बालेनको उदय र नेपालको भविष्यबारे विभिन्न देशका कूटनीतिज्ञले गरे विश्लेषण

बालेन शाहको नेतृत्व र नेपालको राजनीतिक रूपान्तरणबारे एनआईआईसीईले ग‍र्यो बहस

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले प्रधानमन्त्री बालेन शाहको नेतृत्व र नेपालमा भइरहेको राजनीतिक रूपान्तरणको विषयमा अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ । 

‘नेपालको विकसित शासन प्रणाली र अन्तर्राष्ट्रिय दृष्टिकोण’ विषयक उक्त कार्यक्रममा विश्वका २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता तथा विद्वानहरूले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा भारत, अमेरिका, चीन, बंगलादेश, पाकिस्तान, जापान र भुटान लगायतका देशका प्रतिनिधिहरूले नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले विश्लेषण गरे ।

एनआईआईसीईका कार्यक्रम संयोजक विवेकध्वज थापाले नेपाल सरकारको परराष्ट्र नीतिबारे देशभित्र पर्याप्त चर्चा भए पनि बाहिरी विश्वले वर्तमान नेतृत्वलाई कसरी हेरिरहेको छ भन्नेबारे छलफल कम हुने गरेको जानकारी दिए । सोही रिक्तता पूर्ति गर्न विश्वभरका विज्ञहरूलाई एकै थलोमा ल्याइएको उनको भनाइ छ ।

चिनियाँ विज्ञ डा. चाङ चियाडोङले वर्तमान नेतृत्वलाई ‘व्यावहारिक, भ्रष्टाचारविरोधी र जनकेन्द्रित’ भएको बताए । उनले यो शासन शैलीले युवा पुस्तासँग गहिरो सम्बन्ध स्थापित गरेको र प्रत्यक्ष प्रशासनतर्फको परिवर्तनको संकेत गरेको उल्लेख गरे ।

भारतका पूर्वराजदूत मन्जीव सिंह पुरीले नेपालको रूपान्तरणमा सामाजिक सञ्जाल र युवा आकांक्षाको ठूलो हात रहेको बताउँदै द्विपक्षीय सम्बन्धलाई आर्थिक सहकार्य र सम्पर्क सुदृढीकरणमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले यसलाई ‘नयाँ पुस्ताद्वारा सञ्चालित निरन्तर राजनीतिक विकास’ को संज्ञा दिए ।

अमेरिकाका डा. रोब योर्कले नेपालले चीन र भारतबीच अपनाएको रणनीतिक सन्तुलनलाई विश्वले नजिकबाट हेरिरहेको बताए । उनले युवामुखी नीति नल्याए राजनीतिक अस्थिरता बढ्न सक्ने चेतावनीसमेत दिए ।

बंगलादेशका डा। साहाब इनाम खानले बालेन शाहको नेतृत्वले युवाहरूको आकांक्षालाई चुनावी सफलतामा बदल्न सफल भए पनि संस्थागत सुदृढता र स्पष्ट वैचारिक ढाँचाको अभावले दीर्घकालीन चुनौती निम्त्याउन सक्ने विश्लेषण गरे ।

युरोपेली संघकी जोएल हिभोनेटले नेपालको परिवर्तनलाई लोकतान्त्रिक संक्रमणको महत्त्वपूर्ण उदाहरण मानिन् भने पाकिस्तानकी डा. आम्ना खानले नेपाललाई क्षेत्रीय सहकार्यको नमुनाका रूपमा प्रस्तुत गरिन् ।

नेपालको राजनीतिक रूपान्तरणलाई विश्वले निकै आशावादी दृष्टिले हेरेको वक्ताहरूले बताएका थिए । अन्ततः, जनआकांक्षाको सम्बोधन, बलियो संस्थागत आधार र समग्र स्थिरता नै यसको दीर्घकालीन सफलताका निर्णायक कडी हुनेछन् ।

Share News