गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी

काठमाडौं । सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको युरोप भ्रमणअघि गाजामा ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिएको एकसय भन्दा बढी सहायता संस्थाहरूले बुधबार चेतावनी दिएका छन् । इजरायलले प्यालेस्टिनी क्षेत्रको मानवीय अवस्थालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । इजरायलमा हमासको आक्रमणबाट सुरु भएको लामो द्वन्द्वमा २० लाख भन्दा बढी मानिसहरूले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् ।  संयुक्त राष्ट्रसङ्घले मे महिनाको अन्त्यमा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनले काम सुरु गरेदेखि खाद्यान्न सहायता खोज्ने एक हजारभन्दा बढी प्यालेस्टिनीहरूको इजरायली सेनाले हत्या गरेको छ । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) सेभ द चिल्ड्रेन र अक्सफाम लगायत १११ हस्ताक्षरकर्ताहरूले जारी गरेकोे सयुक्त विज्ञप्तिमा सहकर्मीहरू र सेवामा चुनौती खेपिरहेको जनाएका छन् । विज्ञप्तिमा तत्काल वार्ता युद्धविराम, सबै सिमा नाकाहरु खोल्न र राष्ट्रसङ्घको नेतृत्वको संयन्त्रमार्फत सहायताको स्वतन्त्र प्रवाहको लागि आह्वान गरेका छन् ।  संयुक्त राज्य अमेरिकाले आफ्ना दूत स्टिभ विटकोफ यस हप्ता गाजासम्बन्धमा वार्ताका लागि युरोप जाने र त्यसपछि मध्य पूर्वको भ्रमण गर्नसक्ने बताएको एक दिन पछि यस्तो चेतावनी आएको हो । विदेश विभागका प्रवक्ता टेमी ब्रुसले अर्को युद्धविरामका साथै सहायताको प्रवाहका लागि मानवीय कोरिडोरका साथ अगाडि आउने बलियो आशा लिएर आएको बताएका छन् ।   मे महिनाको अन्त्यमा इजरायलले दुई महिनाभन्दा बढीको नाकाबन्दी खोली सिमित सहायता  प्रवाह गर्न थालेपछि पनि गाजावासीहरू अझै पनि चरम अभावको सामना गरिरहेका छन् ।  इजरायलले गाजामा मानवीय सहायताको अनुमति दिइरहेको बताएको छ भने हमासले बढ्दो मूल्यमा बेच्नका लागि खाद्यान्न चोरी गरेर वा सहायताको प्रतीक्षामा रहेकाहरूलाई गोली हानेर नागरिकको शोषण गरेको आरोप लगाएको छ । रासस

धनीको शीर्ष स्थानबाट हट्न सक्छन् मस्क, ओरेकलका संस्थापक एलिसनले दिए चुनौती

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको गद्दी अहिले संकटमा परेको छ । यस वर्ष उनको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आएको छ । यति ठूलो गिरावट आए पनि उनी अझै पनि ३७३ अर्ब डलर नेटवर्थका साथ पहिलो स्थानमा कायम छन् । तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ । यो परिवर्तनको कारण सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन हुन्, जसको नेटवर्थ तीव्र गतिमा बढिरहेको छ ।  ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार मंगलबार एकैदिन इलिसनको नेटवर्थ २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको नेटवर्थ २८९ अर्ब डलर पुगेको छ । यदि यस्तै गति कायम रह्यो भने उनी आगामी तीन दिनमै एलन मस्कलाई उछिनेर पहिलो स्थानमा पुग्न सक्छन् । हाल मस्क र इलिसनबीच ८४ अर्ब डलरको अन्तर छ । इलिसनको नेटवर्थ यस वर्ष मात्रै ९६.८ अर्ब डलरले बढिसकेको छ । ८० वर्षीय इलिसनसँग ओरेकल कम्पनीको करिब ४० प्रतिशत सेयर स्वामित्व छ ।  झण्डै ३७ वर्षसम्म कम्पनीको बागडोर सम्हालेपछि उनले २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । साथै उनी डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्ड सदस्य पनि थिए । इलिसनले सन् २०१२ मा हवाई द्वीपमा ३०० मिलियन डलरमा एउटा टापु किनेर २०२० देखि त्यहाँ स्थायी रूपमा बसोबास गर्न थालेका छन्। धनीहरूको सूचीमा अरू पनि फेरबदल भएका छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफम्र्सका सीईओ मार्क जुकरबर्ग अब चौथो स्थानमा झरेका छन् । मंगलबार उनको नेटवर्थमा २।७९ अर्ब डलरको गिरावट आएर कुल नेटवर्थ २४८ अर्ब डलरमा झरेको छ । यसैबीच अमेजनका संस्थापक जेफ बेजोस २४९ अर्ब डलर नेटवर्थका साथ तेस्रो स्थानमा पुगेका छन् ।

अमेरिका-जापानबीच ‘सबैभन्दा ठूलो व्यापार सम्झौता’, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका छन् । जसअनुसार जापानी निर्यातमा अमेरिका प्रवेश गर्दा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार दर लाग्नेछ । रिपोर्टअनुसार जापानी सवारीसाधनमा लाग्ने भन्सार पनि १५ प्रतिशतमा झारिनेछ । ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यस सम्झौतालाई ‘सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता’ भनी व्याख्या गरे । उनले भने, ‘जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्नेछ र अमेरिका त्यसबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।’ ट्रम्पका अनुसार जापानले ‘आफ्नो बजार सवारीसाधन, ट्रक, चामल, कृषि वस्तुहरू र अन्य सामग्रीका लागि खुला गर्नेछ ।’ उनले थपे, ‘यस सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ ।’ जापानले भन्सार दर घटायो रोयटर्सका अनुसार जापानी प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोबाट अमेरिका निर्यात हुने सवारीसाधनमा लाग्ने भन्सार दर हालको २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने बताएका छन् । सन् २०२४ मा जापानको कुल निर्यातमध्ये २८।३ प्रतिशत सवारीसाधन अमेरिका पठाइएको थियो । एननेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकबसेनले सीएनबीसीसँग भने, ‘एक वर्षअघि १५ प्रतिशत भन्सार दर अचम्मको कुरा हुन्थ्यो। तर आज राहतको सास फेर्न सकिन्छ ।’ जापानको अमेरिका निर्यातमा आधारित अटोमोबाइल कारोबार २०२४ को जुन महिनामा २६‍.७ प्रतिशतले घटेको थियो, जबकि मे महिनामा यो गिरावट २४.७ प्रतिशत थियो ।  जनवरीदेखि जुनसम्म अमेरिका पठाइएको कुल जापानी सामानको मूल्य १०.३ ट्रिलियन येन (७०.३४ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो । घोषणापछि जापानका मुख्य व्यापार वार्ताकार रियोसेई अकाजावाले एक्स (पुरानो ट्वीटर) मा ‘मिसन अकम्प्लिश्ड’ लेख्दै सम्झौतामा संलग्न सबैलाई धन्यवाद दिए । ट्रम्पले ट्रुथ सोशलमा पोस्टपछि दिएको सम्बोधनमा भनेका छन्, ‘हामी जापानसँग तरल प्राकृतिक ग्याससम्बन्धी छुट्टै सम्झौता पनि टुंग्याउँदैछौं ।’ ‘हामीसँग युरोप सम्झौता पनि भोलि आउँदैछ, उनले थपे । तर उनले थप विवरण भने खुलाएनन् । राजनीतिक संकटको बीचमा सम्झौता यो सम्झौता जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनको बहुमत गुमाएपछि आएको हो, जसले प्रधानमन्त्री इसिबाको नेतृत्वलाई सुदृढ पार्न सक्ने विश्लेषण गरिएको छ । हालै इसिबाले भनेका थिए कि उनी प्रधानमन्त्रीको रूपमा रहने छन्, तर जापानको माइनिची समाचारपत्रका अनुसार उनले अगस्टभित्र राजीनामा दिने तयारी गरिरहेका छन् । यामियोरी पत्रिकाका अनुसार इसिबा भन्सार वार्ताको प्रगति मूल्यांकन गरेपछि मात्र आफू बस्ने वा नबस्ने निर्णय गर्नेछन् । एचएसबीसी बैंकले दिएको टिप्पणीमा भनिएको छ, ‘प्रधानमन्त्री इसिबाका लागि यो अनुकूल अमेरिकी व्यापार सम्झौताले अविश्वास प्रस्ताव वा पार्टीभित्रको चुनौतिबाट जोगिन मद्दत गर्न सक्छ ।’ सम्झौतापछि जापानी सेयर बजार उकालो लाग्यो । निक्केई २२५ सूचकांक २ प्रतिशतभन्दा बढीले बढ्यो भने प्रमुख अटो कम्पनीहरूको सेयरमा तीव्र वृद्ध‍ि आयो ।  टोयोटामा ११ प्रतिशत, होन्डामा ८ प्रतिशत, निसानमा ८ प्रतिशत, माज्डाका मोटर्स १७ प्रतिशत र मित्सुबिसी मोटर्समा १३ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यसअघि जापानलाई पठाएको पत्रमा अगस्ट १ बाट जापानी निर्यातमा २५ प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए । विसडमट्रीका ग्लोबल मुख्य लगानी अधिकृत जर्मी श्वार्ट्जका अनुसार बजारमा देखिएको तीव्र प्रतिक्रिया यसको संकेत हो कि पहिले बजार अत्यधिक निराशावादी थियो ।