भारतमा थोक मुद्रास्फीति बढ्यो
काठमाडौं । अखिल भारतीय थोक मूल्य सूचकांक (डब्ल्युपिआई) मा आधारित मुद्रास्फीतिको वार्षिक दर जुनमा ३.३६ प्रतिशत कायम रहेको छ । मेमा २.६१ प्रतिशत रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । जुन २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन, आदिको कारण रहेको मन्त्रालयले बताएको छ । यसले डब्ल्युपिआई खाद्य सूचकांकमा आधारित मुद्रास्फीतिको वार्षिक दर जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतमा वृद्धि भएको र मे २०२४ मा ७.४० प्रतिशतको तुलनामा थपिएको छ । खाद्यान्नको मूल्यहरू जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो । जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । तरकारीको मूल्य अघिल्लो महिनाको ३२.४२ प्रतिशत वृद्धिको तुलनामा ३८.७६ प्रतिशतले बढेको थियो । यद्यपि सबैभन्दा ठूलो उछाल देखापरेको थियो । प्याजको हकमा मे महिनामा ५८.०५ प्रतिशतबाट जुन ९३.३५ प्रतिशत पुगेको छ । फलफूलको डब्ल्यूपीआई पनि मे महिनामा ५.८१ प्रतिशतबाट बढेर जुनमा १०.१४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांकले देखाएको छ ।
आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् । रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’ उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ । शनिबार एक चुनावी र्यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए । ट्रम्पले र्यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’ गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’ सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,’ पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने ‘उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।’ रासस
भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च
काठमाडौं । भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ६५७.१५५ बिलियन अमेरिकी डलरका साथ सबै समयको उच्च बिन्दुमँ पुगेको हो । देशको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी साप्ताहिक तथ्यांक अनुसार जुलाई ६ मा समाप्त हप्तामा यो बिन्दुमा पुगेको थियो । अघिल्लो हप्ताको तुलनामा समग्र विदेशी मुद्रा किट्टी लगभग ५.१६ बिलियन डलरले बढ्यो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पती ५७७.११ अर्ब डलर रहेको छ । सुनको सञ्चिति ५७.४३२ अर्ब डलर र विशेष रेखांकन अधिकार १८.०३६ डलर रहेको आरबीआईको तथ्यांकले देखाएको छ । यो साता एफसीएले ४२ अर्ब २९ करोड डलर बृद्धि गरेको छ भने सुनको सञ्चिति ९० करोड ४० लाख डलरले बढेको छ ।