१० हजारभन्दा बढी चिकित्सकले राजीनामा गरेपछि दक्षिण कोरिया तनावमा
काठमाडौं । हजारौं मेडिकल इन्टर्न र अन्य कर्मचारीहरूले जागिर छाडेपछि एक हप्ताभन्दा बढी समयदेखि दक्षिण कोरियाका केही ठूला अस्पताल सञ्चालन प्रक्रिया अवरुद्ध भएको छ । लामो समय यसले निरन्तरता पाए विकराल परिणामहरू निम्तिन सक्ने देखिएको छ । १० हजारभन्दा बढी चिकित्सक र ८० प्रतिशत प्रशिक्षार्थी कर्मचारी जागिर छोडेर हडतालमा गएपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा ठप्प भएको छ । जसका कारण बिरामीहरू मर्कामा परेका छन् । डाक्टरहरूको व्यापक हडताललाई ध्यानमा राख्दै दक्षिण कोरियाली सरकारले उनीहरूलाई गम्भीर चेतावनी दिएको छ । सरकारले हडतालमा रहेका दक्षिण कोरियाका चिकित्सकलाई समयमै हडतालबाट काममा फर्कन भनेको छ । यदि हडताल जारी राख्ने हो भने चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी छ । दक्षिण कोरियाका स्वास्थ्यमन्त्री चो क्यु–होङले स्थानीय एसबीएस रेडियोसँगको अन्तर्वार्तामा (फेब्रुअरी २९) सम्म हडतालमा रहेका चिकित्सकहरू काममा नफर्किए उनीहरुलाई कानुनी कारबाही गरिने बताएका छन् । दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको संख्या निकै थोरै छ । थोरै संख्या र पाका उमेरका मानिसको बढ्दो जनसंख्याका कारण एक दशकपछि कोरियामा चिकित्सकहरूको ठूलो अभाव हुनसक्ने सरकारको भनाइ छ । कोरियाली सरकारले देशमा लामो समयदेखिको चिकित्सकको अभावलाई सम्बोधन गर्न विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना गर्ने प्रस्ताव गरेको थियो । सरकारको सोही प्रस्तावको विरोधमा प्रशिक्षार्थी र आवासीय कामदारले यो अभाव उद्योगव्यापी नभएर आपतकालीन हेरचाहजस्ता विशेष सुविधाहरूमा मात्र सीमित रहेको भन्दै विरोध गरका छन् । उनीहरूले सरकारको यो योजनाले समस्या समाधान नहुने बताएका छन् । उनीहरूले भनेका छन्– चिकित्सकको संख्या बढाउँदैमा न्युन तलबमा बढी कामको संरचनागत समस्या समाधान हुँदैन । दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक धेरै छ । तर, लामो समय काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने उनीहरूले बताएका छन् । दक्षिण कोरियामा धेरै स्वास्थ्य संस्थाहरू निजी भए पनि सस्ता छन् । तर, आन्दोलनरत चिकित्सकहरूले देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको गुनासो गरेका छन् । केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन् । त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको छ । सेवामा अवरोध हुँदा पहिले नै मिति तोकिएका धेरै प्रक्रियाहरू स्थगित भएका छन् । आकस्मिक उपचारमा थोरै मात्र अवरोध भएको छ । गत शुक्रबार सात अस्पतालले उपचार गर्न नमानेपछि हृदयाघात भएकी एक वृद्धाको एम्बुलेन्समा नै मृत्यु भयो । चिकित्सकहरू हडतालमा गएपछि बिरामीहरूले चिकित्सक पाएका छैनन् भने काममा खटेका स्वास्थ्यकर्मीहरूलाई भार थपिएको छ । नर्सहरूले शल्यक्रिया कक्षमा डाक्टरहरूले नै गर्नुपर्ने काम आफूहरूलाई गर्न बाध्य पारिएको बताएका छन् । सरकारी प्रस्तावमा आगामी वर्ष विश्वविद्यालयहरूमा भर्ना हुने मेडिकल विद्यार्थीको संख्या ३ हजारबाट बढाएर ५ हजार पु¥याइने उल्लेख छ । हडतालमा रहेका चिकित्सकहरूले धेरै डाक्टर उत्पादन गर्दा सेवाको गुणस्तर खस्किने तर्क गरेका छन् । धेरै चिकित्सक उत्पादन हुँदा कम क्षमता भएकाहरूले पनि लाइसेन्स पाउने सम्भावना हुने उनीहरूको डर छ । यो हडतालले चिकित्सक र सरकारबीचको तनाव चर्किएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले हडतालमा सहभागी चिकित्सकहरूलाई समयसीमा तोकेर काममा नफर्किए मेडिकल कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गर्ने चेतावनी दिएको छ । यदि तोकिएको समयमा काममा नफर्किए चिकित्सकहरूको लाइसेन्स कम्तीमा तीन महिनाका लागि निलम्बन गरिदिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । (बीबीसीबाट अनुवाद)
घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
श्रीलङ्का । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताएका छन् । एसओईले सन् २०२२ मा लगभग ७४३ अर्ब रूपैयाँ (२.४ अर्ब अमेरिकी डलर) घाटाका कारण गुमाएका थिए । विगतमा सबैभन्दा बढी नोक्सानमा रहेका सिलोन पेट्रोलियम कर्पोरेसन र सिलोन इलेक्ट्रिसिटी बोर्डले अब लागत–प्रतिबिम्बित मूल्य निर्धारण संयन्त्र र वर्तमान आर्थिक सुधारका कारण लाभदायक अवस्थामा रहेका छन् । उनका अनुसार अघिल्लो सरकारहरूले जनतालाई राहत प्रदान गर्न अनुदानमा सेवाहरू प्रदान गर्दा श्रीलङ्काले दीर्घकालीन रूपमा गम्भीर आर्थिक सङ्कटको सामना गर्नुपरेको थियो । अहिले सरकारले आवश्यक सेवाहरूका लागि अनुदान मूल्य प्रणाली उपलब्ध गराउनुको सट्टा गरिब लक्षित कल्याण प्रदान गर्नमा ध्यान केन्द्रित गरिरहेको सेमासिङ्घेले बताए । रासस
निसानले जापानमा चालकविहीन सवारी सेवा सञ्चालन गर्ने
काठमाडौं । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक विज्ञप्तिमा भनेको छ, ‘वृद्ध जनसंख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।’ कम्पनीले भनेको छ, ‘नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ ।’ निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यवसायिक नमूनाको परीक्षण गरिरहेको जनाएको छ । गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहीन सवारी सेवा सुरु गर्नेछन् । टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल–४ सवारी सेवा सुरु गर्ने योजना बनाएको छ । रासस