दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सवा प्रभावित
दिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने-जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसै गरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६।९ डिग्री सेल्सियस थियो । उत्तर रेलवेका अनुसार हावडा -नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर -नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर-निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ-दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस-नयाँ दिल्ली एक्सप्रेस र कटिहार- अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए । आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ । यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ । यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ । रासस
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिसहरु सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो ।
पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर
पाकिस्तान । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । पीआईईको पाकिस्तान शिक्षा तथ्याङ्क प्रतिवेदन सन् २०२१-२२ ले विद्यालय बाहिरका बालबालिकाहरूको सङ्ख्याको बारेमा आश्चर्यजनक खुलासा गरेको छ । सन् २०२१-२२ सम्म पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । द न्युज इन्टरनेसनलका अनुसार विद्यालय जाने उमेर समूहका ३९ प्रतिशत बालबालिका हाल विद्यालय बाहिर छन् । जसले विश्वव्यापी शिक्षा सुनिश्चित गर्नमा निरन्तर चुनौती रहेको सङ्केत गर्दछ । बलुचिस्तानमा सबैभन्दा बढी ६५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । इस्लामाबाद राजधानी क्षेत्रले भने सबैभन्दा कम प्रतिशत समेटेको छ । प्रमुख प्रान्तहरूको तुलनामा खैबर पख्तुनख्वामा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सन् २०१६-१७ मा ४४ प्रतिशतबाट घटेर सन् २०२१-२२ मा ३९ प्रतिशतमा झरेको भए तापनि सोही अवधिमा यो २ करोड ६० लाख पुगेको छ । यो वृद्धि मुख्यतया जनसङ्ख्या वृद्धिदरले विद्यालय बाहिरका बालबालिकामा आएको कमीलाई पछाडि पारेको कारण हो । प्रतिवेदनले उच्च माध्यमिक तहमा सन् २०२१-२२ मा ६० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पुष्टि गरेको छ । द न्युज इन्टरनेसनलले प्रतिवेदनको थप विश्लेषण गर्दाल उच्च, मध्य र प्राथमिक तहमा क्रमशः ४४ प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत विद्यालय बाहिरको दर देखाएको छ । प्रतिवेदन अनुसार विद्यालय बाहिरका बच्चाहरूको ठूलो हिस्सा, १ करोड ७७ लाख प्राथमिक तहमा छ । रासस