रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ, युवावर्ग तनावमा

बेइजिङ । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौँ बितिसक्दा पनि रोजगारी बजारमा युवा पुस्ताले सङ्घर्ष गर्नुपरेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जारी गरेको गत महिनाको तथ्याङ्कमा पनि स्थिति झन् खराब हुँदै गएको देखाइएको छ । ब्युरोको तथ्याङ्कमा १६ देखि २४ वर्ष उमेर समूहको राष्ट्रिय बेरोजगारी दर १९।५ प्रतिशत रहेको उल्लेख छ । गत डिसेम्बरको तुलनामा यो झण्डै ३ प्रतिशतले बढी हो । टोनी बाईले दुई वर्षअघि चीनको एक विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेका थिए तर उनी अझै बेरोजगार छन् । चीनका करिब तीन करोड बेरोजगार युवामध्येका एक उनी भन्छन्, ‘कहिलेकाहीँ म किन विश्वविद्यालय गएँ भनेर सोच्छु । यदि मैले हाई स्कूलबाट सीधै जागिर पाएको भए म अहिले प्रबन्धक भइसक्थेँ । तेइस वर्षीय उनले थप अध्ययन गर्न चाहेकोले जागिर पाउने सम्भावना रहेको आफ्नो विश्वास सुनाए । तर विश्वविद्यालयको सीमित स्थानका लागि कडा प्रतिस्पर्धा भएको र तीनपटक प्रवेश परीक्षामा अनुत्तीर्ण भएको दुखेसो पनि उनले सुनाए ।’ युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाको चिनियाँ अध्ययनका वरिष्ठ प्राध्यापक ताओ यु चीनका युवा सामान्यतया राम्रो शिक्षाले राम्रो तलबको जागिर पाइने विश्वास गर्छन् । यद्यपि वास्तविकता भने फरक छ । विश्वविद्यालयका स्नातकहरूका लागि जागिरका कम अवसर रहेका कोरोना महामारीको आर्थिक समस्याले देखाएको उनी बताउँछन् । केही चिनियाँ युवाले आफ्नो समस्या समाधान गर्न रात्री बजारमा स्टल राखेर आय आर्जनको बाटो रोजेका छन् । चीनमा बेरोजगार युवाका लागि कुनै कल्याणकारी योजना नभएकाले परिवारको सहयोगमा निर्भर युवालाई समस्या छ । उनीहरू यस्तै विकल्प रोज्न बाध्य छन् । चीन सरकारले प्रविधि, शिक्षा र सम्पत्ति क्षेत्रमा गरेको कारबाहीका कारण युवाको ठूलो सङ्ख्याले रोजगारी गुमाएका छन् । नामचलेका विशाल प्राविधिक कम्पनीले हजारौं कामदारलाई निकालेका छन् । देशको आर्थिक अवस्थाका कारण आफूहरू बेरोजगार भएको दुःखपुकारा उनीहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालेका छन् । उनीहरूले राज्य आफ्नो दायित्वबाट पन्छिन खोजेको आरोप पनि लगाएका छन् । रासस

इजरायलद्वारा जेरुसेलम यातायातमा ३ करोड शेकेल लगानी

टीपीएस । जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेका छन् ।  सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल ८.२५ अमेरिकी डलर लगानी गरिएको छ । सो कार्क्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् । शहरमा लाइट रेल नेटवर्कमा लगानीका साथसाथै, यातायात मन्त्रालयले यसको सेवा, फ्रिक्वेन्सी र विश्वसनीयता सुधार गरेर सार्वजनिक यातायातको प्राथमिकता बढाउँने उद्देश्यले विभिन्न परियोजनाहरूमा लगभग  ९० करोड शेकेल २४८ मिलियन अमेरिकी डलर लगानी गरिरहेको छ । रासस

लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प

बेइजिङ । बेइजिङ समय शुक्रबार बिहान १० : ५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ । रासस