किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?
काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ । यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।
जापानमा जन्मदर लगातार घट्दै, जनसङ्ख्या संकट गहिरिँदै
काठमाडौं । जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो । यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ । घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ । देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएका थिए । फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ । रासस
खैबर पख्तुनख्वामा दुई दिनमा २० जनाको गयो ज्यान
काठमाडौं । अफगानिस्तानको सीमामा चुलिँदो तनावकै बीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् । पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ । यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबीच सीमाक्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अधिकांश हमलाको जिम्मा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ । सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चारवटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ । पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनमाथि आफ्नो भूमिमा सक्रिय चरमपन्थी समूहलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार ती समूहले अफगान भूभागलाई पाकिस्तानमाथि आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेका छन् । काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा हिंसा उल्लेख्य रूपमा बढेको छ । सडक किनारमा बम विस्फोट, सुरक्षाकर्मीमाथि लक्षित गोलीबारी र छापा आक्रमणका घटना दोहोरिँदै आएका छन् । आत्मघाती विस्फोटहरूको शृङ्खलापछि पाकिस्तानी सेनाले सीमापार रहेका भनिएका आतङ्कवादी अड्डामाथि कारबाही तीव्र पारेको छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै तनावपूर्ण बनाएको छ ।