मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित

काठमाडौं । मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएको जनाइएको छ । उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ । यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिंक सार्वजनिक गर्दै यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ । एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ । बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ । बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । मुम्बईका पानी आपूर्ति केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसा र मोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ । भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ । महाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ ।

सरकारले माग पूरा नगरेको भन्दै बंगलादेशमा विद्यार्थीले फेरि सुरु गरे आन्दोलन

काठमाडौं । माग पूरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरूले पुनः आन्दोलन सुरु गरेका छन् । सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीहरूले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने अधिकारीको बर्खास्ती र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी संगठनले सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए । गत साता सर्वोच्च अदालतले आरक्षणलाई अवैध ठहर गर्ने फैसला गरेको छ । अदालतको फैसलापछि विद्यार्थी संगठनले सरकारलाई अन्य माग पूरा गर्न अल्टिमेटम दिएका थिए । बंगलादेशमा आन्दोलनका क्रममा १५० को मृत्यु भएको छ भने १ हजार बढी घाइते भएका छन् । एजेन्सी

अस्ट्रेलियामा दशक यताकै बढी सडक दुर्घटना

काठमाडौं । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको संख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ । अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मंगलबार प्रकाशित तथ्यांकले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा १ हजार ३१० जनाको मृत्यु भएको देखाएको छ । यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको छ । संघीय सरकारले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत सन् २०२१ मा राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत राष्ट्रिय सडक मृत्युमा ५० प्रतिशत र गम्भीर घाइतेलाई ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।