३७९ यात्रु बोकेको जापान एयरलाइन्सको जेट जहाजमा आगलागी
काठमाडौं । जापान एयरलाइन्सको जेट जहाजमा आगलागी भएको छ । जापानको हनेदा विमानस्थलको धावन मार्गमा गुडिरहेको अवस्थामा उक्त जहाजमा आगो लागेको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त जहाज होक्काइदो सहरबाट ३७९ भन्दा बढी यात्री लिएर जापान फर्किएको थियो । र, जहाज अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त जहाजमा सवार यात्रीको अवस्थाबारे खुलाइएको छैन । र, आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास भइरहेको बताइएको छ । उक्त जहाज त्यहाँ रहेको अर्को जहाजमा ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्पि औपचारिक विवरण भने सार्वजनिक भएको छैन ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो
जापान । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ । रासस
नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय
बङ्गलादेश । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उनका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दावी गर्दै आएका छन् । ८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उनले दुश्मनी कमाएका छन् । कुनै समय राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएका र सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता युनिसविरुद्ध हसिनाले शृङ्खलाबद्ध रूपमा चर्को आलोचना गर्दै आएका छन् । विपक्षीको बहिस्कारपछि हसिनाले अर्को साता हुने राष्ट्रिय निर्वाचनमा पाँचौं कार्यकालका लागि जित हासिल गर्ने निश्चितजस्तै भएको छ । अर्थशास्त्री युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि कम्पनीमा श्रमिक कल्याण कोष स्थापना गर्न असफल भएपछि श्रम कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । चारै जनाले आरोप अस्वीकार गरेका छन् । राजधानी ढाकास्थित श्रम अदालतले सोमबार दिउँसो फैसला सुनाएको हो । ‘प्रोफेसर मोहम्मद युनुस र अन्यले श्रम कानुनको अनिवार्य आवश्यकता उल्लङ्घन गरेको पुष्टि भएको छ,’ मुख्य अभियोजक खुर्सिद आलम खानले एएफपीसँग भने । युनुसमाथि श्रम कानुन उल्लङ्घन र भ्रष्टाचारको आरोपमा १०० भन्दा बढी अन्य अभियोग लगाइएको छ । युनुसले गत महिना भएको सुनुवाइपछि पत्रकारसँग कुरा गर्दै आफूले बङ्गलादेशमा स्थापना गरेका ५० भन्दा बढी सामाजिक व्यवसाय फर्ममध्ये कुनै पनि कम्पनीबाट कुनै लाभ नलिएको बताएका थिए । युनुसले भने, ‘ती मेरो व्यक्तिगत फाइदाका लागि थिएनन् ।’ उनका एक वकिल खाजा तनवीरले एएफपीसँग भने, ‘यो मुद्दा ’योग्यताहीन, झुटो र गलत मनसायबाट प्रेरित’ थियो ।’ उनले भने, ‘यो मुद्दाको एक मात्र उद्देश्य उहाँलाई विश्वसामु उत्पीडन र अपमानित गर्नु हो ।’ गत अगस्टमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनसहित विश्वका १६० हस्तीले संयुक्त पत्र लेख्दै युनुसमाथि भइरहेको ‘निरन्तरको न्यायिक उत्पीडन’को निन्दा गरेका थिए । नोबेल पुरस्कार विजेतामध्ये १०० भन्दा बढीले उनको सुरक्षा र स्वतन्त्रताका लागि आफूहरूलाई डर लागेको बताएका छन् । आलोचकहरूले बङ्गलादेशी अदालतमाथि हसिनाको सरकारले गरेका निर्णयलाई रबर स्ट्याम्पिङ गरेको आरोप लगाएका छन् । रासस