काठमाडौं । होर्मुज जलडमरूमध्य वरिपरि शनिबार तुलनात्मक रूपमा शान्त अवस्था देखिएको छ । केही दिनयता छिटफुट तनाव र झडप भइरहे पनि अमेरिका इरानबाट युद्ध अन्त्य गर्ने र शान्ति वार्ता सुरु गर्नेसम्बन्धी आफ्नो पछिल्लो प्रस्तावको जवाफको प्रतीक्षामा रहेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोलेले शुक्रबार वासिङ्टनले केही घण्टाभित्रै इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएका थिए । तर त्यसको एक दिन बितिसक्दा पनि तेहरानबाट कुनै संकेत देखिएको छैन । उक्त प्रस्तावअनुसार इरानको आणविक कार्यक्रमलगायत विवादास्पद विषयमा वार्ता अघि बढाउनुअघि औपचारिक रूपमा युद्ध अन्त्य गरिनेछ ।
रुबियोले शनिबार मियामीमा कतारका प्रधानमन्त्री मोहमद बिन अब्दुलरहमन अल थानीसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार उनीहरूले ‘मध्यपूर्वभरि खतरालाई रोक्न तथा स्थायित्व र सुरक्षालाई प्रवर्द्धन गर्न सहकार्य जारी राख्ने’ विषयमा छलफल गरेका थिए ।
उक्त वक्तव्यमा इरानको नाम भने स्पष्ट रूपमा उल्लेख गरिएको थिएन ।
समाचार संस्था एक्सियोसका अनुसार अमेरिकी दूत स्टिभ विटकफ पनि उक्त भेटमा सहभागी थिए । यो जानकारी विषयमा जानकार दुई स्रोतलाई उद्धृत गर्दै दिइएको हो ।
एलएसईजी शिपिङ डाटाअनुसार कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्यांकर शनिबार पाकिस्तानतर्फ जाँदै होर्मुज जलडमरूमध्यतर्फ अघि बढिरहेको थियो । स्रोतहरूका अनुसार कतार र पाकिस्तानप्रति विश्वास निर्माण गर्न इरानले उक्त यात्रालाई स्वीकृति दिएको हो । यी दुवै देश युद्धमा मध्यस्थकर्ताको भूमिकामा छन् ।
यदि यो यात्रा सफल भयो भने युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्य पार गर्ने यो पहिलो कतारी एलएनजी जहाज हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता चीन भ्रमणमा जाने तयारीमा रहेकाले युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ । यो युद्धले ऊर्जा बजारमा अस्थिरता ल्याएको छ भने विश्व अर्थतन्त्रमा समेत जोखिम बढाएको छ ।
हालैका दिनमा युद्धविराम सुरु भएयता जलडमरूमध्य आसपास सबैभन्दा ठूला झडप भएका छन् । शुक्रबार संयुक्त अरब इमिरेट्समाथि पुनः आक्रमण भएको थियो ।
युद्धविरामको परीक्षा
फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानभरि हवाई आक्रमण गरेपछि सुरु भएको युद्धयता तेहरानले जलडमरूमध्यबाट गैर-इरानी जहाजहरूको आवागमन ठूलो मात्रामा अवरुद्ध गरेको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको पाँचौं हिस्सा यही साँघुरो समुद्री मार्गबाट हुँदै आएको थियो ।
इरानको अर्ध(सरकारी समाचार संस्था फार्सका अनुसार शुक्रबार जलडमरूमध्यमा इरानी सेना र अमेरिकी जहाजबीच छिटफुट झडप भएको थियो । पछि तस्निम समाचार संस्थाले एक इरानी सैन्य स्रोतलाई उद्धृत गर्दै स्थिति शान्त भएको जनाएको थियो, तर थप झडप हुन सक्ने चेतावनी पनि दिएको थियो ।
अमेरिकी सेनाले भने इरानी बन्दरगाह प्रवेश गर्न खोजेका इरानसँग सम्बन्धित दुई जहाजलाई निशाना बनाएको जनाएको छ । अमेरिकी लडाकु विमानले ती जहाजको धुवाँ निस्कने भागमा प्रहार गरेपछि जहाजहरू फर्किन बाध्य भएका थिए ।
अमेरिकाले गत महिना इरानी जहाजमाथि नाकाबन्दी लगाएको थियो । तर सीआईएको एक मूल्यांकनअनुसार इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीबाट इरानलाई गम्भीर आर्थिक दबाब महसुस हुन अझै करिब चार महिना लाग्न सक्छ । यसले तेहरानमाथि ट्रम्प प्रशासनको प्रभाव कति बलियो छ भन्नेबारे प्रश्न उठाएको छ । यो युद्ध अमेरिकी मतदाता र अमेरिकी सहयोगी राष्ट्रहरूबीच लोकप्रिय छैन ।
एक वरिष्ठ गुप्तचर अधिकारीले वासिङ्टन पोस्टले पहिलोपटक सार्वजनिक गरेको सीआईए विश्लेषणसम्बन्धी ‘दाबीहरू’ गलत भएको बताएका छन् ।
झडप केवल समुद्री क्षेत्रमा सीमित रहेन । संयुक्त अरब इमिरेट्सले शुक्रबार इरानबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक मिसाइल र तीनवटा ड्रोनलाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको जनाएको छ । घटनामा तीन जना मध्यम घाइते भएका थिए ।
इरानले अमेरिकी सैन्य अड्डा रहेका यूएई तथा अन्य खाडी मुलुकहरूलाई बारम्बार निशाना बनाउँदै आएको छ । ट्रम्पले जलडमरूमध्यमा जहाजलाई सुरक्षा दिने ‘प्रोजेक्ट फ्रिडम’ घोषणा गरेपछि इरानले यस साता आक्रमण बढाएको थियो । ट्रम्पले भने ४८ घण्टापछि उक्त योजना रोकिएको बताएका थिए ।
ट्रम्पले बिहीबार अप्रिल ७ मा घोषणा गरिएको युद्धविराम झडपका बाबजुद कायम रहेको बताएका थिए । तर इरानले अमेरिका स्वयंले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शुक्रबार भने, ‘हरेक पटक कूटनीतिक समाधानको सम्भावना आउँदा अमेरिका लापरवाह सैन्य साहसिकतामा उत्रिन्छ ।’
कूटनीति र प्रतिबन्ध दुवैमा अमेरिकी जोड
यो संघर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय समर्थन खासै पाउन सकेको छैन । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटपछि रुबियोले इटाली तथा अन्य सहयोगी राष्ट्रहरूले जलडमरूमध्य पुनः खोल्ने अमेरिकी प्रयासलाई किन साथ नदिएको भनेर प्रश्न उठाए । उनले इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्ग नियन्त्रण गर्न दिइए खतरनाक नजिर बस्ने चेतावनी दिए ।
स्टकहोममा बोल्दै जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपेली देशहरूको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु रहेको बताए । साथै उनले वासिङ्टनसँग मतभेद कम गर्न प्रयास भइरहेको जानकारी दिए ।
बेलायतले फ्रान्ससँग मिलेर जलडमरूमध्यको अवस्था सामान्य भएपछि सुरक्षित जहाज आवागमन सुनिश्चित गर्ने प्रस्तावमा काम गरिरहेको छ । शनिबार बेलायतले यस्तो बहुराष्ट्रिय अभियानको तयारीस्वरूप मध्यपूर्वमा एक युद्धपोत पठाउने घोषणा गरेको छ।
कूटनीतिक प्रयास जारी राख्दै अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्न प्रतिबन्ध पनि कडा बनाएको छ ।
ट्रम्प चीन भ्रमणमा गई राष्ट्रपति सी जिनपिङसँग भेट्नुअघि अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार १० व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ । तीमध्ये केही चीन र हङकङका कम्पनीहरू पनि छन् । उनीहरूले इरानको सेनालाई तेहरानका शाहेद ड्रोन निर्माणमा प्रयोग हुने हतियार तथा कच्चा पदार्थ जुटाउन सहयोग गरेको आरोप लगाइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)