वीकृति हुने पनि विश्वास गर्छन् । ‘मलाई लाग्छ राष्ट्रपति सी (सी जिनपिङ) ले सम्भवतः यो गर्छन् ।’ राष्ट्रपति ट्रम्पले यी टिप्पणीहरू फक्स न्यूजको ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ कार्यक्रममा आफ्नो ‘पारस्परिक’ ट्यारिफहरू फेरि रोक्ने सम्भावनाबारे छलफल गर्दा अनौपचारिक रूपमा गरेका हुन् । सन् २०२४ मा पारित एक कानुनले चिनियाँ स्वामित्वको कम्पनी बाइटडान्सले टिकटकबाट फर्छ्याैट नगरेसम्म अमेरिका भित्र यसको प्रयोग प्रतिबन्ध लगाउने व्यवस्था गरेपछि टिकटकको भविष्य अमेरिका भित्र अनिश्चित बनेको हो । यो कानुन चिनियाँ सरकारले सामग्रीमा हस्तक्षेप गर्न सक्ने र अमेरिकी प्रयोगकर्ताहरूको संवेदनशील डाटामा पहुँच पुग्नसक्ने डरका कारण ल्याइएको थियो । यसै महिनाको सुरुमा ट्रम्पले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबारबाट फर्छ्याैट गर्न थप समय दिएका छन् । नयाँ म्याद सेप्टेम्बर १७ सम्म कायम रहनेछ । सर्वोच्च अदालतले टिकटकसम्बन्धी कानुनलाई मान्यता दिएको केही दिनपछि ट्रम्पले दोस्रो राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । अमेरिकनहरूलाई विदेशी शत्रु-नियन्त्रित एपहरूबाट संरक्षण गर्ने ऐन (पीएएफएसीए) अन्तर्गत यो नियम जनवरी १९ देखि लागू हुने तय गरिएको थियो । त्यसपछि एप स्टोर सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटकलाई समर्थन गरेबापत दण्डित गरिनेछ । टिकटक प्रारम्भिक म्यादअघि नै अमेरिकी बजारबाट हटाइएको थियो, तर ट्रम्पले म्याद थपको आश्वासन दिएपछि पुनस् सक्रिय भएको हो । ट्रम्पले पछिल्लो राष्ट्रपति चुनावमा युवा मतदाताहरूको समर्थन बढाउन टिकटकले मद्दत गरेको भन्दै यो एपलाई नयाँ स्वामित्वमा भए पनि जारी रहोस् भन्ने चाहना व्यक्त गर्दै आएका छन् । टिकटक खरिदमा रुचि देखाउने सम्भावित खरिदकर्ताहरूमा ट्रम्प निकट व्यक्ति ओरेकलका लेरी एलिसनका साथै एपलभिन र पप्र्लेक्सिटी एआई जस्ता कम्पनीहरू छन् । यद्यपि बाइटडान्स टिकटक बिक्री गर्न इच्छुक छ कि छैन भन्ने अझै स्पष्ट छैन । सम्भावित फर्छ्याैटका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने प्रष्ट छ । अप्रिल महिनामा टिकटकको अमेरिकी कारोबार अलग्याउने र बाइटडान्सलाई केही अल्पसंख्यक स्वामित्व कायम राख्न दिने एक प्रस्तावमा छलफल भैरहेको थियो । तर सो प्रस्ताव ट्रम्पले चीनमाथि नयाँ ट्यारिफ घोषणा गरेपछि अवरुद्ध भएको थियो । यसअघि ट्रम्पले अमेरिकी पक्षले टिकटक किन्ने र त्यसपछि ५० प्रतिशत स्वामित्व अमेरिकी सरकारलाई दिने एउटा संयुक्त उपक्रमको प्रस्ताव पनि अघि सारेका थिए ।
थाइल्यान्डबाट जीवित सर्प ल्याउँदै गरेका भारतीय यात्रु मुम्बई विमानस्थलमा पक्राउ
काठमाडौं । मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो । 'भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्', भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने । आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भन्यो, 'थप अनुसन्धान भइरहेको छ ।' जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्नसक्ने विष धेरै कमजोर थियो । तीमध्ये गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए । जुनको सुरुमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका दर्जनौँ विषालु भाइपर तस्करी गर्ने यात्रुलाई रोकेका थिए । केही दिनपछि अधिकारीहरूले छेपारो, सनबर्ड र रूख चढ्ने पोसमसहित एक सय वटा जीव बोकेका अर्का यात्रीलाई रोकेका थिए । जङ्गली जनावर र बोटबिरुवाको तस्करीसँग लड्ने वन्यजन्तु व्यापार मोनिटर ट्राफिकले विदेशी घरपालुवा जनावरको व्यापारद्वारा सञ्चालित तस्करीमा ‘धेरै चिन्ताजनक’ प्रवृत्तिको चेतावनी दिएको छ । पछिल्लो साढे तीन वर्षमा थाइल्यान्ड-भारत हवाई मार्गमा सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको छ । रासस