डोनाल्ड ट्रम्पको रात्रिभोजमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा गोली चलेको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा गोली चलेको हो ।  अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकी सीक्रेट सर्भिसका एक जना अधिकारीलाई गोली लागेको छ । तर, बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेका छन् । अहिले उनको उपचार भइरहेको छ ।  नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए । त्यसपछि पहिले ट्रम्पलाई र रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो ।  सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको खुलेको छ । उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब

इरान । इरानसँग सम्बन्धित युद्धका कारण विश्व बजारमा तेल आपूर्ति गम्भीर रूपमा प्रभावित हुन थालेको छ, जसको प्रभाव अब दैनिक उपभोग्य वस्तुहरूमा पनि स्पष्ट रूपमा देखिन थालेको छ । मध्यपूर्व क्षेत्र विश्वको प्रमुख तेल आपूर्तिकर्ता भएकाले त्यहाँ उत्पन्न भएको तनाव र युद्धले कच्चा तेलको आपूर्ति घटाएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ । तेल केवल इन्धनका रूपमा मात्र प्रयोग हुने होइन, यसबाट बन्ने पेट्रोलियमजन्य रसायनहरू हजारौं वस्तु उत्पादनका आधारभूत कच्चा पदार्थ हुन् । त्यसैले तेल महँगो हुँदा कपडा, खेलौना, जुत्ता, सौन्दर्य सामग्री, औषधि, प्लास्टिकका सामग्री, कम्प्युटर उपकरणदेखि लिएर बालबालिकाले प्रयोग गर्ने रंगीन सामग्रीसम्मको उत्पादन लागत बढ्ने गर्दछ । विशेषगरी पोलिस्टर र एक्रिलिकजस्ता कृत्रिम धागो तथा पदार्थहरू, जुन तेलबाटै तयार गरिन्छन्, तिनको मूल्य वृद्धि हुँदा उद्योगहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । केही उत्पादक कम्पनीहरूले युद्ध सुरु भएको छोटो समयमै कच्चा पदार्थको लागत १० देखि १५ प्रतिशतसम्म बढिसकेको बताएका छन्, जसले आगामी दिनमा वस्तुहरूको खुद्रा मूल्य पनि बढ्ने सङ्केत दिएको छ । यसका साथै पेट्रोल र डिजेलको मूल्य बढ्दा ढुवानी खर्च उच्च भएको छ, जसका कारण खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका आवश्यक वस्तुहरू बजारमा झन् महँगा हुँदै गएका छन् । यात्रा क्षेत्रमा पनि यसको असर परेको छ । हवाई इन्धनको मूल्य वृद्धि भएपछि हवाई सेवा प्रदायकहरूले टिकट दर बढाएका छन्, जसले यात्रुहरूलाई अतिरिक्त आर्थिक भार परेको छ । तेलमा अत्यधिक निर्भर विश्व अर्थतन्त्रका लागि यस्तो युद्धले महँगी दर बढाउने, आपूर्ति श्रृंखला अवरुद्ध गर्ने र सर्वसाधारणको दैनिक जीवनयापन खर्च बढाउने खतरा सिर्जना गरेको छ । यही कारणले इरानसँग सम्बन्धित यो युद्ध केवल सीमित भौगोलिक क्षेत्रमा मात्र नभई विश्वव्यापी आर्थिक अवस्थालाई समेत प्रभावित पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । रासस   

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा चीनको बढ्दो प्रभाव

काठमाडौं । चीन विश्व शिक्षा बजारमा नयाँ प्रमुख विकास केन्द्रको रूपमा उदाउँदै गएको एक प्रतिवेदनले जनाएको छ । बेजिङमा सार्वजनिक गरिएको ‘मानवजातिको साझा भविष्य निर्माणमा योगदान गर्ने चीनमा अध्ययन’ शीर्षकको उक्त प्रतिवेदन चीनको सरकारी समाचार संस्था सिन्ह्वासम्बद्ध थिङ्क ट्याङ्क सिन्ह्वा इन्स्टिच्युटले तयार पारेको हो । प्रतिवेदमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका केही परम्परागत शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको भनिएको छ । यसको सट्टा दक्षिण कोरिया र जापानजस्ता देशहरू अध्ययन गन्तव्यका रूपमा झन् आकर्षक बन्दै गएका छन् । चीनले पछिल्ला वर्षहरूमा ‘शिक्षामा बलियो देश निर्माण’ भन्ने राष्ट्रिय रणनीति अघि सारेको छ । यस रणनीतिअन्तर्गत देशले आफ्नो शैक्षिक प्रणालीलाई निरन्तर सुधार गर्दै क्षमता विस्तार गरेको र शिक्षालाई आधुनिक बनाउने प्रक्रिया तीव्र पारेको प्रतिवेदनमा उल्लेख छ । शिक्षा, अर्थतन्त्र र सामाजिक विकासलाई एकअर्कासँग समन्वय गर्दै अघि बढाउने नीतिका कारण चीनले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने बलियो आधार तयार पारेको बताइएको छ । विश्वविद्यालयहरूको स्तर सुधार, अनुसन्धान क्षमताको विस्तार र अन्तर्राष्ट्रिय सहकार्यका कारण चीन अध्ययनका लागि विश्वका विद्यार्थीहरूका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ । प्रतिवेदन अनुसार हालसम्म चीनले विश्वका एक सय त्रियासी देश तथा क्षेत्रसँग शैक्षिक सहकार्य स्थापना गरिसकेको छ । त्यस्तै, एकसाठी देशसँग शैक्षिक डिग्री आपसी मान्यताको सम्झौता भएको छ र पैँतालीस संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । यसका साथै चीनले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई निरन्तर विस्तार गरिरहेको छ । यसले चीनको शैक्षिक प्रणालीलाई विश्वव्यापी बनाउँदै यसको प्रभाव र पहुँचलाई उल्लेखनीय रूपमा बढाएको प्रतिवेदनले निष्कर्ष निकालेको छ । रासस