श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो
श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ रुपैयाँमा पाउने छन् । अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । रासस
मेक्सिकोस्थित अध्यागमन हिरासतमा ४० आप्रवासीको जलेर मृत्यु
मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासीको भीड लाग्ने गरेको छ । अमेरिका सरकारले भने आप्रवासीलाई आफ्नो भूमिमा गैरकानुनीरूपमा प्रवेश गर्न नदिन कठोर नियम अवलम्बन गर्नाका साथै निष्कासनसमेत गर्दै आएको छ । आप्रवासीहरूले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर त्यसको विरोध गर्दा उक्त हताहती भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बता । उनीहरूको विरोधको तरिकाले यति भयानक परिस्थिति निम्त्याउने उनीहरुले नसोचेका उनले बताए । सामाजिक सञ्जाजलमा सार्वजनिक भएका दृश्यमा केन्द्र बाहिरको फुटपाथमा लाशहरू प्लाष्टिकले बेरेर लाइनमा राखिएको देखिन्छ । सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामरामा केन्द्रको हिरासतमा रहेका आप्रवासीले गद्दामा आगो लगाएपछि धुँवाको मुस्लो छुट्दो सुरक्षाकर्मीहरु त्यसलाई वेवास्ता गर्दैै भवनबाट बाहिरिएका देखिन्छन् । भिडियोमा उनीहरूले आप्रवासीलाई हिरासत मुक्त नगरेको देखिन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरुले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरुले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए । आगलागीमा परी २९ जना घाइते समेत भएका छन् । मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम) द्वारा सञ्चालित उक्त केन्द्रमा आगलागीका बेला मध्य र दक्षिण अमेरिकाका ६८ जना पुरुष थिए । अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले आगलागीमा परी घाइते भएकाहरूलाई आप्रवासीलाई स्वीकार गर्ने प्रक्रिया प्रारम्भ गर्न आफूहरु तयार रहेको जनाएका छन् । घाइतेहरुलाई मेक्सिकोबाट एम्बुलेन्समार्फत उपचारका लागि अमेरिकी उपचार केन्द्रहरुमा पुर्याएको छ । मेक्सिकोका अधिकारीहरूले आगलागीमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक घाइते भएका तथा ज्यान गुमाएका बताएका छन् । विदेशमन्त्री मारियो बुकारोले आगलागीमा आफ्नो देशका २८ जनाको मृत्यु भएको पत्रकारहरूलाई बताए । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उक्त घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेका छन् । महासचिवका प्रवक्ताले सुरक्षित एवम् सङ्गठित आप्रवासन मार्गहरू स्थापनाका लागि आवागमन हुने सम्बद्ध देशका अधिकारीहरुसँग काम राष्ट्रसङ्घले सहकार्य गर्ने प्रतिबद्धता महासचिवले व्यक्त गरेकाे बताए । मेक्सिकोका लागि अमेरिकी राजदूत केन सालाजारले अनियमित आप्रवासनका जोखिमहरू समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो देशको सरकार सचेत रहेको बताए । कोभिड महामारीको सुरुमा लागू गरिएको नियमका कारण उनीहरूले अमेरिका प्रवेशको अनुमति नपाएका उनको भनाइ छ । बाइडेन प्रशासनले तत्कालीन राष्ट्रपति ट्रम्पको नीतिको प्रयोग अन्त्य गर्ने आफ्नो चाहना घोषणा गरेको भए पनि अहिलेसम्म त्यो खारेज भएको छैन । राष्ट्रपतिको उक्त घोषणापछि प्रतिबन्धहरू हट्ने आशमा सिउडाड जुआरेजमा आप्रवासीहरूको आगमन निरन्तर बढिरहेको छ । हालै भेनेजुएलाका सयौँ आप्रवासीले मेक्सिकोको यो शहरबाट एल पासोस्थित अन्तर्राष्ट्रिय पुल पार गरेर जबरजस्ती अमेरिका प्रवेशको प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूले भने भौतिक अवरोध खडा गरेर उनीहरूको अमेरिका पुग्ने सपनालाई चक्नाचुर पारेका थिए । मेक्सिकोका अध्यागमन हिरासतमा बेलाबेलामा आप्रवासीको भीडभाड, दङ्गा र विरोध प्रदर्शन हुने गरेका छन् । गत अक्टोबरमा भेनेजुएलाका आप्रवासीको एउटा समूहका कारण टिजुअनास्थित आप्रवासी केन्द्रमा दङ्गा भएको थियो भने नोभेम्बरमा ग्वाटेमालाको सीमा नजिकको मेक्सीकाको दक्षिणी शहर तपाचुलाको अर्को केन्द्रमा त्यस्तै दङ्गा भएको थियो । अमेरिका र जर्मनीपछि मेक्सिको शरणार्थीका लागि लोकप्रिय गन्तव्य बनेको छ । मेक्सिको भएर अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासी संसारका विभिन्न भागबाट मेक्सिको पुग्ने गरेका छन् । शरण खोज्न चाहनेले जहाँ आवेदन गरेको हो त्यहीँ बस्नुपर्ने प्रावधान भए पनि ग्वाटेमालालगायत दक्षिण अमेरिकी मुलुकका नागरिक मेक्सीको छाडेर अमेरिका नै जान चाहन्छन् । अहिले पनि ग्वाटेमालाका साथै मेक्सिकोका दक्षिणी सिमानामा दशौँ हजार आप्रवासीको भीड लागेको छ । यसैबीच, मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले आगलागीको घटना मेक्सिको र संयुक्त राज्य अमेरिकाको प्रतिबन्धात्मक एवम् क्रुर आप्रवास नीतिको परिणाम भएको टिप्पणी गरेको छ । उक्त घटनाले अध्यागमनसम्बन्धी अमानवीय प्रणालीलाई उजागर गरेको जनाउँदै एम्नेष्टीले बन्दीहरूलाई आगोमा नै छाडेर हिँड्नु अमानवीयताको परकाष्ठा हो भनेको छ ।
जापान : जहाँ समय, मेहनत र कामको उच्च सम्मान छ
टोकियो, १३ चैत (रासस) : हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौं ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्याँै । यद्यपि, जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले करिब १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो । हाम्रा लागि जापान घुम्न पाउनु अवसर थियो र यो अवसर जापान सरकारको परराष्ट्र मन्त्रालयको जापान इन्टरनेशनल कोअपरेशन सेन्टरले जुराइदिएको थियो । ‘जापान फ्रेन्डसिप टाइज प्रोग्राम’अन्तर्गत फेब्रुअरी २२ देखि २८ सम्म सञ्चालित जेनेसिस ‘जापान–इस्ट एशिया नेटवर्क अफ एक्सचेञ्ज फर स्टुडेन्ट एण्ड युथ’ कार्यक्रममा भाग लिन नेपालसहित पाकिस्तान, भूटान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट ३० जना विद्यार्थी र ३० जना ‘वर्किङ युथ’ गरी ६० जना सहभागी थियौँ । कार्यक्रमको उद्देश्य थियो–जापानको संस्कृति, परम्परा, रहनसहन र विकासलाई निजकबाट नियाल्नु । यस पटकको यो कार्यक्रमलाई ‘ऊर्जा’ क्षेत्रमा केन्द्रित गरिएको थियो । यद्यपि, जापानले गरेको विकास, इतिहास, परम्परा, संस्कृति तथा साक्षात्कारलाई पनि कार्यक्रममा केन्द्रित गरिएको थियो । यस अर्थमा हामीले जापान बसाइमा ऊर्जा क्षेत्रका साथै विभिन्न पक्षबारे जानकारी र अनुभव बटुल्दै थियौँ । नेपालबाट प्रतिनिधित्व गर्ने १० जना नारिता विमानस्थलबाट प्रक्रिया पूरा गरी बाहिर निस्किँदै गर्दा पाकिस्तानबाट आएका साथीहरु र ‘जाइस’का दुई जना कर्मचारीले हामीलाई पर्खिरहनुभएको थियो । कराँचीबाट दुबई हुँदै नारिता पुगेका पाकिस्तानका साथीहरुले भने हामीभन्दा आधा घण्टाअघि नै विमानस्थलको प्रक्रिया पूरा गरिसकेका थिए । उसो त श्रीलङ्कन साथीहरु सोही दिन बिहान होटल पुगिवरी टोकियो टावर घुम्न भ्याइसकेका थिए । हामीभन्दा पछि बङ्गलादेश र माल्दिभ्सबाट साथी आइपुगे भने भोलिपल्ट बिहान मात्रै भुटानका साथीहरु टोकियो अवतरण गरे । छ देशका ६० जना सबैका लागि यो पहिलो जापान भ्रमण थियो । भोलिपल्ट ब्रेकफास्टपछिको करिब एक घण्टा अन्य देशका केही साथीहरुसँग परिचय गर्दै सहर नियाल्ने मौका मिल्यो । सँगसँगै बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरी साइकल कुदाउने र जेब्राक्रसिङमा छिटोछिटो हिँड्दै गन्तव्य छोट्याउँदै गरेका जापानीहरुलाई हेर्दै हामीले पहिलो बिहानीमा करिब आधा घण्टा पैदलै हिँडेर सहर नियाल्यौँ । चिटिक्क सफा र कोलाहलमुक्त सहरमा एकनाश ठडिएका गगनचुम्बी भवन, सफा र शान्त सहरलाई पृष्ठभूमिमा राखेर सम्झना स्वरुप केही थान तस्बिर पनि लियौँ । प्यासिफिक समुन्द्र किनारको ‘कावासाकी इको म्युजियम’ पुग्दा नौलो लाग्यो । जहाँ विद्यार्थीका विभिन्न सिर्जनामार्फत पर्यावरण र ऊर्जाबारे केही जानकारी लियौँ । साथै छेवैमा रहेको सोलार प्लान्ट अवलोकन गर्ने अवसर पनि मिल्यो । जहाँ ३८ हजार सोलार प्यानल जडान गरी ८७ लाख ४० हजार किलोवाट आवर ऊर्जा उत्पादन भइरहेको थियो । यसरी उत्पादन भइरहेको ऊर्जा जापानका दुई हजार आठ सय घरधुरीमा खपत हुने गरेको रहेछ । जापान बसाइका क्रममा हामीले विश्वविद्यालयका विभिन्न प्राध्यापकबाट जापानले भोगिसकेको ऊर्जाको समस्या र समाधानका लागि चालिएका विभिन्न प्रयासबारे जान्ने मौका पायौँ । सन् २०११ को भूकम्पका कारण फुकुशिमा न्यूक्लियर प्लान्ट बन्द भएपछि जापानले ऊर्जा स्रोतमा नयाँ विकल्पमा योजना बनाइरहेको रहेछ । ‘लो कार्बन बिल्डिङ’लाई प्रोत्साहन दिनुका साथै सन् २०५० सम्ममा ग्रीनहाउस ग्यास उत्सर्जन ८० प्रतिशतले घटाउने उद्देश्यले लिएको ‘नेट जिरो २०५०’ सम्बन्धी जान्ने मौका पायौँ । जापान बसाइका क्रममा बकेट लिस्टमा बुलेट रेल नहुने कुरै भएन । टोकियोदेखि नागोयासम्म पुग्दा र फर्कंदा ‘सिङ्काशेन बुलेट रेल’मा यात्रा गर्ने अवसर जु¥यो । कूल दुई सय ६५ किलोमिटरको दूरी डेढ घण्टाभन्दा कम समयमै तय गर्दै जापानको ग्रामीण क्षेत्रमा काठबाट निर्मित ससाना घरले भरिएका सुन्दर गाउँ र ‘माउन्ट फूजी’को अवलोकन गर्ने अवसर पनि पायौँ । यातायातको साधनका रुपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको भूमिकाबारे पनि हामीलाई जानकारी गराइयो । अधिकांश व्यक्ति सकेसम्म साइकल नै चलाउने रहेछन् । स्वस्थ खाना, शारीरिक व्यायाम, उच्च गुणस्तरयुक्त जीवनशैलीकै कारण जापानीजहरुको औसत उमेर संसारमै सबैभन्दा राम्रो भएको रहेछ भन्ने बुझ्न गाह्रो भएन । हाम्रो बसाइभर हामीलाई निरन्तर साथ दिनुभएकी एक पथप्रदर्शक (गाइड) का अनुसार जापानका मुख्य सहरमा निजी सवारीसाधन निकै कमले चढ्ने रहेछन् । धेरैका लागि सार्वजनिक यातायात भरपर्दो माध्यम रहेछ । जापानमा औसतमा ६० प्रतिशतले निजी सवारीसाधन चढ्दै गर्दा टोकियोको हकमा भने जम्मा ३७ प्रतिशत रहेछ । हामीलाई के लागेको थियो भने टोयोटा, होन्डा, निशान, माज्दालगायतका गाडी उत्पादक देशमा पनि सबैसँग कार हुनैपर्ने हो । तर बस, ट्याक्सी र मेट्रो रेल जस्ता सार्वजनिक सवारी साधनको उच्च गुणस्तरयुक्त सुविधाका कारण निजी सवारीसाधन प्रयोग गर्ने टोकियो जस्ता सहरमा कम हुँदै गएको रहेछ । यद्यपि सहरमा जस्तै सार्वजनिक यातायातको सुुविधा नभएका ग्रामीण क्षेत्रमा भने निजी कार हुनु अत्यावश्यक मानिँदो रहेछ । भ्रमण अवधिमा टोकियो र नागोयामा रोयल प्यासेस हेर्ने मौका पायौँ । नागोयामा इलेक्ट्रिकल म्युजियमदेखि सोउ सपिङ स्ट्रिटको टर्किस कबाबको स्वाद जिब्रोमा अझै पनि बाँकी छ । दिनभरको कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि मात्रै ‘फ्रि टाइम’ मिल्थ्यो । तर नागोयामा रहँदा फ्रि टाइमलाई पूर्णरुपमा उपयोग गर्र्न पाएनौँ । किनभने यति ठूलो सहर पनि राति ७ नबज्दै सुत्दो रहेछ । हामीलाई यति ठूलो सहर किन यति छिट्टै बन्द भएको होला भन्ने लागेको थिएन । सडकमा निकै कम मान्छे हिँड्ने रहेछन् । ‘सबवे’ र ‘मेट्रो स्टेशन’ वरपर भने मान्छेको अचाक्ली देखिने भिड राति १० बजेपछि भने पातलिँदै जाने रहेछ । दैनिक औसत २४ लाख मानिसले हिँड्ने सिबुया क्रसिङमा पनि राति १० बजेपछि कम हुँदै गएको देख्ने मौका मिल्यो । सपिङमल पनि ८ बजेदेखि १० बजेसम्म लगभग बन्द भइसक्ने रहेछन् । नागोया छँदा ‘जेडीएस’ छात्रवृत्ति (प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) अन्तर्गतका विद्यार्थीसँग साक्षात्कार गर्ने अवसर मिल्यो । जापान सरकारले स्नातकोत्तर तहमा यसप्रकारको छात्रवृत्ति उपलब्ध गराउने रहेछ । सार्क राष्ट्रका हामीलाई सहज होस् भनेर होला धेरैजसो नेपाली र इन्डियन खाना पाइने होटल नै उपलब्ध गराइएको थियो । केही छाक जापानिज खाना खाए पनि पेट भने बिरयानी, रोटी, नान र दालले नै भरियो । रमाइलो कुरा त के भने टोकियो र नागोयाका जति पनि रेष्टुराँ र मार्ट पुग्यौँ नेपाली नभेटिने कुनै ठाउँ रहेनछ । जापान पुगेपछि टोकियोको पुगेपछि चार सय ५० मिटर अग्लो ‘स्काइ ट्री’ नघुमी फर्कंने कुरै भएन । अझ होटलको कोठाबाट चिटिक्क परेको फ्रेम झैँ आँखै अगाडि देखिएपछि त्यहाँ जाने रहर झनै थपिएको थियो । यो रहर पनि जापान पुगेको पर्सीपल्ट पूरा भयो । दिनभरको कार्यक्रम डिनरसँगै पूरा हुन्थ्यो र निवासका लागि होटलतिर लाग्थ्यौँ । एक दिन त रात छिप्पिँदै गर्दा जापानमै बस्ने चन्द्र दाईसँग ट्याक्सी चढेर स्काइ ट्री पुग्यौँ । दुई हजार तीन सय येनको टिकट काटेर तीन सय ५० मिटर माथि पुगेर झिलिमिली टोकियो हेर्ने रहर पनि पूरा भयो । पाकिस्तानका साथीहरु भने सोही दिन चार किलोमिटरको पैदल यात्रामा स्काइ ट्रीलाई नजिकबाट हेर्ने रहर पूरा गरेछन् । जापानमा नोटको साटो सिक्काको प्रचलन धेरै हुने रहेछ । एक हजारभन्दा कमको नोट नहुने भएकाले सिक्का प्रचलन गर्नुको विकल्प नै रहेनछ । तर अहिले भने विद्युतीय भुक्तानीको प्रयोग अत्यधिक भएको रहेछ । जापान पुगेपछि जानैपर्ने सूचीमा ‘हाचीको पार्क’ पनि थियो । सन् २००९ मा रिचार्ड गेरको चलिचित्र ‘हाचीको, अ डग डेल’ हेरेपछि त्यो बेलादेखिको घुम्ने रहर करिब एक दशकपछि पूरा हुँदै थियो । त्यसैले जापान बसाइको अघिल्लो रात मेट्रो चढेर हाचीकोको स्ट्याचु हेर्न पुगे । केही सपिङ कम्प्लेक्स घुमियो भने पार्कमा बसेर धेरैबरे गफ गर्ने रहर पनि पूरा गरियो । एक साता लामो बसाइमा जापानीहरुको अनुशासन देखेर भने सबै दङ्गै परियो । विनम्रसँग बोल्ने, कत्ति पनि हल्ला नगर्ने र अरुलाई असाध्यै सम्मान गर्ने उनीहरुको चर्चा अन्तिम दिन प्रस्तुतिका क्रममा सबैले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम सकिँदै गर्दा छवटै देशका राजदूतावासबाट आउनुभएका प्रतिनिधिसँग हाम्रा अनुभव साट्दै टुङ्ग्यायौँ । उहाँहरुसँग साक्षात्कार पनि भयो । करिब १० दिनको बसाइ हाम्रा लागि अविस्मरणीय रह्यो । सार्क राष्ट्रका साथीसँग नयाँ सम्बन्ध स्थापना गर्नेदेखि जापानले गरेको विकास, यहाँको संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । यस सङ्क्षिप्त मधुरस्मृतिमा जापान बसाइको अनुभव उतारे पनि यसक्रममा हामीले सङ्कलन गरेको अनुभव भने दीर्घकालसम्म रहनेछ । यो छोटै समयको बसाइबाट मैले भने जापानबाट समय, मेहनत र कामप्रतिको सम्मानको गहिरो अनुभव लिएर फर्किएँ । रासस