एलन मस्कद्वारा आर्टिफिसियल इन्टेलिजेन्सको विकास रोक्न माग

एजेन्सी । अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को विकास तत्कालका लागि रोक लगाउन आग्रह गरेका छन् । सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित हालसम्म एक हजारभन्दा बढीले हस्ताक्षर गरेको खुला पत्रमा उक्त आग्रह गरिएको हो । ‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याटजीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ । ‘मानव प्रतिस्पर्धात्मक बुद्धिमत्ता भएको एआई प्रणालीले समाज र मानवताका लागि गहिरो जोखिम निम्त्याउन सक्छ’, ‘पज जाइन्ट एआई एक्सपेरिमेन्ट्स’ शीर्षकको खुला पत्रमा भनिएको छ । ‘शक्तिशाली एआई प्रणालीको विकास तब मात्र गर्नुपर्छ जब हामी विश्वस्त हुन्छौं कि यसको प्रभाव सकारात्मक हुनेछ र उनीहरूको जोखिम व्यवस्थापन गर्न सकिनेछ’, विज्ञप्तिमा भनिएको छ । मस्क ओपनएआईमा प्रारम्भिक लगानीकर्ता थिए भने यसको सर्वोच्च समितिमा वर्षौं बिताएका थिए। उनको कार कम्पनी टेस्लाले अन्य अनुप्रयोगहरूको बीचमा यसको स्वचालित–चालक प्रविधिलाई शक्ति प्रदान गर्न एआई प्रणालीहरू विकास गर्दछ । मस्कको आर्थिक सहयोगमा सञ्चालित ‘फ्युचर अफ लाइफ इन्स्टिच्युट’ले आयोजना गरेको उक्त पत्रमा प्रमुख आलोचकका साथै स्टेबिलिटी एआईका प्रमुख इमाद मोस्ताकजस्ता ओपनएआईका प्रतिस्पर्धीले हस्ताक्षर गरेका छन् । ओपनएआईका संस्थापक साम अल्टम्यानले लेखेको ब्लगबाट उद्धृत गर्दै पत्रमा भनिएको छ, ‘कुनै न कुनै समयमा भविष्यको प्रणालीलाई तालिम दिन सुरु गर्नुअघि स्वतन्त्र समीक्षा गर्नु महत्वपूर्ण हुन सक्छ ।’ उनीहरूले भनेका छन्, ‘हामी सहमत छौं । त्यो बिन्दु अहिले हो ।’ त्यसैले हामी सबै एआई ल्याबहरूलाई जीपीटी–४ भन्दा बढी शक्तिशाली एआई प्रणालीको प्रशिक्षणलाई कम्तिमा छ महिनाका लागि तत्काल रोक्न आह्वान गर्दछौं । कम्पनीहरू सहमत नभएमा सम्बन्धित देशका सरकारहरूलाई कदम चाल्न र स्थगन लागू गर्न आह्वान पत्रमा गरिएको छ । यो छ महिनाको उपयोग सुरक्षा कानुन, एआई प्रशासन प्रणालीको विकास गर्न र एआई प्रणालीहरू अधिक सटीक, सुरक्षित, ‘विश्वसनीय र वफादार’ सुनिश्चित गर्न को लागी अनुसन्धान को पुनः लक्षित गर्नको लागि प्रयोग गर्नुपर्छ । पत्रमा जीपीटी–४ ले प्रकट गरेका खतराबारे विस्तृत विवरण भने दिइएको छैन । तर उक्त पत्रमा हस्ताक्षर गर्ने न्यूयोर्क युनिभर्सिटीका ग्यारी माक्र्सलगायत अनुसन्धाताहरूले लामो समयदेखि ‘च्याटबोट’हरू व्यापक झूटा हुन् र गलत सूचनाको व्यापक प्रचारक हुनसक्ने तर्क गर्दै आएका छन् । यद्यपि, लेखक कोरी डक्टरोले एआई प्रणालीको क्षमता र खतरा दुवैलाई व्यापक रूपमा अतिरञ्जित गरिएको तर्क गर्दै एआई उद्योगलाई ‘पम्प र डम्प’ योजनासँग तुलना गरेका छन् ।

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो

श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ रुपैयाँमा पाउने छन् । अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । रासस

मेक्सिकोस्थित अध्यागमन हिरासतमा ४० आप्रवासीको जलेर मृत्यु

मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासीको भीड लाग्ने गरेको छ । अमेरिका सरकारले भने आप्रवासीलाई आफ्नो भूमिमा गैरकानुनीरूपमा प्रवेश गर्न नदिन कठोर नियम अवलम्बन गर्नाका साथै निष्कासनसमेत गर्दै आएको छ । आप्रवासीहरूले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर त्यसको विरोध गर्दा उक्त हताहती भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बता । उनीहरूको विरोधको तरिकाले यति भयानक परिस्थिति निम्त्याउने उनीहरुले नसोचेका उनले बताए । सामाजिक सञ्जाजलमा सार्वजनिक भएका दृश्यमा केन्द्र बाहिरको फुटपाथमा लाशहरू प्लाष्टिकले बेरेर लाइनमा राखिएको देखिन्छ । सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामरामा केन्द्रको हिरासतमा रहेका आप्रवासीले गद्दामा आगो लगाएपछि धुँवाको मुस्लो छुट्दो सुरक्षाकर्मीहरु त्यसलाई वेवास्ता गर्दैै भवनबाट बाहिरिएका देखिन्छन् । भिडियोमा उनीहरूले आप्रवासीलाई हिरासत मुक्त नगरेको देखिन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरुले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरुले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए । आगलागीमा परी २९ जना घाइते समेत भएका छन् । मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम) द्वारा सञ्चालित उक्त केन्द्रमा आगलागीका बेला मध्य र दक्षिण अमेरिकाका ६८ जना पुरुष थिए । अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले आगलागीमा परी घाइते भएकाहरूलाई आप्रवासीलाई स्वीकार गर्ने प्रक्रिया प्रारम्भ गर्न आफूहरु तयार रहेको जनाएका छन् । घाइतेहरुलाई मेक्सिकोबाट एम्बुलेन्समार्फत उपचारका लागि अमेरिकी उपचार केन्द्रहरुमा पुर्याएको छ । मेक्सिकोका अधिकारीहरूले आगलागीमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक घाइते भएका तथा ज्यान गुमाएका बताएका छन् । विदेशमन्त्री मारियो बुकारोले आगलागीमा आफ्नो देशका २८ जनाको मृत्यु भएको पत्रकारहरूलाई बताए । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उक्त घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेका छन् । महासचिवका प्रवक्ताले सुरक्षित एवम् सङ्गठित आप्रवासन मार्गहरू स्थापनाका लागि आवागमन हुने सम्बद्ध देशका अधिकारीहरुसँग काम राष्ट्रसङ्घले सहकार्य गर्ने प्रतिबद्धता महासचिवले व्यक्त गरेकाे बताए । मेक्सिकोका लागि अमेरिकी राजदूत केन सालाजारले अनियमित आप्रवासनका जोखिमहरू समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो देशको सरकार सचेत रहेको बताए । कोभिड महामारीको सुरुमा लागू गरिएको नियमका कारण उनीहरूले अमेरिका प्रवेशको अनुमति नपाएका उनको भनाइ छ । बाइडेन प्रशासनले तत्कालीन राष्ट्रपति ट्रम्पको नीतिको प्रयोग अन्त्य गर्ने आफ्नो चाहना घोषणा गरेको भए पनि अहिलेसम्म त्यो खारेज भएको छैन । राष्ट्रपतिको उक्त घोषणापछि प्रतिबन्धहरू हट्ने आशमा सिउडाड जुआरेजमा आप्रवासीहरूको आगमन निरन्तर बढिरहेको छ । हालै भेनेजुएलाका सयौँ आप्रवासीले मेक्सिकोको यो शहरबाट एल पासोस्थित अन्तर्राष्ट्रिय पुल पार गरेर जबरजस्ती अमेरिका प्रवेशको प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूले भने भौतिक अवरोध खडा गरेर उनीहरूको अमेरिका पुग्ने सपनालाई चक्नाचुर पारेका थिए । मेक्सिकोका अध्यागमन हिरासतमा बेलाबेलामा आप्रवासीको भीडभाड, दङ्गा र विरोध प्रदर्शन हुने गरेका छन् । गत अक्टोबरमा भेनेजुएलाका आप्रवासीको एउटा समूहका कारण टिजुअनास्थित आप्रवासी केन्द्रमा दङ्गा भएको थियो भने नोभेम्बरमा ग्वाटेमालाको सीमा नजिकको मेक्सीकाको दक्षिणी शहर तपाचुलाको अर्को केन्द्रमा त्यस्तै दङ्गा भएको थियो । अमेरिका र जर्मनीपछि मेक्सिको शरणार्थीका लागि लोकप्रिय गन्तव्य बनेको छ । मेक्सिको भएर अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासी संसारका विभिन्न भागबाट मेक्सिको पुग्ने गरेका छन् । शरण खोज्न चाहनेले जहाँ आवेदन गरेको हो त्यहीँ बस्नुपर्ने प्रावधान भए पनि ग्वाटेमालालगायत दक्षिण अमेरिकी मुलुकका नागरिक मेक्सीको छाडेर अमेरिका नै जान चाहन्छन् । अहिले पनि ग्वाटेमालाका साथै मेक्सिकोका दक्षिणी सिमानामा दशौँ हजार आप्रवासीको भीड लागेको छ । यसैबीच, मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले आगलागीको घटना मेक्सिको र संयुक्त राज्य अमेरिकाको प्रतिबन्धात्मक एवम् क्रुर आप्रवास नीतिको परिणाम भएको टिप्पणी गरेको छ । उक्त घटनाले अध्यागमनसम्बन्धी अमानवीय प्रणालीलाई उजागर गरेको जनाउँदै एम्नेष्टीले बन्दीहरूलाई आगोमा नै छाडेर हिँड्नु अमानवीयताको परकाष्ठा हो भनेको छ ।