अस्ट्रेलियाले जनवरीदेखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

सिड्नी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताए । अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म सुरु मिति बताएको थिएन । लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताए । ‘यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो’, उनले भने, ‘अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दैछन् ।’ १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा ‘तर्कसङ्गत प्रमाण’ लाई उदृत गर्दै भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ । सरकारले अस्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याइने बताएको छ । भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ । ‘अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ’, एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने । रासस/एएफपी

नेपाल-दुबई व्यावसायिक सम्मेलन मंसिर १४ गते हुने, सय बढी उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल-दुबई व्यावसायिक सम्मेलन यही मंसिर १४ गते अर्थात बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने भएको छ । उक्त व्यावसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने छन् । सम्मेलनमा दुबै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ । उक्त सम्मेलनमा दुबै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । व्यावसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ । महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । त्यस्तै, महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायुसम्बन्धी विश्व सम्मेलन कोप-२८ मा भाग लिने कार्यक्रमसमेत रहेको छ ।

गाडीको मूल्य बढाउने मारुतीको घोषणा

एजेन्सी । मारुती सुजुकी इन्डियाले देशको अटो बजारको करिब ५० प्रतिशत हिस्सा ओगट्छ। अर्थात, १ सय नयाँ कारमध्ये ५० वटा मारुतीका कार बिक्री हुन्छन् । मारुती कार किन्नेमा सहरदेखि गाउँसम्मका मानिसहरू पर्छन् । तर, मारुतीका लाखौं नयाँ ग्राहकहरूका लागि नराम्रो खबर छ । मारुतीले आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । मारुती सुजुकी इन्डियाले सोमबार मुद्रास्फीति र बढेको कच्चापदार्थमा लागत दबाबका कारण सन् २०२४ जनवरीबाट आफ्ना गाडीको मूल्य बढाउने योजना बनाएको हो । मारुतीले कम लागतको सानो कार अल्टोदेखि मल्टी–युटिलिटी भेइकल इन्भिक्टोसम्मका सवारीसाधन उत्पादन र बिक्री गर्ने गर्छ । तिनीहरूको मूल्य ३ लाख ५४ हजारदेखि २८ लाख ४२ लाख रुपैयाँ (एक्स–शोरूम दिल्ली) को बीचमा छ। तर, मूल्य कति बढाउने भन्नेबारे भने कम्पनीले केही बताएको छैन । मारुती सुजुकी इन्डियाले स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार कम्पनीले २०२४ जनवरीमा समग्र मुद्रास्फीति, बढेको वस्तुको मूल्य र बढेको लागत दबाबका कारण आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएको छ । जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले पनि कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागत मध्यनजर गर्दै आगामी जनवरीदेखि भारतमा आफ्ना गाडीको मूल्य दुई प्रतिशतले बढाउने घोषणा गरेको छ । औडी इन्डियाद्वारा जारी विज्ञप्तिअनुसार मूल्यवृद्धि २०२४ देखि लागू हुनेछ र सबै मोडेल रेन्जमा विस्तार हुनेछ। औडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आपूर्ति–शङ्खलासम्बन्धी कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागतका कारण ब्रान्डको प्रिमियम मूल्य स्थिति कायम राख्दै मोडेल दायरामा मूल्य सुधार गरेको बताएका छन् । उनले मूल्य सुधारको उद्देश्य औडी इन्डिया र डिलर साझेदारहरूको दिगो वृद्धि सुनिश्चित गर्ने रहेको बताए । उनले मूल्यवृद्धिको प्रभाव ग्राहकहरूमा सकेसम्म न्यूनतम परोस् भन्ने सुनिश्चित गर्ने पनि बताए । औडी इन्डियाले क्यु३ एसयूभीदेखि लिएर स्पोर्ट्स कार आरएसक्यू ८ सम्मका गाडीहरू बेच्छ । जसको मूल्य ४२ लाख ७७ हजार रुपैयाँदेखि २ करोड २२ लाख रुपैयाँसम्म पर्छ ।