एआईमा भारतको लगानी बढ्दै, गुगलको घोषणापछि रिलायन्सले ११ अर्ब डलर लगानी गर्ने

काठमाडौं । भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदार कम्पनीहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्न ११ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । राज्य सरकारले बुधबार यो जानकारी सार्वजनिक गरेको हो । पाँच वर्षमा पूरा हुने भनिएको परियोजना अन्तर्गत एक गिगावाट क्षमताको ठूलो कृत्रिम बुद्धिमत्ता केन्द्र निर्माण गरिनेछ । यही शहरमा गुगलले पनि हालै १५ अर्ब डलर बराबरको सूचना केन्द्र तथा एआई संरचना विकास गर्ने योजनाको घोषणा गरेको छ, जुन अमेरिका बाहिरको उसको सबैभन्दा ठूलो परियोजना मानिन्छ । रिलायन्स, क्यानडाको ब्रुकफिल्ड र अमेरिकास्थित डिजिटल रियल्टी मिलेर बनेको संयुक्त परियोजनाले यो लगानी अघि बढाउनेछ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले भने, ‘यो लगानीले रोजगारी, नयाँ प्रविधि विकास र विश्वस्तरका लगानी आकर्षित गर्ने कामलाई थप गति दिनेछ ।’ राज्य सरकारले जारी गरेको वक्तव्यमा यो परियोजना आन्ध्र प्रदेशलाई उन्नत डिजिटल पूर्वाधार र भविष्यको उच्च क्षमता कम्प्युटिङ प्रविधिको प्रमुख केन्द्रका रूपमा उभ्याउने उल्लेख छ । भारतमा एआई प्रविधिको माग तीव्र रूपमा बढेको छ र यस वर्ष अन्त्यसम्म इन्टरनेट प्रयोगकर्ता नौ सय करोडको नजिक पुग्ने अनुमान गरिएको छ । बढ्दो डिजिटल डाटाको भण्डारण तथा ऊर्जा खपत धेरै हुने एआई प्रणाली संचालनका कारण यस्ता केन्द्रहरूको माग विश्वभर तीव्र रूपमा बढिरहेको छ । यसैबीच, अमेरिकास्थित प्रमुख एआई कम्पनीहरूले पनि भारतमा विस्तार र लगानीका योजना निरन्तर घोषणा गरिरहेका छन् । अक्टोबरमा एआई कम्पनी एनथ्रोपिकले आगामी वर्ष भारतमा कार्यालय खोल्ने जनाएको थियो, र त्यहाँका प्रमुख दारियो अमोडेइले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए । ओपनएआईले पनि यसै वर्ष भारतमा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । संस्थाका प्रमुख साम आल्टम्यानका अनुसार, भारतमा च्याटजीपीटी प्रयोग गत वर्षको तुलनामा चार गुणाले बढेको छ । पप्रलेक्सिटी नामक एआई कम्पनीले जुलाई महिनामा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग साझेदारी गर्दै ३६ करोड प्रयोगकर्तालाई एक वर्षका लागि निःशुल्क प्रिमियम सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गर्दा १० बालबालिका र महिलाको मृत्यु : अफगान तालिबान

काठमाडौं । तालिबान सरकारका प्रवक्ताले अफगानिस्तानको खोस्त प्रान्तमा पाकिस्तानले एक घरमाथि बमबारी गरेको आरोप लगाएका छन् । जुन घटनामा परी १० बालबालिका र महिलाको मृत्यु भएको छ । तालिबानको अन्तरिम सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ‘एक्स’ मा जारी गरेको बयानमा बताएका अनुसार सोमबार र मंगलबारको मध्यरात (करिब १२ बजे) खोस्त प्रान्तको गरबुज जिल्लामा एक ठूलो विस्फोट भएको थियो । बीबीसी उर्दूका अनुसार मुजाहिदले उक्त विस्फोटमा नौ बालबालिका र एक महिला मारिएको दाबी गरेका छन् । उनले मारिएका बालबालिकाहरूको तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले दाबी गरेका छन् कि कुनार र पक्तिया क्षेत्रमा पनि हवाई हमला भएको छ, जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयले बीबीसी पश्तोलाई दिएको जानकारीअनुसार उनीहरूले गएराति अबेर मारवारा, असदाबाद र शेलिटन क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनेका थिए । यो पहिलो पटक होइन कि अफगानिस्तानले पाकिस्तानी सेनामाथि आफ्नै भित्री क्षेत्रमा हवाई हमला गरेको आरोप लगाएको हो । गत महिनाको सुरुतिर पनि अफगानिस्तानले पाकिस्तानले राजधानी काबुलसहित विभिन्न ठाउँमा हवाई हमला गरेको आरोप लगाएको थियो । पाकिस्तानले भने अहिलेसम्म अफगान सरकारका प्रवक्ताले लगाएको आरोपप्रति कुनै प्रतिक्रिया दिएको छैन । अघिल्लो वर्षहरूमा पाकिस्तानले काबुलका ती आरोपहरू अस्वीकार गर्दै आएको छ, जसमा पाकिस्तानी सेना अफगानिस्तानका विभिन्न स्थानहरूमा हमला गरिएको बताइन्थ्यो । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तानभित्र केही सीमावर्ती क्षेत्रमा चरमपन्थीका ठेगानाहरूलाई निशाना बनाएको कुरा स्वीकार गरेको थियो । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गतिविधिका कारण दुवै देशबीच तनावपूर्ण अवस्था कायम छ ।

राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी जिनपिङबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन् । एक ह्वाइट हाउस अधिकारीले सीएनबीसीलाई दिएको जानकारीअनुसार उक्त कुराकानीबारे केही विवरण भने खुलाइएको छैन । कुराकानी किन तय गरिएको हो वा कसले अनुरोध गरेको हो भन्ने पनि स्पष्ट गरिएको छैन ।  ह्वाइट हाउसले छलफलको विषयवस्तु खोलेन तर ट्रम्पले सोमबार पछि ट्रुथ सोसियलमा पोस्ट गर्दै उक्त फोनवार्ताको पुष्टि गरेका थिए । ‘हामीले युक्रेनररुस, फेन्टानाइल, सोयाबिन तथा अन्य कृषि उत्पादनलगायत धेरै विषयमा छलफल गर्यौं । हामीले हाम्रा महान किसानहरूका लागि निकै महत्त्वपूर्ण र राम्रो सम्झौता गरेका छौं  र यो अझ सुधार हुँदै जान्छ । हाम्रो चीनसँगको सम्बन्ध अत्यन्तै बलियो छ,’ उनले लेखेका छन् । ट्रम्पका अनुसार दुबै नेताहरूले पारस्परिक प्रत्यक्ष भेटघाट गर्ने पनि सहमति जनाएका छन् । पहिलो भेट अप्रिलमा बीजिङमा हुनेछ र अर्को राज्य भ्रमण यसै वर्ष अमेरिकामा हुनेछ । ‘हामीले नियमित रूपमा संवाद कायम राख्नु अत्यन्तै आवश्यक छ भन्ने सहमति पनि जनायौं,’ ट्रम्पले लेखेका छन् । यसअघि चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दक्षिण कोरियाको बुसानमा गत महिना भएको भेटपछि दुबै पक्षले ‘सहमति भएका सबै बुँदाहरू कार्यान्वयन गरिरहेको’ उल्लेख गरिएको थियो । उक्त सहमतिमा अमेरिकाले चिनियाँ सामानहरूमा गरिएका केही भन्सार महसुल कम गर्ने र चीनले दुर्लभ खनिजमाथि लगाइने नयाँ निर्यात प्रतिबन्ध स्थगित गर्ने निर्णयसमेत समावेश थियो, जसले दुवै देशबीच जारी व्यापार तनावलाई केही कम गरेको छ । यता चीनले ‘बुसान बैठकयता चीन–अमेरिका सम्बन्ध सामान्य रूपमा स्थिर र सकारात्मक दिशामा अघि बढिरहेको’ जनाएको छ । ट्रम्प र सीबीच युक्रेनबारे पनि छलफल भएको थियो । युक्रेनलाई थ्याङ्क्स गिभिङअघि अमेरिकी प्रशासनले प्रस्ताव गरेको शान्ति योजनामा सहमत गराउने प्रयास भइरहेको छ । त्यस्तै, जिनपिङले ताइवान ‘चीनमा फर्किनुपर्ने’ आफ्नो देशको स्थायी धारणा पनि दोहोर्याए । चिनियाँ विदेश मन्त्रालयका अनुसार ट्रम्पले ‘अमेरिका चीनका लागि ताइवान मुद्दाको महत्त्व राम्रोसँग बुझ्दछ’ भनेका थिए । ट्रम्पले सी जिनपिङलाई ‘महान नेता’ पनि भनेको मन्त्रालयको भनाइ छ ।