भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताएका छन् । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने ‘म आज राती यहाँ हुने थिइनँ।’ ट्रम्पले घटनाको स्मरण गर्दै भने, ‘मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें । मैले तत्काल आफ्नो कानमा हात लगे जुन रगतले ढाकिएको थियो । हामी माथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो ।’ सिक्रेट सर्भिसका कर्मचारीहरुले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनले बताए । ‘यदि मैले गोली प्रहार भएको अन्तिम क्षणमा टाउको नचलाएको भए हत्याराको गोली निशानामा लाग्ने थियो । र म आज राती यहाँ हुने थिइनँ । हामी सँगै हुने थिएनौँ’, ट्रम्पले भने । रासस

बंगलादेशमा आन्दोलन निस्तेज पार्न मोबाइल इन्टरनेट बन्द

काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न सरकारले इन्टरनेट सेवा बन्द गरेको छ । यो आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको हो । बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ । देशको स्वतन्त्रताका लागि लडेकाका छोराछोरीका लागि सरकारी जागिरमा आरक्षण दिइएको छ । केही दिनदेखि भइरहेको आन्दोलनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय बढी मानिस घाइते भएका छन् । प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरिका विद्यालय र विश्वविद्यालय बन्द भएका छन् । अर्को आदेश नभएसम्मका लागि बन्द गरिने जनाइएको छ। सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले बताएका छन् । उनका अनुसार योअवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु गरिने छ । एजेन्सी

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

काठमाडौं । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्ति मार्फत उल्लेख गरे । समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाए । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले उल्लेख गरे । बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उनले जनाए । एबीएसको तथ्यांक अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताएका छन् ।