ट्रम्पको दाबी र इरानको चेतावनी : होर्मुज स्ट्रेटमा बढ्दो तनावबीच वार्ताको भविष्य संकटमा

युद्ध जितिरहेको इरानको दावी

काठमाडौं । इरानको विदेश मन्त्रालयले इरानले अहिलेसम्म अमेरिकासँगको वार्तामा सहभागी हुनेबारे कुनै निर्णय नगरेको जनाएको छ ।

यता अमेरिकाले भने उक्त वार्तामा सहभागी हुने जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल इस्लामाबाद जाने जानकारी दिएका छन् । उता पाकिस्तानमा वार्ताका लागि तयारी तीव्र बनाइएको छ र आयोजनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले युद्धविराम सुरु भएदेखि नै त्यसको उल्लंघन गरेको छ ।’

इस्माइल बकाईले चेतावनी दिँदै भने, ‘इरानले कुनै समयसीमा वा अल्टिमेटम स्वीकार गर्ने छैन र यदि अमेरिका वा इजरायलले कुनै कदम चाल्छ भने इरानले शक्तिशाली जवाफ दिनेछ ।’

यता इरानी सांसदका अध्यक्ष तथा वार्ता टोलीका प्रमुख मोहमद बाघेर गालिबाफले अमेरिकाले नौसैनिक नाकाबन्दी नहटाए हर्मुज स्ट्रेटमा आवागमन सीमित रहने चेतावनी दिए।

गालिबाफले फेरि एकपटक लेबनानमा भएको युद्धविरामलाई इरान–अमेरिका सम्झौतासँग जोड्दै भने, ‘प्रतिरोध मोर्चा’ युद्धमा इरानलाई सहयोग गर्न आएको थियो, त्यसैले युद्धविराममा उनीहरूलाई पनि अनिवार्य रूपमा समावेश गरिनु पर्ने थियो ।’

लेबनानमा हिज्बुल्लाह, यमनमा हुथी विद्रोही र गाजामा हमासलाई इरानको समर्थन छ ।

यो घटना त्यस्तो समयमा भएको हो जब इरान र अमेरिकाबीच तनाव पुनः बढेको छ र हर्मुज स्ट्रेट फेरि बन्द भएको छ । यसले इजरायल–लेबनान युद्धविराम अझ नाजुक देखिएको छ । यसैबीच, इजरायली सेनाले युद्धविरामपछि आफ्नो दोस्रो सैनिक मारिएको घोषणा गरेको छ ।

ट्रम्पको हालैको भनाइ, ‘इरान अमेरिकाका सबै मागहरूमा सहमत हुनेछ’  पछि इरानमा विभिन्न प्रतिक्रिया आएका छन् र वार्ता तथा अमेरिकी मागअगाडि झुक्ने वा नझुक्ने विषयमा विभिन्न समूहबीच मतभेद देखिएका छन्।

शनिबार राति मोहमद बघेर गालिबाफले पहिलोपटक इरानी टेलिभिजनमार्फत इस्लामाबादमा भएको इरान–अमेरिका वार्ता र इरानको धारणा विस्तृत रूपमा प्रस्तुत गरे ।

गालिबाफको भनाइ त्यतिबेला आएको हो जब इरानका कट्टरपन्थी समूहहरूले अमेरिकासँगको वार्ताबारे सरकार ‘स्पष्टीकरण दिन असफल भएको’ भन्दै कडा आलोचना गरेका थिए ।

उनले कार्यक्रममा भने, ‘यदि मैले आफ्ना प्रियजनहरूसँग पहिले कुरा गर्न पाएको भए राम्रो हुन्थ्यो, तर दुर्भाग्यवश व्यस्तता र कामको दबाबले त्यो अवसर मिलेन ।’

‘हामी यो युद्ध जितिरहेका छौं’

गालिबाफले हर्मुज स्ट्रेटमा बारूदी सुरुङ हटाउन अमेरिकासँग सहकार्य गर्न अस्वीकार गर्दै इरानले उक्त स्ट्रेट नियन्त्रणमा राखेको बताए ।

उनले भने, ‘अमेरिकाले केही दिनदेखि नाकाबन्दी घोषणा गरिरहेको छ, यो मूर्खतापूर्ण र अज्ञानतापूर्ण निर्णय हो । अरूले हर्मुज स्ट्रेटबाट आवतजावत गर्न सक्छन् र हामी सक्दैनौं भन्ने सम्भव छैन ।’

‘यदि अमेरिकाले नाकाबन्दी हटाउँदैन भने हर्मुज स्ट्रेटमा आवागमन निश्चित रूपमा सीमित हुनेछ,’ उनले थपे ।

पाकिस्तानमा रहेका इरानका शीर्ष वार्ताकारका अनुसार ‘प्राविधिक क्षेत्रमा करिब १८० ड्रोनलाई निशाना बनाइएको छ ।’ उनले भने, ‘अघिल्लो युद्धमा हामीसँग रक्षा क्षेत्रमा यस्तो क्षमता थिएन ।’

‘एफ–३५ लाई निशाना बनाउनु दुर्घटना होइन, यो प्राविधिक र डिजाइनसँग सम्बन्धित योजना अनुसारको अपरेसन हो । मिसाइल विस्फोटले शत्रुलाई हाम्रो क्षमता र दिशा स्पष्ट पारेको छ,’ उनले थपे ।

आईआरजीसीले सार्वजनिक गरेको भिडियोमा एउटा एफ–३५ विमानको पच्छाइरहेको देखाइएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका प्रवक्ताले बीबीसीलाई बताएअनुसार ‘इरानमाथि लडाकु मिसन पूरा गरेपछि एक अमेरिकी एफ–३५ विमानलाई मध्यपूर्वस्थित अमेरिकी अड्डामा आकस्मिक अवतरण गर्न बाध्य बनाइएको थियो ।’

गालिबाफले अमेरिका र इजरायलको सैन्य श्रेष्ठता स्वीकार गरे पनि इरानले आफ्नै तरिकाले सामना गरेको बताए । उनले भने, ‘हामीले असमान युद्ध लड्यौं र आफ्नो योजना र तयारीका आधारमा शत्रुलाई पछाडि धकेल्यौं ।’

उनले दाबी गरे, ‘हामी यो युद्ध जितिरहेका छौं ।’

उनका अनुसार अमेरिका र इजरायलका लक्ष्यहरूमा ुइरानलाई आत्मसमर्पण गराउनुु, ुशासन परिवर्तन गर्नुु, ‘इरानको मिसाइल क्षमता नष्ट गर्न’ र ‘सीमाबाट विद्रोही भित्र्याउन’ समावेश थिए ।

इरानी संसदका अध्यक्षले भने, ‘अमेरिका ईरानको आत्मसमर्पण चाहन्थ्यो र दुई–तीन दिनको कुरा गरिरहेको थियो तर ४० दिनपछि उसैले युद्धविरामको प्रस्ताव राख्यो। ‘हाम्रा माग स्वीकार भएकाले युद्धविराम मान्य गरियो।’

गालिबाफका अनुसार इस्फहानमा अमेरिकी सैन्य बलसँग भएको घटना तबसको घटनाभन्दा पनि गम्भीर थियो ।

अमेरिकाले विशाल सैन्य अपरेसनमार्फत दुई एफ–१५ पाइलटको उद्धार गरेको र केही विमान नष्ट गरेको दाबी गरे पनि इरानी सञ्चारमाध्यमले फरक विवरण सार्वजनिक गरेका छन् ।

गालिबाफले वार्तालाई जायज ठहर गर्दै भने, ‘मैदानमा हाम्रो पक्ष बलियो छ, त्यसैले ट्रम्पले युद्धविरामको आह्वान गरेका हुन् ।’

उनले भने, ‘आज हामीसँग क्षेत्र, सडक र कूटनीतिमा प्रभाव छ र यी सबै आपसमा जोडिएका छन् ।’

उनका अनुसार ‘दुश्मनले युद्धविरामको माग गरिरहेको थियो र हामीले त्यसलाई स्वीकार गर्नुको कारण उनीहरूले हाम्रा मागहरू स्वीकार गर्नु थियो ।’

गालिबाफले लेबनानको युद्धविरामबारे पनि चर्चा गर्दै भने, ‘हिज्बुल्लाहले हालको युद्ध इस्लामी गणराज्यको रक्षाका लागि लडेको हो, त्यसैले युद्धविराममा उनीहरूलाई पनि समावेश गर्नुपर्थ्यो ।’

इस्लामाबादमा सुरु भएको युद्धविराम र इरान–अमेरिका वार्ताको सुरुदेखि नै लेबनान समावेश हुने वा नहुने विषयमा विरोधाभासी दाबीहरू भइरहेका थिए । अन्ततः लेबनानमा युद्धविराम बिना नै वार्ता सुरु भयो र इजरायलले त्यहाँ हिज्बुल्लाहका लक्ष्यमा आक्रमण जारी राख्यो ।

ट्रम्पले ६ हप्ताको संघर्षपछि १७ अप्रिलमा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरेका थिए ।

१४ अप्रिलमा वाशिङ्टनमा इसरायल र लेबनानका राजदूतहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको उपस्थितिमा ‘ऐतिहासिक’ वार्ता गरेका थिए, जसपछि युद्धविराम घोषणा गरिएको थियो ।

‘उनीहरू सबै कुरामा सहमत भएका छन्’

२८ फेब्रुअरीबाट सुरु भएको अमेरिका–इजरायल युद्धको ४० दिनपछि अमेरिकाले ८ अप्रिलमा दुई हप्ताको युद्धविराम घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी पूर्वाधारमा आक्रमण गर्ने कडा चेतावनीपछि यो युद्धविराम भएको हो ।

११ र १२ अप्रिलमा इस्लामाबादमा भएको इरान–अमेरिका वार्ता कुनै सम्झौताविना समाप्त भयो र उपराष्ट्रपति जेडी भेन्स नेतृत्वको अमेरिकी टोली पाकिस्तानबाट फर्कियो ।

दुवै पक्षले वार्ता असफल हुनुमा एकअर्कालाई दोष लगाए, तर कसैले पनि वार्ता जारी रहने सम्भावना पूर्ण रूपमा अस्वीकार गरेनन् । यद्यपि अर्को चरणको मिति तय गरिएको थिएन ।

गलिबाफको नेतृत्वमा ठूलो इरानी प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको थियो । उनका अनुसार, ‘यस चरणको वार्तामा अमेरिका इरानी टोलीको विश्वास जित्न असफल भयो ।’

उपराष्ट्रपति जेडी भेन्सले पनि अमेरिकी मागहरू स्पष्ट रूपमा प्रस्तुत गरिएको बताएका थिए । इरानको परमाणु कार्यक्रमलगायत आधारभूत मतभेदका कारण वार्ता असफल भएको देखिन्छ ।

१३ अप्रिलमा अमेरिकाले हर्मुज स्ट्रेटमा नियन्त्रण लिएको र इरानमाथि नौसैनिक नाकाबन्दी लगाएको घोषणा गर्यो, जसले इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजहरूलाई रोक्यो ।

१५ अप्रिलमा ट्रम्पले वार्ताको दोस्रो चरणको सम्भावना सार्वजनिक गरे ।

उही दिन पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीर उच्चस्तरीय प्रतिनिधिमण्डलसहित तेहरान पुगे, जहाँ उनलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरे ।

१७ अप्रिलमा ट्रम्पले इरान युरेनियम सम्वर्द्धन रोक्न सहमत भएको दाबी गर्दै भने, ‘उनीहरूले आफ्ना सबै समृद्ध युरेनियम भण्डार सुम्पन सहमति जनाएका छन्, उनीहरू हरेक कुरामा सहमत भइसकेका छन् । (बीबीसीबाट अनुदित तथा सम्पादित)

हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै

Share News