टर्कीएको मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतले घट्यो
टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याजदरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक (पीपीआई) ले पनि गिरावटको संकेत देखाएको छ । सेप्टेम्बरमा मासिक उत्पादक मुद्रास्फीति दर १.३७ प्रतिशतमा रेकर्ड भएकोमा उत्पादक मूल्यमा वार्षिक वृद्धि ३३.०९ प्रतिशतमा झरेको छ । यसको तुलनामा अगस्टमा वार्षिक मुद्रास्फीति दर ५१.९७ प्रतिशत थियो । मासिक दर २.४७ प्रतिशत थियो । सरकारको मध्यकालीन कार्यक्रमले सन् २०२४ मा ४१.५ प्रतिशतमा झर्ने र २०२५ को अन्त्यसम्ममा १७.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । टर्कीएको बढ्दो मुद्रास्फीति र यसको इतिहासमा सबैभन्दा खराब जीवन खर्चको संकटसँग संघर्ष गरिरहेको छ । जुन २०२३ देखि मुलुकले आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट ५० प्रतिशतमा बढाएर मौद्रिक नीतिलाई कडा पारेको छ ।
इजिप्टको कुल ग्रार्हस्थ उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्यो
काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको छ । भूराजनीतिक तनाव र सरकारले बृहत आर्थिक स्थिरता पुनःस्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीति विशेषगरी सार्वजनिक लगानीको कडा शासनमार्फत गिरावट भएको जनाइएकाे छ । सुएज नहर राजश्व क्षेत्रीय भूराजनीतिक तनावबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा २०२३/२४ आर्थिक वर्षमा ३० प्रतिशतले गिरावट आएको छ । साथै नयाँ इनार अन्वेषणमा वैदेशिक लगानी कम भएकाले तेल र प्राकृतिक ग्यासको उत्पादन ४.७ प्रतिशतले घटेको छ ।
विश्वभरको सेयर बजारमा ठूलो गिरावट, बेजोसलाई उछिन्दै विश्वको दोस्रो धनी बने जुकरबर्ग
काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति बढेको छ। जसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, एनभीडीयाका सीईओ जेन्सेन हुआङ र डेल कर्पोरेशनका माइकल डेल सामेल छन् । यससँगै जुकरबर्ग विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । एसियाका सबैभन्दा धनी मुकेश अम्बानी र गौतम अडानीलाई ठूलो नोक्सान भएको छ । बिहीबार जुकरबर्गको कुल सम्पत्ति ३ अर्ब ४३ करोड डलरले बढेको छ र उनी २०६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । यस वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ८९. १ बिलियनले बढ्यो । एलन मस्क २५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । जेफ बेजोस २०५ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा झरेका छन् भने फ्रान्सका व्यापारी बर्नार्ड अर्नाैल्ट १९३ अर्ब डलरसहित चौंथो स्थानमा छन् । अम्बानी-अडानीको अवस्था यसैबीच रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १४ औं स्थानमा झरेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयरमा बिहीबार गिरावट आउँदा अम्बानीको कुल सम्पत्ति ४ अर्ब २९ करोड डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १०७ अर्ब डलर छ । यो वर्ष उनको कुल सम्पत्ति १०.५ बिलियन डलरले घटेको छ । अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति २.९३ अर्ब डलरले घटेर १०० अर्ब डलरसहित १७ औं स्थानमा झरेको छ । यो वर्ष उनको कुल सम्पत्ति १६. १ बिलियन डलरले बढेको छ। एजेन्सीकाे सहयाेगमा