ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

रियो डि जेनेरियो । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ । यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ । रासस/सिन्ह्वा

फ्रान्समा एकैदिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण, अहिलेसम्मकै बढी

काठमाडाैं । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो ।फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिएका छन् । यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् । युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ । (रासस/सिन्ह्वा)

अष्ट्रेलियामा कोभिडबाट एकैदिनमा ७४ जनाको मृत्यु, अहिलेसम्मकै धेरै

सिडनी । अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् । यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्ह्वा