द्विपक्षीय सहयोगका लागि नेपाल र अमेरिकाले आधारशीला तय गर्ने

वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए । साथै, अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गरे । यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेका छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौं ।’ यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छिन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो । नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ । रासस

दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा सङ्क्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् ।यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी सङ्क्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ । गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा सङ्क्रमितहरु देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः सङ्क्रमितहरु बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ पछिल्ला दुई दिनमा १५ जना सङ्क्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३ पुगेको छ । कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ ।

डिजिटल मुद्रा ई-रुपी ल्याउने भारतको तयारी

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले डिजिटल करेन्सी अर्थात् मुद्रामा ब्लकचेन प्रविधिको प्रयोग गर्ने सम्भावना छ। केही समयअघि आरबीआईले विशेष प्रायोजनका लागी ई रुपी अथवा सीबीडीसी (सेन्ट्रल बैंक डिजिटल करेन्सी) सुरु गर्ने सङ्केत दिएको थियो। यो खुद्रा र होलसेल कारोबारका लागि प्रयोग हुनेछ। ई-रुपीले भारतमा कारोबारको प्रणालीलाई नयाँ उचाइ दिने ठानिएको छ। सर्वसाधारण र व्यापारीले धेरै प्रकारले डिजिटल मुद्राको प्रयोग गर्न सक्ने ठानिएको छ। आरबीआईको योजना के हो ? आरबीआईले सीबीडीसी अर्थात् सेन्ट्रल ब्याङ्क डिजिटल मुद्रा लेनदेनका लागि जोखिममुक्त भर्चुअल मुद्रा हुने बताएको छ। सीबीडीसीका दुई उद्देश्य छन्, पहिलो डिजिटल मुद्रा तयार गर्ने र दोस्रो कुनै बाधा बिना यसको शुरुवात गर्ने। आरबीआईका अनुसार सीबीडीसीको अफलाइन मोड पनि विकास हुनुपर्छ, जसबाट डिजिटल रुपैयाँको प्रयोग गरी कारोबार गर्न सकियोस्। त्यस्तो भए धेरै मानिसहरूले डिजिटल मुद्राको प्रयोग गर्नेछन् । यो कागजको रुपैँया समान हो, जसको आफ्नै महत्त्व हुन्छ। डिजिटल मुद्राको भौतिक मुद्राकै इलेक्ट्रोनिक रूप हो। डिजिटल मुद्राको मूल्य हाल प्रयोग भइरहेको मुद्राकै बराबर हुनेछ र यो सहज रुपमा स्वीकार्य हुने बताइएको छ। आरबीआई डिजिटल मुद्रा किन सुरु गर्न चाहन्छ ? आरबीआईको अवधारणापत्र अनुसार आरबीआई देशमा भएको भौतिक मुद्राको व्यवस्थापनमा हुने खर्च कम गर्न चाहन्छ। अर्थात्, नोट छाप्ने, परिचालित गर्ने र वितरण गर्नमा लाग्ने खर्च कम गर्न चाहन्छ। यसले कारोबार गर्ने प्रणालीको कार्यक्षमता बढाउन र यसमा नयाँ प्रविधिको प्रयोग गर्न सक्नेछ। यसबाट अन्तर्राष्ट्रिय कारोबारका लागि नयाँ तरिका अपनाउन सकिनेछ। डिजिटल मुद्रा यस्तो भर्चुअल मुद्रा हुनेछ, जुन कुनै पनि किसिमको जोखिमबाट मुक्त हुनेछ र मानिसहरू पूरा भरोसाका साथ यसको प्रयोग गर्न सक्नेछन् । डिजिटल मुद्राले अफलाइन सुविधाका कारण बिजुली र मोबाइल नेटवर्क नभएको ठाउँमा पनि काम गर्नेछ। कस्तो हुनेछ डिजिटल मुद्रा ? आरबीआईका अनुसार डिजिटल मुद्रा दुई किसिमका हुनेछन्। पहिलो टोकनमा आधारित र दोस्रो अकाउन्टमा आधारित। टोकनमा आधारित डिजिटल मुद्रा बैंक नोट जस्तै वाहकले प्रयोग गर्न सक्ने हुनेछ। यसको मतलब जोसँग टोकन छ, उ यसको मूल्यको हकदार हुनेछ। टोकनमा आधारित डिजिटल मुद्राको प्रयोगकर्ता टोकन हुने व्यक्तिले उक्त टोकनमा उसको स्वामित्व रहेको पुष्टि गर्नुपर्ने हुन्छ। अकाउन्टमा आधारित प्रणालीमा डिजिटल मुद्रा हुने व्यक्तिले ब्यालेन्स र लेनदेनको रेकर्ड राख्नु पर्ने हुन्छ। त्यसैले ई रुपी भारतीय मुद्राको डिजिटल संस्करण हुनेछ। आरबीआईले यसको दुईवटा संस्करण जारी गर्नेछ। विभिन्न बैंकहरुबीच हुने कारोबारका लागि होलसेल संस्करण र आम मानिसका लागि ुरिटेलु अर्थात् खुद्रा संस्करण। आरबीआईको अप्रत्यक्ष प्रणालीका अनुसार डिजिटल मुद्रा एउटा यस्तो वालेटमा हुनेछ जुन कुनै ब्याङ्क वा सेवा प्रदायकसँग जोडिएको हुनेछ। के ई-रुपी क्रिप्टोकरेन्सी हो ? क्रिप्टोकरेन्सीमा जुन प्रविधिको प्रयोग गरिएको हुन्छ, त्यही प्रविधि डिजिटल रूपीमा प्रयोग गर्न सकिन्छ तर आरबीआईले अहिलेसम्म यसको प्रयोग हुने वा नहुनेबारे केही बताएको छैन। बिटकोइन वा इथिरिअम निजी क्रिप्टोकरेन्सी हुन्। तर ई-रूपी आरबीआईको नियन्त्रणमा हुनेछ। ई-रुपीलाई बिटकोइन जसरी माइनिङ गर्न सकिँदैन। यसको अर्थ अत्यधिक ऊर्जा प्रयोग र वातावरणीय क्षतिका लागि बिटकोइन जसरी आलोचित भइरहेको छ, ई-रुपी त्यस्तो आलोचनाबाट बच्ने छ। यसलाई कसले जारी गर्नेछ र यो कसरी वितरण हुनेछ ? आरबीआइले ई(रूपी जारी गर्नेछ तर वाणिज्य बैंकहरूले यसलाई वितरण गर्नेछन्। डिजिटल मुद्राको खुद्रा रुप टोकनमा आधारित हुनेछ। ग्राहकले ई-मेल जस्तो लिङ्क पाउनेछन्, जसमा पासवर्डको प्रयोग गरी पैसा पठाउन सक्नेछन्। के ई-रुपीमा ब्याज पाइनेछ ? आरबीआईको कन्सेप्ट नोटका अनुसार ग्राहकहरूको वालेटमा राखिएको ई(रुपीमा ब्याज दिने पक्षमा छैन। किनकि यसले गर्दा मानिसहरू बैंकमा राखिएको पैसा निकालेर डिजिटल रूपीको रूपमा राख्ने छन्। जसका कारण बैंकहरु असफल हुने जोखिम बढ्नेछ। के ई-रुपी अरू डिजिटल कारोबारभन्दा राम्रो साबित हुनेछ ? यदि ग्राहकले सीबीडीसी प्लेटफर्म अर्थात् ई(रुपीको प्रयोग गर्छन् भने अन्तर(बैंक कारोबारको जरुरत पर्दैन। यसमा वास्तविक समय र कम लागतमा लेनदेन हुनेछ। यसबाट आयातकर्तालाई निकै फाइदा हुनेछ। उनीहरू कुनै मध्यस्थकर्ता बिना नै अमेरिकी निर्यातकर्तालाई वास्तविक समयमा डिजिटल डलरमार्फत भुक्तानी गर्न सक्षम हुनेछन्। आम मानिसलाई के फाइदा हुनेछ ? विदेशमा काम गर्ने र डिजिटल मुद्रामा तलब लिएर कम शुल्कमा आफ्ना आफन्त वा अन्य देशमा रहेकालाई पैसा पठाउन सकिनेछ। बाहिर पैसा पठाउँदा हुने खर्च आधाभन्दा कम हुने विश्वास गरिएको छ। कति वटा देशले डिजिटल मुद्रा ल्याउने तयारी गर्दै छन् ? वर्ल्ड इकोनोमिक फोरमले अट्लान्टिक काउन्सिल सेन्ट्रल मुद्रा ट्रयाकरलाई उद्धृत गर्दै १०० भन्दा बढी देशले सीबीडीसी ल्याउने योजना बनाएको जनाएको छ। अहिलेसम्म नाइजेरिया र जमाइका सहित १० देशले डिजिटल मुद्रा सुरु गरिसकेका छन्। चीनले २०२३ मा डिजिटल मुद्रा गर्ने बताएको छ। जी-२० समूहका १९ देश केन्द्रीय बैंकले डिजिटल मुद्रा सुरु गर्ने योजना बनाइरहेका छन्। डिजिटल मुद्रा कति सुरक्षित ? युरोपियन केन्द्रीय बैंकका अनुसार सेन्ट्रल बैंक डिजिटल मुद्रा जोखिममुक्त पैसा हो जसको सुरक्षा राज्यले दिने छ। चाडैँ नै युरोपियन युनियन आफ्ना २७ सदस्य देशहरूमा डिजिटल मुद्रा सुरु गर्दै छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले यदि उसले डिजिटल मुद्रा लन्च गरेमा यो मानिसहरूका लागि सबैभन्दा सुरक्षित मुद्रा हुने बताएको छ। यसमा कर्जा र तरलताको जोखिम नहुने बताइएको छ। बीबीसीबाट ।