भारतको ओडिसा रेल दुर्घटनामा २ सय बढीको मृत्यु

एजेन्सी । भारतको ओडिसा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा दुईसय ३३ जना यात्रुको मृत्यु भएको छ । शुक्रबार भएको रेल दुर्घटनामा नौ सय यात्रु घाइते भएको बीबीसीले उल्लेख गरेको छ । समाचार एजेन्सीहरूका अनुसार चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस एउटा मालगाडीसँग ठोक्किएको थियो । त्यसपछि अर्को तर्फबाट आउँदै गरेको यशवन्तपुर–हावडा सुपरफास्ट रेल पनि पटरीबाट खसेको डिब्बासँग ठोक्किएको थियो । यो दुर्घटना बालासोरको बहानागा बजार स्टेशन नजिक भएको हो।

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

काबुल । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ ।  ‘तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगतसँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत  गर्छ,’ ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तरराष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गरेका थिए । तालिवानका एकजना प्रवक्ताले तालिबानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको अलोचना गरेको बताएका थिए । उनले अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिबान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको  खामा प्रेसले बताएको छ । कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन्भने  स्थानीय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ । यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन् । रासस

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

एजेन्सी । कोरोना भाइरस कोभिड–१९ को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्ने सोच्न छोड्न आग्रह गर्नुभएको छ । ‘युवाहरूले ‘कठिन समयसँग जुध्न’ सिक्नुपर्छ,’ सीले भने । द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ । गत वर्षको जुनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौतारिरहेकी थिइन् । लीले भनिन्, ‘हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो, हामी बिनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारीको सहज सुनिश्चतता हुनुपर्छ ।’ न्युयोर्क टाइम्सका अनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, ‘जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता व्यहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो ।’ उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो । सांस्कृतिक क्रान्तिको दौडान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गरेका छन् । एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले एक ट्वीटर पोस्टमा लेखेका छन्, ‘युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्ने उहाँ किन चाहनुहुन्छ ?’ यस वर्ष उच्च एक करोड १६ लाख स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँच मध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ । न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्वीकार्न तयार गराउने अपेक्षा गरेको छ । युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्याङ्क हो किनभने निष्क्रिय युवाहरूले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्ने विश्वास गर्दछ । चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी सहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए । सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू सहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार, वा राज्य–योजनाबद्ध अर्थव्यवस्था भन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो । रासस